मकवानपुर, ५ पुस ।
हेटौंडामा बिहीबारबाट बृहत खेलकुद तथा व्यापार महोत्सव सुरु भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल काठमाडौंको संयुक्त आयोजनामा सुरु भएको खेलकुद तथा व्यापार महोत्सवकाे बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले महोत्सवको उद्घाटन गरेकी हुन् ।
हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा सुरु महाेत्सवकाे उद्घाटन गर्दै वन मन्त्री खड्काले खेलकुद स्वास्थ्य र राज्यको लागि अपरिहार्य रहेको बताइन् । “खेलकुदले व्यक्ति स्वस्थ्य हुनु भनेको राज्यले निरोगी र तन्दुरुस्त जनशक्ति पाउनु हो, यस्ता खेल महोत्सवले खेलाडीलाई प्रोत्साहन पनि गर्छ” उनले भनिन् । खेलकुद तथा व्यापार मेलालेआर्थिक रुपमा समेत सहयोग पुर्याउने उनले बताइन् । मेलाको क्रममा हुने विभिन्न खेलको प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर पनि हुने उनले बताइन् ।
समिति अध्यक्ष वेष खड्कीको सभाध्यक्षता तथा मन्त्री खड्काको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न धर्म संस्कृतिका झाँकी तथा महिलाहरुद्धारा पञ्चेबाजा प्रदर्शनी समेत गरिएको थियो । मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता समेत आयोजना हुनेछ ।
समिति अध्यक्षा खड्कीले महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार मेला स्थलमै राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछन् । २ सय ६० वटा स्टल रहेकाे महोत्सवमा कृषि, पर्यटन, हस्तकला,अटोमोबाइल साथै बाल उद्यान समेत राखिएको छ । महोत्सवमा दैनिक नेपालका चर्चित राष्ट्रिय कलाकारको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, पुर्व नगर प्रमुख हरिबहादुर महत, हेटौंडाका वडा अध्यक्षहरु, शिक्षाविद् पुरनबहादुर जोशी, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न खेलकुदसम्बन्ध संघसंस्थाका अध्यक्षहरु, खेलका प्रशिक्षकहरु, औद्योगिक शान्ति नेपाल संस्थाका प्रमुख सन्दिप महतलगायत विभिन्न युवा क्लब तथा टोल विकास संस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।




