विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१० मंसिर ।
आसन्न निर्वाचनलाई मध्यनजर गर्दै चितवनमा सुरक्षा निगरानी बढाएको छ । निर्वाचन विरोधी गतिविधि बढ्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
चितवनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बहालवाला मन्त्री विक्रम पाण्डे, शिक्षाराज्यमन्त्री शेषनाथ अधिकारी, पूर्वअर्थमन्त्री सुरेन्द्र पार्टी, जिल्ला नेतृत्व सम्हालेका कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, माओवादी केन्द्रका घनश्याम दाहाल ‘अविनाश’ लगायत चुनावी मैदानमा छन् । चितवनमा प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि ९५ जनाको उम्मेदवारी परेको छ ।
“नेपाल प्रहरी र शशस्त्र प्रहरीको मोबाइल टोली, स्ट्राईकिङ टोली, सिभिल टोली परिचालन गरिएको छ”, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले भने, “सुरक्षा व्यवस्था कडा बनाइएको छ ।” चितवन क्षेत्र नम्बर १ र २ मा ५÷५ वटा र ३ नम्बर क्षेत्रमा ६ वटा नेपाल प्रहरीको मोबाइल टोली परिचालन भएको छ । यस्तै हरेक निर्वाचन क्षेत्रमा ३÷३ वटा स्ट्राइकिङ टोली खटिएका छन् । “निर्वाचन सुरक्षाका लागि तय भएको ५ बुँदे कार्ययोजना अनुसार कामकारवाही अघि बढेको छ”, उनले भने, “लागुऔषध ओसारपसार तथा वेचविखनमा संलग्न १० जना पक्राउ परेका छन्, निर्वाचन विरोधि गतिविधि गर्ने १६ जना पक्राउ परेका छन् ।”
उनका अनुसार लागुऔषध नाइट्रोजेपाम ७ सय ३९ ट्यावलेट, फेन्सीडोल ७ सय एमएल, अन्डेक्स ३ सय एमएल, डाइजेपम १ सय १० एम्पुल, ब्रफिनर्फिन १ सय ६ एम्पुल, फेनरागन ९१ बोटल समेत बरामद भएको छ । यस्तै २२ थान विष्फोटक पदार्थ राखिएको जिलेटिनको लोला सहित करिव ५ केजी विष्फोटक पदार्थ, चुनाव विरोधि कागजात र दस्तावेज सहित विप्लव माओवादीका २ जना र निर्वाचन विरोधि गतिविधि सञ्चालन गर्ने विप्लव माओवादीका १४ जना पक्राउ परेका छन् । यस्तै घरेलु मदिरा उत्पादन तथा विक्रिवितरण गर्ने भट्टीपसलमा छापा मारिएको छ । ७ सय ६५ लिटर घरेलु मदिरा, १ हजार ५ सय ७५ लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको छ । इलाका तथा प्रहरी चौकीले घरेलु मदिरा नियन्त्रण अभियाननै चलाएको बताए ।
“शन्तिपूर्ण वातावरणमा निर्वाचन हुने वातावरणका लागि प्रतिवद्ध छौँ”, उनले भने, “दैनिक १ हजार बढी जनपथ प्रहरी परिचालन भएका छन्, आवश्यकता अनुसार शशस्त्र प्रहरी र नेपाल सेनाले उच्च निगरानी गरेका छन् ।”

जिल्लाभित्र रहेका १ सय ६१ मतदान केन्द्रलाई विश्लेषण गरी सुरक्षा योजना तयार पारीएको छ । ५२ वटा मतदान केन्द्रलाई अतिसंवेदनशील र १ सय ९ वटा मतदान केन्द्रलाई संवेदशनशील मानेर सुरक्षा व्यवस्था तयार पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । “चितवनमा सुरक्षा चुनौती आउन नदिन हामी तयार छौँ”, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले भने, “गुण्डागर्दी गर्ने १ सय २० वटा समूहको सूचिनै तयार पारेका छौँ, छिट्टै नियन्त्रणमा लिइनेछ, अवैध हातहतियार लिने विरुद्ध पनि कारवाही चाल्ने योजनामा छौँ ।” लाइसेन्स प्राप्त ४४ थान हतियार प्राप्त भैसकेको जानकारी दिदै लाइसेन्स लिएर हतियार नबुझाउनेको सूचि विश्लेषण गरी कारवाही गर्ने योजनामा छौँ ।” उनले निर्वाचन विरोधि गतिविधिमा संलग्न नेपाल कम्युनिष्ट पार्टी (विप्लव माओवादी) का नेता तथा कार्यकतामाथि कडा निगरानी थालिएको बताए ।
“उम्मेदवार, स्थानीय र वस्ती सुरक्षाका लागि विशेष योजना बनाएर कार्यान्वयन गरेका छौँ”, उनले भने, “चितवन भित्रिने नयाँ व्यक्तिको पनि विशेष निगरानी थालेका छौँ ।” उनका अनुसार सरकारी सुविधा अन्र्तगत सुरक्षा व्यवस्था पाएका उम्मेदवारलाई थप सुरक्षा र अन्य उम्मेदवारलाई पनि सुरक्षा दिने नीति अवलम्बन गरिएको बताए । “हरेक ठाउँमा सादा पोशकमा सुरक्षाकर्मी परिचालन छन्”, उनले भने, “प्राप्त सूचना अनुसार तत्काल ‘एक्सन’ लिने नीति बनाएका छौँ ।” केहि उम्मेदवारका लागि व्यक्तिगत अंगरक्षकको समेत व्यवस्था मिलाइएको छ । बसपार्क क्षेत्र, चितवन भित्रिने मुख्य नाका, निकुञ्ज तथा जंगल आसपासका क्षेत्र, चोक तथा गल्ली, होटल तथा रेष्टुरेण्टमा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले विशेषगरी इच्छाकामना गाउँपालिका, माडी नगरपालिका र बजार क्षेत्रमा बढी सुरक्षा सर्तकता अपनाएको छ । जिल्लालाई ६ क्षेत्रका रुपमा विभाजन गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली र जिल्लाको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको थापाले बताए । मतथानस्थलको सुरक्षाका लागि ५१ जना प्रहरी निरीक्षक, १ सय १० जना प्रहरी नायव निरीक्षक, प्रहरी हवल्दार र प्रहरी जवानको कार्यवर्गिकरण गरेर जिम्मेवारी तोकिएको छ । यस्तै १ हजार ७ सय १० जना म्यादी प्रहरी परिचालन गरिएको छ । मतदान केन्द्रको भित्री सुरक्षा नेपाल प्रहरी, बीचको घेरा सशस्त्र प्रहरी र बाहिरी घेरा नेपाली सेनाको हुने गरी योजना तयारी अवस्थामा छ । चितवनमा मंसीर २१ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ । “नक्कली बम, पटका जस्ता सानातिना बम आतंक फैलाउने गतिविधि पनि हुन थालेका छन्”, उनले भने, “यस्ता गतिवधि पूर्णरुपमा नियन्त्रण गर्न प्रहरी परिचालन तथा सूचना संकलनको कामलाई प्रभावकारी बनाइएको छ । शुक्रबार रातीमात्रै खैरहनी नगरपालिका–२ चैनपुर नजिकको चौरमा सिलिण्डर बम विष्फोट भएको थियो । यस्तै केहि दिन पहिले भरतपुरमा मन्त्री विक्रम पाण्डेको घरनजिक बम फेला परेको थियो ।





