मकवानपुर, २३ पुस ।
नेपाली साहित्य क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील थाहा नगरपालिकाका साहित्यकार बिर्खे अञ्जानलाई `इन्दिरादेवी स्मृति मुक्तक सम्मान- २०८०´ दिइने भएको छ । प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नो हजुरआमाको स्मृतिमा स्थापित सो सम्मानको राशि नगद ५ हजार ५ सय ५५ रूपैयाँ रहेको छ ।
आगामी माघ २७ गते हुने मुक्तक मञ्च मकवानपुरको दोस्रो वार्षिकोत्सव तथा पहिलो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्दै मुक्तक विधामा योगदान पुर्याउने बिर्खे अञ्जानसहित ३ जना स्रष्टाहरूलाई सम्मान गर्ने संस्थाको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित `बहादुरनन्द स्मृति मुक्तक सम्मान-२०८०´ पोखराका मुक्तककार दीपक समीपलाई प्रदान गरिने भएको छ । उक्त सम्मानको राशि ७ हजार ७ सय ७७ रूपैयाँ रहेको छ । त्यसैगरी मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा आफ्नो बाबुको स्मृतिमा स्थापित रू ७ हजार ५ सय रुपैयाँ राशिको तारा स्मृति मुक्तक सम्मान रौतहटका स्रष्टा हरिकृष्ण काफ्लेलाई प्रदान गरिने भएको हो । उल्लेखित तीनैजना स्रष्टाहरू नेपाली भाषा , साहित्य क्षेत्रमा लामो समयदेखि समर्पित प्रखर व्यक्तित्वहरू हुन् ।





