रेलमार्गको प्रस्तावित रेखाङ्कनबारे कांग्रेस चितवनको ध्यानाकर्षण, सङ्घर्ष समितिले जनसभा गर्ने

भरतपुर, २६ पुस ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले प्रस्तावित पूर्वपश्चिम रेलमार्गको रेखाङ्कन गरिएको सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपालको समग्र विकास र सहज यातायातको अवधारणाअनुसार मेची–महाकाली विद्युतीय रेलमार्गको रेखाङ्कन तथा डिजाइनको तयारी तीव्ररुपमा भइरहेको समाचार सार्वजनिक भइरहेकोमा प्रस्तावित रेलमार्गको रेखाङ्कनले पार्ने प्रभावका सम्बन्धमा कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

निजगढ–हेटौँडा–भरतपुर खण्डअन्तर्गतको प्रस्तावित रेलमार्ग रेखाङ्कन कार्य पूर्वतयारीबिना भइरहँदा जिल्लाको पूर्वी क्षेत्र राप्तीको वडा नम्बर – १, २, ३ र ६, खैरहनीको वडा नम्बर ५, ७ र १०, रत्ननगरको वडा नम्बर ४, ५ र ९ तथा भरतपुर महानगरको वडा नम्बर ४, ५, ७, ८ र १६ मा पार्ने प्रभावका सम्बन्धमा नेपाली कांग्रेसको ध्यानाकर्षण भएको हो ।

विकासको पक्षमा सदैव अग्रपंक्तिमा रहँदै आएको र विकासको नाममा सर्वसाधारण जनताको धनजनको क्षति हुने र जनतालाई दुःख दिने कार्यको कांग्रेसले किमार्थ समर्थन नगर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कांग्रेसले मध्यभागमा अवस्थित भरतपुर विमानस्थलका कारणले वरिपरिका घनाबस्तीमा पारेको समस्या यथावत् रहेको अवस्थामा पुनः सहरको घनाबस्तीको बीचबाट रेलमार्गको रेखाङ्कन गरिँदा स्थानीयवासीको कोलाहलपूर्ण स्थिति निर्माण गरेको भन्दै न्यूनतम क्षतिसहितको दीर्घकालीन विकासगरी जंगलको तटीय क्षेत्रबाट वैकल्पिक रेलमार्गको रेखाङ्कन गर्न सम्बन्धित निकाय तथा सरोकारवालामा अनुरोध गरेको छ ।

सङ्घर्ष समितिको जनसभा शनिबार

प्रस्तावित रेलमार्ग पीडित सङ्घर्ष समिति चितवनले प्रस्तावित पूर्व–पश्चिम रेलमार्गको रेखाङ्कन गरिएको सम्बन्धमा जनजागरण अभियान सञ्चालन गर्ने भएको छ ।

मेची–महाकाली विद्युतीय रेलमार्गको रेखाङ्कनले भरतपुर क्षेत्रमा पार्ने प्रभावका सम्बन्धमा सङ्घर्ष समितिले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनसभा गर्न लागेको हो ।

पुस २८ गते शनिबार बिहान ८ बजे भरतपुर- ७ स्थित कृष्णपुर खेल मैदानमा गर्न लागिएको वृहत् जनसभामा उपस्थित हुन प्रस्तावित रेलमार्गबाट प्रभावित स्थानीयवासीलाई समितिले अनुरोध गरेको छ ।

विकासको नाममा सहरी क्षेत्रको बीचबाट मानव बस्तीलाई नै असर पार्नेगरी रेलमार्गको रेखाङ्कन गरिनु अवैज्ञानिक, असान्दर्भिक र जनताको हितविपरीत हुने ठहर गर्दै प्रस्तावित रेलमार्ग रेखाङ्कनको सङ्घर्ष समितिले आपत्ति जनाएको छ ।

रेखांकन अनुसार निजगढ हेटौंडा हुँदै सौराहासम्म आउने अवस्थासम्म मानववस्ती र ठुला संरचनामा खासै असर नपर्नेगरी नक्सा डिजाइन गरिएको तर टिकौली जंगलबाट भरतपुर प्रवेश गर्दा भरतपुर क्षेत्रको महत्त्वपूर्ण आवासीय क्षेत्र र महंगो जग्गाबाट ल्याइन लागेको भनी सङ्घर्ष समिति आन्दोलनमा उत्रिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट