धु्रवराज खनाल
१० मंसिर ।
कृषि क्षेत्रको बजेट बाटो निर्माणमा खर्च हुने गरेको भन्दै किसानहरुले चिन्ता जनाएका छन् । नेपाललाई कृषि प्रधान मुलुक भन्ने तर यसको बजेट विकास निर्माणमा खर्च गर्ने गरेको उनीहरुको गुनासो छ ।
रत्ननगर–९ स्थित लालपर्सा मत्स्य तथा एकिकृत कृषक समूहको शनिबार भएको तेश्रो साधारण सभा तथा पहिलो अधिवेशनमा कृषकहरुले यस्तो चिन्ता जनाएका हुन् । नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष रमेश पाण्डेले कृषिका लागि आउने वजेट बाटो निर्माणमा खर्च हुदै आएको भन्दै आक्रोस जनाए । “बाटो निर्माण भौतिक मन्त्रालयले गर्छ”, संघका अध्यक्ष पाण्डेले भने, “कृषिको बजेट कृषिमै खर्च गर्नु पर्छ नत्र कृषि पेशा पलायन हुन्छ ।” उनले सरकारले दिने गरेको अनुदान कार्यक्रम तल्लो स्तरका कृषक सम्म नपुगेको त्यसमा पनि मत्स्य किसान झनै पीडामा रहेको बताए ।

“सरकारले मुलुकलाई माछामा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ, तर कृषकलाई दिइने अनुदान झन कटौती गर्दै गएको छ”, संघका अध्यक्ष पाण्डेले भने, “जसका कारण कृषक हात धोएर बस्नु पर्ने अवस्था टाढा छैन् ।” कृषि अन्र्तगत रहेपनि माछा व्यवसायलाई सरकारले वेवास्था गर्ने गरेको उनले गुनासो पोखे । समुहका अध्यक्ष श्रीधर लामिछानेले माछालाई कृषिको मुल सुचीमा राख्नु पर्ने वताए । “माछा व्यवसायी कृषकलाई आवश्यक सेवा सुविधा समेत दिन सरकार चुकेको छ”, समूहका अध्यक्ष लामिछानेले भने, “व्यवसायिक रुपमा माछापालन गर्ने कृषिकलाई वञ्चित गर्ने काम नगरियोस् ।” सो अवसरमा कृषकहरुले साउनको अन्तिम साता गएको बाढीका कारण माछापोखरीमा ठुलो क्षती भएपनि हाल सम्म राहत नपाएको भन्दै गुनासो गरेका थिए ।
क्षती ठुलो भएको तर राहत ज्यादै न्युन मात्रै आउने जानकारी आफुहरुले पाएको नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष पाण्डेले बताए । पाण्डेका अनुसार चितवनमा बाढीका कारण ६० हेक्टर भन्दा बढीमा पूर्ण क्षती भएकोमा १८ हेक्टरका लागि मात्रै राहत आएको छ । कार्यक्रममा मत्स्य विकास केन्द्र भण्डाराका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत कल्याण केसीले जिल्लामा माछाको भुराको माग अत्याधिक रहेपनि सो अनुसार पूर्ती गर्न नसकेको बताए । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ मत्स्य विकास अधिकृत परशुराम यादवले नेपालमा माछाका लागि बजारको अभाव नरहेको भन्दै स्थानीय स्तरमै उत्पादन बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा समुहका अध्यक्ष श्रीधर लामिछानेले वार्षिक प्रतिवेदन, सचिव भरत महतोले भावी कार्ययोजना तथा लेखा संयोजक लेखनाथ पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समुहका अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा रत्ननगर ९ का वडाध्यक्ष रोसन आचार्य, ८ का अध्यक्ष विनोद बस्नेत, जिल्ला कुषि विकास कार्यालय चितवनका वाघबानी अधिकृत धनवहादुर थापा, समूहका उपाध्यक्ष किरणराज भण्डारी लगायतले मन्तव्य राखेका थिए । साधारण सभामा समुहका संस्थापक अध्यक्ष एवंम् कृषि सेवा केन्द्र रत्ननगरका पूर्व कार्यालय प्रमुख दिपक पौडेललाई सम्मान गरिएको थियो ।





