मकवानपुर, ९ मंसिर ।
मकवानपुरको मनहरी गाउँपालिका मसिनेमा रहेको पशुपतिनाथ माविका बालबालिका र अभिभावकको कान परीक्षण शिविर भएको छ । मनहरी ४ मसिनेस्थित पशुपति माविले अन्तर्राष्ट्रिय संस्था किवानिज क्लब मकवानपुरसँगगको सहकार्यमा विद्यालयमा अध्ययन गर्ने बालबालिका र अभिभावकको कान परीक्षण शिविर संचालन गरेको हो ।
किवानिज क्लब मकवानपुरका संस्थापक अध्यक्ष तीर्थराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई पालिकाले सघाउने बताए । ‘मानिसको शरीरका महत्वपूर्ण अंग आँखा, कान, मुटुलगायतको अवस्थाबारे समयमै जानकारी लिन सके भविस्यमा ठूलो नोक्सानी हुनबाट जोगाउँछ’ अध्यक्ष कालाखेतीले भने–‘स्वास्थ्य परीक्षण शिविर मनहरी गाउँपालिकामा रहेका ३२ वटै विद्यालयमा गर्नु जरुरी छ ।’
गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउँदै अध्यक्ष कालाखेतीले विद्यालयमा पठनपाठनका साथै स्वास्थ्य शिविरले बालबालिकालाई स्वस्थ रहन सहयोग पुर्याउने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले बालबालिकालाई आफ्नो कान कमजोर छ भन्ने कुरा थाहा नहुने भएकोले शिविर संचालन गरिएको बताए । शिविरमा नेपालगंजस्थित आइडियल फर्मासिटिकल्स प्रालिले औषधि सौजन्य गरेको किवानिज क्लबका मकवानपुरका संस्थापक अध्यक्ष पराजुलीले जानकारी दिए ।
कार्यक्रममा वडाअध्यक्ष प्रकाश थापा, साहित्यकार तथा सेवानिबृत्त शिक्षक हयग्रीव आचार्य, किवानिज क्लब मकवानपुरका सचिव भीमप्रसाद फुँयाल (दिनेश)लगायतले बालबालिकाको आँखा, कान जस्ता अंगको परीक्षण गर्ने शिविरको आयोजना गरी विद्यालयले पुण्यको काम गरेको बताए । गाउँपालिका अध्यक्ष कालाखेतीको कान परीक्षण गरी सुरुवात गरिएको शिविरमा करिव दुई सय ५० जना बालबालिका तथा अभिभावकको कानको परीक्षण गरिनुको साथै नि:शुल्क औषधि वितरण गरिएको थियो । शिविरमा हेटौंडा अस्पतालका नाक, कान, घाँटी बिशेषज्ञ डा. अनुप सञ्जेलले कानको परीक्षण गरेका थिए ।
यसैबीच पशुपतिनाथ माविबाट २०७९ को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
२०७९ सालको एसईईमा छात्र रितेश बिष्ट र छात्रा पार्वती तितुङले उत्कृष्ट नतिजा ल्याएकोले जनही ११ हजार पाँच सय रुपैयाँका दरले छात्रबृत्ति रकम पनि प्रदान गरिएको हो ।
पशुपतिनाथ माविका पूर्वप्रधानाध्यापक तीर्थराज पराजुलीले आफ्नो मातापिता शिवकुमारी र रामजीप्रसाद पराजुलीको स्मृतिमा स्थापना गरेको कोषबाट दुई जना उत्कृष्ठ छात्रछात्रालाई रकम प्रदान गरिएको हो । विगत ३ वर्षदेखि पराजुलीले विद्यालयमा छात्रबृत्ति प्रदान गर्दै आएका छन् ।
कार्यक्रममा किवानिज क्लब मकवानपुरका कोषाध्यक्ष शम्भु घर्ती, लायन्स क्लब अफ गुल्मोहर काठमाडौंकी सकुन्तला बस्नेत, किवानिज क्लब मकवानपुरका सदस्य शारदा भुजेल, दिपेश अधिकारी, मनहरी गाउँ कार्यपालिका सदस्य मीरा खत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य सीता नेपाली, कल्पना कार्की, मुकुन्द सुवेदी, विद्यालयका शिक्षकहरुलगायतको सहभागिता रहेको थियो ।





