भरतपुर, ५ पुस ।
भरतपुर महानगरपालिकाको नगर प्रहरी बलको भवनको बिहीबार शिलान्यास गरिएको छ । भवनको शिलान्यास संयुक्त रुपमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले गरेका हुन् ।
निर्माणाधीन प्रशासकीय भवनको उत्तरतर्फ १९२९ दशमलव ८ वर्ग फिट क्षेत्रफलमा ३ तले भवन निर्माण हुन लागेको हो । भवनमा ५० जना नगर प्रहरीको आवाससहितको क्षमता रहेको महानगरका ईन्जिनियर घनश्याम मिश्रले जानकारी दिए । ३ तल्लाको भवनमा प्रत्येक तल्लाको फ्लोर एरिया हुनेछ । भवनमा महिला र पुरुष प्रहरीलाई बस्न मिल्ने गरी छुट्टाछुट्टै आवास र शौचालको व्यवस्था गरिएको मिश्रले जानकारी दिए ।
निर्माणको जिम्मा एमएस कनसोडिटेड ईन्जिनियरिङ बिल्ड प्रालिसँग रु १ करोड २४ लाख ७ हजार १ सय ८० रुपैयाँमा सम्झौता भएको हो । सम्झौता मितिले २०८१ साल जेठ ३० गतेसम्म २ तल्लासम्मको सम्पूर्ण कार्य र तेस्रो तलाको छत ढलान गर्नुपर्ने छ ।
यसअघि नगर प्रहरीले अस्थाई भवनहरुबाट सेवा दिँदै आइरहेको थियो । नगर प्रहरीले भवन अभावका कारण रात्रिकालीन ड्युटी दिन असहज हुने गरेको नगर प्रहरीका इन्स्पेक्टर मेघराज भट्टराईले बताए । महानगरले नगर प्रहरीको संख्या वृद्धि गरी ७३ जना पुर्याएसँगै छुट्टै भवनको अवश्यकता पनि रहेको थियो । नगर प्रहरीको भवन निर्माण भएसँगै नगर प्रहरीको कार्य सम्पादन वृद्धि भएर जाने अपेक्षा लिइएको छ ।
बिहीबार नै प्रमुख दाहालले निर्माणाधीन प्रशासकीय भवनको निरीक्षण गरेकी छन् । भवनको अहिले तेस्रो तलको ढलानको तयारी भइरहेको छ । भवनको निर्माण प्रगति ४३ प्रतिशत पुगेको इञ्जिनियर साकार लामाले जानकारी दिए । महानगरले पुरानो भवनबाट सेवा प्रवाहमा अप्ठयारो भएसँगै नयाँ संघ र प्रदेशको लगानीमा निर्माण भइरहेको छ ।




