भरतपुर, १३ माघ ।
नेपाल शिक्षक संघ भरतपुर महानगर समितिले शिक्षामा गुणस्तरको अभियान थालेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको लागि संघको महानगर समितिले बहस सुरु गरेको छ । सामुदायिक विद्यालयको समस्या र चुनौती पहिचानको लागि महानगरपालिकाका सरोकार पक्षसँग अन्तर्क्रिया गरेर सुझाव संकलन गरेको छ ।
संघमा आवद्ध शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, काँग्रेसबाट निर्वाचित भरतपुर महानगरका वडाध्यक्ष, भरतपुर महानगरपालिका उपप्रमुख सहित काँग्रेसका जिल्ला नेतृत्वसँग सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्न सामुहिक छलफल गरिएको थियो । शिक्षक संघमा आवद्ध विद्यालयका प्राचार्य, नेपाली काँग्रेसमा आस्थावान विद्यालयका अध्यक्ष र शिक्षकहरुले सामुदायिक विद्यालयमा अभिभावकको विश्वास बढाउनमा ऐक्यवद्धता जनाएका छन् । उनीहरुले शिक्षामा गुणस्तर बढाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शिक्षकहरुले विद्यालयको विकास र शिक्षकको मनोबलमा हस्तक्षेपलाई समस्या देखाएका छन् । समुदायको विश्वास नभएको स्विकार गर्दै विद्यार्थीको आकर्षण बढाउन लाग्ने बताएका छन् । आदिकवि भानुभक्त माविका प्राचार्य डम्बरबहादुर शाहीले शिक्षामा कुनै पनि तरिकाबाट हस्तक्षेप नभए गुणस्तर बढ्ने बताए । चुनौती र समस्या भएपनि समन्वयबाट समाधान गर्न सकिने बताउँदै इच्छाशक्तिले मात्रै नतिजा आउने गरी काम गर्न कठिन नभएको बताए । ‘शिक्षामा हस्तक्षेप रोकिने हो भने भनेअनुसारको नतिजा आउँछ´ उनले भने- `समुदायको विश्वास फर्काउन अब पनि नलाग्ने हो भने पेशागत विश्वास नै धरापमा पर्छ । त्यसका लागि स्थानीय तहको समन्वय र सहयोगको खाँचो छ ।’
चितवन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीले नाम र दामको लागि नभई कामको लागि अग्रसर भए गुणस्तर बढ्ने बताए । उनले तलबको लागि मात्रै विद्यालय जाने परिपाटी र सोच त्यागेर काम गरे परिणाम देखिने बताए । उनले शिक्षकलाई केबल तलबको लागि मात्र जागिर नभनी विद्यार्थीको सिकाईको उपलब्धिसँग जोडिनपर्ने बताए । अधिकारीले शिक्षकको समयानुसार बृद्धिविकास र सुविधा बढाउन पनि माग गरे । ‘सामाजिक र विद्यार्थीप्रतिको दायित्व सम्झिए विद्यालय आफै बन्छ´, अधिकारीले भने- ‘मेरो र तेरो मान्छे ल्याउने नाममा दरबन्दी राख्दा पनि बिग्रेको छ । राम्रा र योग्य शिक्षक ल्याए विद्यालयको शैक्षिक अवस्था सुधारिन्छ ।´
नेपाल शिक्षक संघ भरतपुरका अध्यक्ष बटुकलाल तामाङले सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन शिक्षासँग सरोकार राख्ने पाँच पक्षसँग छलफल कार्यक्रम आयोजना गरेको बताए । उनले सहयोगसँगै गुणस्तरीय शिक्षा र संगठन विस्तारबारे बहस चलाएको बताए । ‘सामुदायिक विद्यालयको अवस्था र हामीले नेतृत्व गरेको भूमिकालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका हौं’, उनले भने- ‘ महानगरका वडा, विद्यालयका अध्यक्ष र प्रधानाध्यापकको अवस्था बारे जानकारी होस् भनेर पनि कार्यक्रम गरेका हौँ ।’
कार्यक्रममा नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष इन्दिरा मरहट्ठा, नेपाल शिक्षक महासंघका अध्यक्ष कोमलनाथ घिमिरेले शिक्षामा देखिएका चुनौती, समस्या र समाधानका पक्षबारे सुझाव दिएका थिए । शिक्षक संघ भरतपुरका सचिव राजु खनालले शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवाला पक्षसँगको समन्वयमा कार्ययोजना तयार गरिने बताए ।स्थानीय तहको तर्फबाट भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले स्थानीय तहबाट समन्वय र सहयोगको लागि आफू सधैँ तयार रहेको बताए ।
`सामुदायिक विद्यालयमा अभिभावकको विश्वास छैन, सबै सुविधा भएर पनि पछाडी परेको छ´, उनले भने- ‘शिक्षाको गुणस्तरका लागि थप के गर्ने हो आउनुहोस्, सँगै मिलेर अब देखिने गरी काम गरौं ।’ कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला तहका नेताहरुले सहयोग र समन्वयको लागि प्रतिबद्धता जनाएका थिए ।





