गुरुकुलमा `व्यवसायको प्रबर्द्धनमा मिडियाको भूमिका´ बारे छलफल

भरतपुर, ५ पुस ।
भरतपुरको गुरुकुल स्कुलमा ‘व्यवसायको प्रबर्द्धनमा मिडियाको भूमिका’ बारेमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ । हरेक हप्ता नियमित अतिरिक्त क्रियाकलापका कार्यक्रम गर्दै आएको गुरुकुलले बिहीबार कक्षा १२ व्यवस्थापन दिवा शत्रका विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको हो ।

स्कुलमा व्यवस्थापन दिवा संकायका कार्यक्रम संयोजक सुशील रेग्मीले संयोजन गरेको कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार तथा पत्रकारिताका सहायक प्राध्यापक तथा नारायणी अनलाइनलाइनका समाचार सम्पादक मधुसूदन दवाडीले विद्यार्थीलाई मिडियाको प्रयोगबारे अभिमुखीकरण गरेका छन् । उनले सञ्चार माध्यमले समाजमा पार्ने सकारात्मक र नकारात्मक प्रभावहरु, विज्ञापन र व्यापारिक क्षेत्रमा मिडियाहरुलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने प्रस्तुति दिए । दवाडीले भने, ‘ कुनै पनि कम्पनीलाई लोकप्रिय बनाउन र त्यसलाई डामाडोल बनाउन मिडियाबाट प्रसारित सूचनाको महत्वपूर्ण भूमिका हुन्छ । समाचार, कार्यक्रम, विज्ञापन, लेख, पत्रकार सम्मेलन र प्रेस विज्ञप्तिलाई व्यवसाय प्रबर्द्धनका मुख्य सामग्रीको रुपमा प्रयोग गर्न सकिन्छ । ’ उनले नेपाली सञ्चार क्षेत्रमा देखिएका विभिन्न सकारात्मक र नकारात्मक घटनाको विश्लेषण अभ्यास विद्यार्थीलाई गराएका छन् ।

कार्यक्रममा विद्यार्थीहरुले समाचार संकलन र सम्पादन प्रक्रिया, सञ्चारकर्मीहरुको आर्थिक आम्दानी र तथ्यको परीक्षणलगायत विषयमा प्रश्नहरु गरेका थिए । विद्यार्थीको जवाफ दिँदै दवाडीले नेपालको आमसञ्चार र पत्रकारिता क्षेत्रले सामाजिक र आर्थिक मुद्दालाई अझ सशक्तरुपमा उठाउन देशको आर्थिक र औद्योगिक विकास अपरिहार्य भएको बताए । उनले सामाजिक सञ्जालको प्रयोगमा किशोरकिशोरीहरु सचेत बन्न अनुरोध गरे । झण्डै १०० जना विद्यार्थी सहभागी कार्यक्रममा स्कुलका शैक्षिक निर्देशक सिर्जन अविरल र पूर्वप्राचार्य नवीन भण्डारीले अभिमुखीकरण कार्यक्रमको महत्वबारे प्रकाश पारे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार लामिछानेले अभिमुखीकरण कार्यक्रमलाई समापन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट