रत्ननगर, २९ मंसिर ।
रत्ननगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको समन्वयमा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर चितवनको मातहतमा सञ्चालित रत्ननगर नगरपालिका रक्तसञ्चार इकाईको उद्घाटन गरिएको छ । रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका सभापति बालकृष्ण चापागाईको सभापतित्व एवं रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्लाद सापकोटाको प्रमुख आतिथ्य तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य, केन्द्रीय रक्तसञ्चार सेवा समितिका उपसंयोजक हरिप्रसाद पौडेलको विशिष्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा मेयर, उपमेयर, वडा अध्यक्षहरु, छिमेकी नगरपालिकाका मेयर, उपमेयर एवं प्रतिनिधिलगायत स्थानीय प्रशासन, जिल्लामा अवस्थित सरकारी निकायहरुका प्रतिनधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाका सम्पुर्ण पदाधिकारी एवं सदस्यहरु, पञ्चकन्या, पिठुवा, बछ्यौली, रत्ननगर उपशाखा कार्यसमिति परिवार, रत्ननगर नगरपालिका अन्तर्गतका टोल विकास संस्थाका प्रतिनिधिहरु, अन्य सरोकारवाल निकायहरुका प्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, रत्ननगर नगरपालिका एवं रेडक्रसका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि एवं अतिथिगणलगायत उपस्थित सबैलाई रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले स्वागत गरेका थिए । कार्यक्रममा खैरहनी नगरपालिका नगर प्रमुख शशि खनिया, नगर उपप्रमुख यादवप्रसाद पाठक, पूर्व मेयर नारायण वन, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिका केन्द्रीय सदस्य, केन्द्रीय रक्तसञ्चार सेवा समितिका उपसंयोजक श्री हरिप्रसाद पौडेल, रत्ननगर नगरपालिका वडा नम्बर २ का अध्यक्ष कुलप्रसाद सापकोटा, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री राममणि खनाललगायतले मन्तव्य राखेका थिए ।
समुद्घाटन कार्यक्रममा नगर प्रमुख प्रल्लाद सापकोटाले आफ्ना कार्यक्षेत्र भित्रका स्थानीय जनताहरुलाई निःशुल्क रुपमा मानव रगत उपलब्ध गराउनुका साथै रक्तसञ्चार इकाईलाई दिगो रुपमा सञ्चालन गर्ने कुरामा प्रतिवद्धता जनाए । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं केन्द्रीय रक्तसञ्चार समितिका उपसंयोजक हरिप्रसाद पौडेलले रक्तसञ्चार इकाई स्थापनामा विगत लामो समय देखि रणनैतिक योजना बन्दै आएको र रत्ननगर नगरपालिकासँग विभिन्न चरणहरुमा समन्वयात्मक वैठकहरु सम्पन्न हुनुका साथै यस मानवीय सेवा कार्यमा पुर्याएको सहयोग प्रति सहयोगी निकाय, सरोकारवाला निकाय एवं महानुभावहरुलाई धन्यवाद ज्ञापन गरे । यस कामलाई निरन्तरता दिनका लागि सदैव नगरपालिकालगायत सरोकारवाला निकायहरुसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने बताए । मेयर, पूर्व मेयर एवं जनप्रतिनिधिहरुले विशेष गरी रत्ननगरमा अवस्थित बकुल्लहर अस्पताललगायत पूर्वी चितवनका स्वास्थ्य निकायहरुलाई यस रक्तसञ्चार इकाईको महत्वपूर्ण भूमिका रहने बताए । समुद्घाटन कार्यक्रम रत्ननगर नगरपालिका स्वास्थ्य सेवा विभागका स्वास्थ्य अधिकृत बासु सापकोटाले सञ्चालन गरेका थिए ।





