काठमाडौँ, २३ पुस ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । पायक पर्ने प्रदेश निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
निर्वाचन आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारीउपर दाबीविरोध र उजुरी को कार्यतालिका छ । २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ ।
पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । उम्मेदवारले निर्वाचन चिह्न पुस २८ पाउने छन् ।
निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ । सम्बन्धित मतदान केन्द्रमा माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।
राष्ट्रिय सभामा रिक्त हुँदै गरेको २० सिटमध्ये १९ सिटका मतदान हुँदैछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ । निर्वाचत आयोगले आइतवार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुने प्रावधान छ । निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् ।





