विप्लव काफ्ले/कायाकैरन
भरतपुर,८ मंसिर ।
विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रञ्जु दर्शनाले देशलाई ‘फेल’ हुनबाट बचाउन युवा नेतृत्व आवश्यक रहेको बताएकी छिन् । केन्द्रीय बस टर्मिनल भरतपुरको चौरमा आयोजना भएको आमसभालाई बिहीबार सम्बोधन गर्दै उनले पुराना पार्टीले युवालाई सत्ता पुग्ने भ¥याङ मात्रै बनाएको भन्दै अब सबैले मत परिवर्तन गर्ने बेला आएको बताइन् ।
“युवाले सधैं भ¥याङ मात्र बनाउने हो भनेर सोधिरहेका छन्”, उनले भनिन्, “यसपालि मत परिवर्तन गरेर लठ्ठी नहान्दा पनि चोट दिन सकिन्छ, त्यो अब पुराना दललाई गर्नुपर्छ ।” उनले मत अधिकारलाई कर्तव्यका रुपमा लिएर सही नेतृत्व चयन गर्नुपर्ने बताइन् । “देशमा रोजगारी छैन भनेर खाडी देश वा अन्य अरु देश गइरहेका छन्, अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन कम्तीमा एउटा लास बाक्सामा आउने गर्छ, त्यसैलाई सम्झेर मत फेरौं”, उनले भनिन्, “अब यस्तो अवस्था ल्याउनेविरुद्ध मतदान गर्नुपर्छ ।” उनले संविधानले रोजगारीसम्बन्धी हकको व्यवस्था भएपनि कार्यान्वयन हुन नसकेको बताइन् । स्वदेशमै उद्यमशीलता प्रवद्र्धन गर्ने गरी कुनै संयन्त्र नबनाइएको भन्दै उनले दुखेसो पोखिन् ।
उनले विगतका निर्वाचनमा धोका र पीडा खेप्दै आएको स्मरण गरिन् । “हाम्रो एकाधिकार छ, एकछत्र राज छ भन्दै आइरहेका छन्”, पुराना दललाई इङ्गित गर्दै भनिन्, “हामी दरिलो विकल्पका साथ आएका छौँ, अब एकछत्र राज गर्ने अवस्थाको अन्त्य हुनेछ ।” उनले आफु र देशले जित्ने गरी नेतृत्व चयन गर्नुपर्नेमा जोड दिइन् । “विद्यार्थीले ३÷४ चोटि फेल हुँदा पुरक परीक्षा दिन पाउँछन्, फेरि पनि फेल भए उसलाई निकालिन्छ”, उनले भनिन्, “हाम्रा देशका नेताहरु दशकौंदेखि फेल हुँदै हुनुहुन्छ, अब निकाल्ने आँट गर्नुपर्छ ।” निर्वाचनका बेला मौनअवधिमा धेरै चलखेल हुने भएकाले सतर्क भएर जनताले मताधिकार प्रयोग गर्नुपर्ने बताइन् ।

दर्शना स्थानीय तह चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेकी थिइन् । भर्खरै खुलेको पार्टीकी उम्मेदवार भएपनि उनको मत राम्रो आएको थियो । उनले युवा मतदाताको संख्या हरेक वर्ष घट्दै गएको बताउँदै भनिन्, “युवा विदेशिने अवस्था अन्त्य गर्नुपर्छ, स्वदेशमै उद्यमशील बन्ने वातावरण बनाउनुपर्छ ।” उनले नैतिकहीन व्यक्तिलाई नेतृत्वमा पु¥याउने भूल नगर्न बताइन् । उनले लोकतन्त्रका रुपमा लुटतन्त्र संस्थागत गर्ने दललाई दलले पाखा लगाउने दावी गरिन् ।
विवेकशील साझा पार्टीका अर्का केन्द्रीय सदस्य गोविन्द नारायणले ठूला पार्टीको कूसंस्कार हटाउन गरी जनताले यसपालिको निर्वाचनमा मताधिकार प्रयोग गर्ने दावी गरे । “राजनीतिमा देखिएको फोहर फाल्न हामी आएका हौँ”, उनले भने, “ससाना कुराबाट ठुला परिवर्तन हुन सक्ने इतिहास भुल्नुहुदैन ।” डेढ महिने आन्दोलनले राणाशासनको अन्त्य, सेना प्रहरी र प्रशासनको साथ भएको राजतन्त्र हटेको घटना सुनाउँदै भने, “देशलाई चलायनमान बनाउने हाम्रो लक्ष्य हो ।” उनले जनताका दुखसुखमा साथ दिने प्रतिनिधि बनाउन आफ्नो पार्टीले उम्मेदवार बनाएको दावी गरे । उनले चुनाव जित्नैका लागि हुने करोडौ खर्चले भ्रष्टचार मौलाउने गरेको बताए । “योग्य र इमान्दर नेतृत्व चयन गर्नुपर्छ”, उनले भने, “अरु देशमा राजनीतिमा लाग्नेले राष्ट्र बनाउँछन्, हाम्रो देशमा घर बनाउन लाग्छन्, अब यस्ता दलविरुद्ध मत दिनुपर्छ ।”
चितवन ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरदराज पाठकले तडकभडक रहित चुनावी प्रचारमा रहेका दललाई जनताले साथ दिने विश्वास व्यक्त गरे । उनले शुद्धिकरण, इमान र निष्ठाको राजनीति अंगाल्न ठुला दलले नसकेको आरोप लगाए । चितवन २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भुपेन्द्रराज बस्नेतले ‘पोल्टीकल ललिपप’ को पछि जनता नलाग्ने दावी गरे । विकास परियोजना रोक्दै, लम्बाउँदै भ्रष्टाचार गर्ने नीति पुराना दलले अंगालेको आरोप लगाए । चितवन १ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार निरज रेग्मीले पुराना पार्टीले अनुशासन र आचरणको राजनीति गर्न नसकेको जीकिर गरे । जनतालाई झुटा आश्वासन देखाएर चुनाव जित्ने नीतिविरुद्ध जनताले आफ्नो मत दिने दावी गरे ।





