मैयाँदेवीकाे स्मृतिमा अन्तरप्रदेश क्रिकेट प्रतियोगिता गरिँदै

भरतपुर, ६ पुस ।
आगामी माघमा भरतपुरमा राष्ट्रियस्तरकाे महिला क्रिकेट प्रतियोगिता गरिने भएकाे छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले पूर्वसांसद मैयाँदेवी श्रेष्ठको स्मृतिमा अन्तरप्रदेश राष्ट्रिय महिला टि-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । सात प्रदेशका महिला टिम सहभागी रहने प्रतियोगिता माघकाे तेस्रो साता गरिने संघका महासचिव सुवाेध प्रधानले जानकारी दिए ।

नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, समाजसेवी श्रेष्ठको पहिलाे स्मृतिकाे सन्दर्भ पारेर गर्न लागेकाे प्रतियोगिताका खेल निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे क्रिकेट ग्राउन्डमा खेलाइने प्रतियोगिता संयाेजक वचन कार्कीले जानकारी दिए । खेल माघ १५ देखि २७ गतेसम्म हुनेछ ।

प्रतियोगितामा सात वटै प्रदेशबाट गरी १०० बढी यू १९ महिला खेलाडीको सहभागिता रहने आँकलन गरिएकाे छ ।
सन् २०२४ मा नेपालमा हुन गइरहेको विश्वकपको एसिया क्षेत्र छनोटलाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत यो प्रतियोगिता कोशेढुंगा सावित हुने बागमती प्रदेश क्रिकेट संघका क्रिकेट निर्देशक तथा लाेकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य अनिल अधिकारीले जानकारी दिए । आगामी दिनमा नेपाल क्रिकेट संघकाे क्यालेन्डरमै राखेर याे प्रतियोगितालाई नियमित गर्ने याेजना उनले सुनाए ।

प्रतियोगिताको उपाधि जित्नेले विजयी ट्रफीसहित १ लाख ९५ हजार ७०५ रुपैयाँ नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले ७९ हजार ७०५ पाउने मैयाँदेवी ट्रष्टका महासचिव टंकनाथ पाैडेलले घाेषणा गरे ।

समाजसेवी एवं पूर्व सांसद मैयाँदेवीको जन्म वि.स.१९८७ असोजको फूलपातीका दिन तनहूँको बन्दीपुरमा भएकाे थियाे ।२०४८ सालमा गोरखाबाट निर्वाचित सांसद र पछि मनोनीत राष्ट्रियसभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद रहेकी मैयाँदेवीले कांग्रेसको केन्द्रीय कार्यालयका लागि रविभवनमा तीनतले घरजग्गा पार्टीलाई दान गरेकी थिइन् ।त्यहाँ अहिले नेपाली कांग्रेसकै भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय कार्यालय रहेको छ ।

यसैगरी भरतपुरमा मैयाँदेवी कन्या कलेज स्थापनाका लागि करोडौँ रुपैयाँ खर्च गरेकी थिइन् ।
२००३ सालदेखि कांग्रेसमा लागेकी उनले धेरैलाई जग्गा दान गरेकी थिइन् भने २०७२ सालमा मैयाँदेवी ट्रष्ट खोलेकी थिइन् । उनकाे २०७९ कार्तिक ५ गते भरतपुरमा ९२ वर्षको उमेरमा निधन भएको थियो ।

लाेकतन्त्रिक आन्दाेलनकी योद्धा तथा दानकी देवी मैयाँदेवीकाे नाममा राष्ट्रियस्तरकाे खेल हुनु निकै सकारात्मक भएकाे भन्दै नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्याैपानेले अब हरेक विधाका व्यक्तिमा राजनीतिक चेत र समाज निर्माणकाे भावना हुनुपर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट