पार्टी एकीकरण चितवनबाटै सुरु हुन्छः पोखरेल

चितवनमा आसन्न निर्वाचनलाई लक्षित गरेर उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय छन् । मतदातालाई रिझाउन प्रतिबद्धतापत्र बोकेरै उम्मेदवारहरु मतदाताको घरदैलो पुगिरहेछन् । योबीच्मा चितवन क्षेत्र नम्बर २ को चुनावी भिडन्त निकै रोचक देखिन्छ । यो क्षेत्रमा १ लाख ८ हजार २ सय १५ जना मतदाता छन् । इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरका १० वटा वडा मिलेर बनेको यो क्षेत्रमा कतिपय नयाँ मतदाता छन् । यो क्षेत्रमा बाम गठबन्धनबाट एमाले चितवनका अध्यक्ष तथा पूर्वसांसद कृष्णभक्त पोखरेल र हालका शिक्षा राज्यमन्त्री तथा कांग्रेसका पूर्वसांसद शेषनाथ अधिकारीबीच कडा प्रतिस्पर्धा हुँदैछ । २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पोखरेलले तत्कालीन क्षेत्र नम्बर ३ बाट कांग्रेस उम्मेदवारलाई २ हजार ४ सय १७ मतान्तरले पराजित गरेका थिए । अधिकारीले तत्कालीन चितवन क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवारलाई ९ सय ९९ मतान्तरले पराजित गरेका थिए । साविक २ र ३ नम्बर क्षेत्रका केही भूभाग मिलेर नयाँ निर्वाचन क्षेत्र कायम भएको छ । पोखरेललाई माओवादीले र अधिकारीलाई राप्रपा (प्रजातान्त्रिक) र नयाँ शक्ति पार्टीले सघाउँदैछन् । चुनावी मैदानमा होमिएका एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलसँग विप्लव काफ्लेले गरेको कुराकानीः

प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएको छ, चुनावी तयारी कस्तो छ ?
जनतासँग म अपरिचित व्यक्ति होइन । विगतको निर्वाचन क्षेत्रमा केही हेरफेर भएर नयाँ क्षेत्र कायम भएको छ । त्यहीपनि चुनावी दौरानमा पुग्नु नै पर्छ । हाल कायम भएको नयाँ क्षेत्रमा स्थानीय तह निर्वाचनको परिणाम केलाउँदा एमाले बलियो छ । जनताले ऊर्जाशील युवा उम्मेदवार नै खोज्छन् । मेरा प्रतिस्पर्धीभन्दा मप्रति धेरै विश्वास गरेका छन् । यो क्षेत्रमा मतदान गर्ने अधिकार नभएका व्यक्ति चुनावी मैदानमा आएकोबारे जनता बेखबर छैनन् । यही ठाउँकै व्यक्तिले विकासका योजनामा लबिङ गर्न सक्छन्, प्रतिबद्ध बन्छन् भन्ने सबैलाई थाहा छ । त्यसैले म जनताकोमा पुग्दा मतदाता उत्साहित बनेका छन् । कम्युनिष्ट पार्टी एकीकरण लक्ष्यसहित माओवादी केन्द्र र एमाले अहिले सँगसँगै चुनावी मैदानमा साझा उम्मेदवार बनाएर उत्रिएका छौँ । त्यसैले पनि चुनावी वातावरण राम्रो बन्दैछ ।

तपाईंलाई जनताले यसअघि पनि जिताए, केको आधारमा फेरि निर्वाचित गर्ने ?
विगतमा म तालि बजाउने सांसद्का रुपमा मात्रै संविधानसभा भवनमा कहिल्यै प्रस्तुत भइनँ । आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा आएका कतिपय कानूनमा संसोधन प्रस्ताव हालेको थिएँ । पार्टीले के भन्ला भनेर कहिल्यै सोचिनँ । न्यायपूर्ण कानून बन्नुपर्छ भन्नेमा सधैं अडिग रहेँ । ४ वर्षे कार्याकालमा ६ सय ६६ दिन संसद् चल्यो । ६६ वटा कानून पारित भए । ५० भन्दा बढी कानूनलाई समृद्ध बनाउने कुरामा मैले भूमिका निर्वाह गरेँ । जनताले सुम्पिएको मुख्य जिम्मेवारी पूरा गरेको अवगतै छ । महिलामाथि सौता ल्याउन नपाइने, बलात्कार गरी हत्या गर्ने जस्ता ६ प्रकारका अपराधीलाई आजीवन काराबास बस्नुपर्ने, छाउपडी प्रथा जस्ता कूरीतिलाई अपराधका रुपमा परिभाषित गरेर दण्डित गर्ने जस्ता विषयमा अपराध संहिताको नयाँ कानून बनाउने काम मेरै संयोजकत्वमा भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका अधिकांश लक्ष्य पनि पूरा गराएको छु । चितवनको पुरानो सदरमुकाम दाहानीमा बिजुलीबत्ती सेवा पु¥याइएको छ । काउलेमा पनि विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । चितवनबाट प्रसारण लाइन जोड्न बढी दूरी हुने भएर धादिङबाट जोडनुपर्ने अवस्था आएपछि केही प्राविधिक समस्याले काम पूरा हुन सकेन । चण्डिभञ्ज्याङ याकराङ जलवीरेमा ७ किमि ट्रयाक खोल्ने काम भएको छ । हाइवेसँग जोडिएको क्षेत्र भएरपनि गाडी गड्ने बाटो नभएका ठाउँमा ट्रयाक खोल्ने काम भएका छन् । संसद् नचल्दा चितवनमै रहेर जनताका समस्या समाधानका लागि पहल गरिरहेँ । मेरो सरलता, मेरो लगाव, संविधानसभामा मेरो भूमिका र अब संविधानमै व्यवस्था भएका नीतिगत व्यवस्था कार्यान्वयन र विकासको लहर ल्याउन जनताले पूर्णसाथ दिनेमा विश्वस्त छु ।

चुनावी दौरानमा मतदाताको माझ कस्ता योजना लिएर जानुभएको छ ?
अहिले मुख्यतः बहुमतको स्थायी सरकार बनाएर संविधानले प्रत्याभूत गरेका गाँस, बास र कपासको कुरा सबै जनतालाई सुनिश्चितता गर्ने कुरा नै पहिलो मुद्दा हो । भ्रष्टाचाररहित सुशासन निर्माण गर्ने कुरामा नीतिगतरुपमै काम गर्ने दोस्रो काम हो । यस्तै भरतपुर महानगरपालिकामा चक्रपथको परिकल्पना पूरा गर्नुछ । साइकल लेनसहित गैंडा, बाघ, हात्ती हेर्न मिल्ने गरी राप्ती र नारायणी नदीमा ततबन्धन गरेर चक्रपथको परिकल्पना पूरा गर्ने लक्ष्य छ । भरतपुरलाई राजधानीपछिको दोस्रो शहर बनाउने अठोट लिएर हिँडेको छु । पर्यटनका दृष्टिले तेस्रो स्थानमा रहेको चितवनलाई दोस्रो गन्तव्यका रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ । ठोरी–केरुङ लोकमार्गलाई व्यवस्थित गर्दै दुवैतर्फ नाका सञचालन गर्न सके चितवन ‘उर्वर बिजनेस हब’ बनाउने ‘प्लानिङ’ छ । त्रिशूलीबाट हुग्दी हुँदै डाइभर्सन गरेर शक्तिखोरमा पानी ल्याउने, बिजुली पनि उत्पादन गर्ने, सिँचाई पनि गर्ने गरी योजना कार्यान्वयन गर्नुछ । भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्ने, भरतपुर अस्पताललाई मेडिकल कलेज बनाउने, क्यान्सर अस्पताललाई क्यान्सर अध्ययन प्रतिष्ठानका रुपमा विकास गर्ने लगायतका थुप्रै योजना लिएर चुनावी मैदानमा छु ।

स्थानीय तह चुनावमा विशेषगरी भरतपुर महानगरको चुनावमा कांग्रेस र माओवादी केन्द्रबीचको चुनावी तालमेलविरुद्ध एमाले चर्को विरोधमा उत्रियो । एमालेले माओवादीविरुद्ध अनेक आरोप पनि लगाउँदै हिँडेका दृश्य पनि देखिएका थिए । तर, यसपालि सँगसँगै चुनावी मैदानमा हुनुहुन्छ ।
तत्कालीन अवस्थामा कांग्रेस र माओवादी केन्द्रबीचको एकता चुनाव जित्नका लागि दाउपेचको एकता थियो । तर, बामपन्थीहरुको एकता भावनात्मक एकता हो । अब कुनै गठबन्धन होइन । गठबन्धन हुँदा यहाँले गरेको प्रश्न ठीक छ । चितवनमा पार्टी एकता संयोजन समिति बनिसक्यो । हामी पहिलो जिल्ला हुनेछौँ केन्द्रभन्दा पहिले चितवनमा कम्युनिष्ट पार्टी एकता गरेर देखाउनेछौँ । विगतमा मतपत्र च्यातेको कुरा, विगतमा एमाले र माओवादीबीचको थुप्रै दरार पैदा भएका थिए । हामी त्योभन्दा पनि उज्यालो पक्षमा छौँ । तपाइले गरेको प्रश्न अँध्यारा पक्ष छन् । राजनीतिमा सम्भावनाका पक्ष हेर्ने हो । विगतमा कांग्रेस, एमाले, माओवादीबाट थुप्रै राजनीतिक आन्दोलनका क्रममा गल्ती भएकै थिए । यी नराम्रा अँध्यारा पक्ष हुन् । हामी दुई पार्टी समाजवादको आधार निर्माण गर्ने र समृद्ध राष्ट्र र सुखी नेपाली बनाउने उज्यालो पक्ष हो । विगतलाई नबिर्सिकन माफी गर्ने हो । एकदिन इतिहासमा त्यसको समीक्षा होला । १५÷२० दिनको दृश्यले भावनात्मक एकतालाई पुष्टि गरिसकेको छ । छुट्टिएका दाजुभाइ भेट्टिएजस्तो लागेको छ । एकता हुन्छ । त्यो घटना सम्झेर अब बाम गठबन्धनविरुद्धमा मत जानेछैन ।

गणितीय हिसाबमा १४÷१५ हजार मतान्तरले मेरो जित हुने निश्चित छ । विगतमा स्थानीय तहको मत केलाउँदा १४ हजार बढी मतले बामपन्थी अगाडि छ । धनकुटापछि चितवन एमालेका लागि उर्वरभूमि हो । २ ख मा ७ वडामध्ये सबैमा वडाध्यक्षमा एमालेले जितेको छ । २ (क) मा भरतपुर महानगरको ३ वडामा १ एमाले, २ कांग्रेसले जितेको छ । इच्छाकामनामा ३÷३ वडामा कांग्रेस र एमाले र १ मा माओवादीले वडाध्यक्षमा जितेको छ । कालिकामा मेयर उपमेयर सहित बहुमत एमालेकै छ । यो हिसाबले पनि जित्नेमा मलाई कुनै दुविधा छैन ।

विगतको चुनावमा सुकुमबासी बस्ती पुगेर दिएका कयौं आश्वासन पूरा भएका छैनन् नि होइन ?
मेरो कार्याकालमा गर्न नसकेको प्रमुख काम सुकुमबासी समस्या समाधान नै हो । तर, बर्मेली टोलका करिब ४ सय घरधुरीलाई जग्गाधनीपुर्जा ५० वर्षपछि भएपनि दिलाउन मैले नै नेतृत्वदायी भूमिका खेलेँ । रजिष्ट्रेसन गर्न लाग्ने दस्तुरवापत कूल ७३ लाख सरकारबाट छुट गराउन भूमिका खेलेकौ भुल्नु हुँदैन । संसद्मा सुकुम्बासीको जग्गा दर्ता सम्बन्धमा ५ पटक भन्दा बढी आवाज उठाउने व्यक्ति हुँ । सुकुम्बासीलाई पुर्जा बाँडेर कम्युनिष्ट राज चलाउन लागे भन्दै तत्कालिन आयोगलाई विपक्षि दलले काम गर्न दिएनन् । त्यसपछिका सरकारले सुकुम्बासी आयोग बनाउने अभियाननै चलेन । बामपन्थीको बहुमतको सरकार नहुनुको उपज हो । अब अव्यवस्थित बसोबास र सुकुम्बासी समस्याको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकार सञ्चालन सम्बन्धि ऐनमै व्यवस्था छ । कार्यविधि बनाएर यो समस्या हल गर्नुपर्छ । वर्षौँदेखि वस्दै आएका बस्तीलाई समेत बन क्षेत्र निर्धारण गरी दुख दिने काम भएको छ । अब स्थाई सरकार बनेपछि यो समस्या रहदैन । मेरो एकल प्रयासले हुने अवस्था नभएर हो । अब त्यस्तो रहँदैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट