देवचुली, ९ मंसिर ।
शनिबार पूर्वीनवलपरासीमा साहित्य सम्मेलन गरिएको छ । नारी साहित्य समाज नवलपरासीले आयोजना गरेको कार्यक्रममा भेला भएका स्रस्टाले रचनावाचनसँगै साहित्यिक छलफल गरेर माहोललाई साहित्यमय बनाएका हुन् ।
पुस्तक विमोचन, स्रस्टा सम्मान एवं रचनावाचन कार्यक्रमले माहोल साहित्यमय बनेको हो । सो अवसरमा नारी साहित्य समाजकी अध्यक्ष कृष्णादेवी शर्मा श्रेष्ठको मुक्तकसङ्ग्रह `बन्द कोठाको आँखिझ्यालबाट´ विमोचन गरिएको छ । सङ्ग्रहलाई कार्यक्रमका प्रमुख अतिथि लकास पौडेल, साहित्यकार केशवराज आमोदी, श्यामप्रसाद न्यौपाने, दीपक सोती, उद्योगबहादुर श्रेष्ठलगायतले विमोचन गरेका थिए । सो पुस्तकबारे साहित्यकार श्यामप्रसाद न्यौपानेले टिप्पणी गरेका थिए । पुस्तकमाथि बोल्दै न्यौपानेले साहित्यकार शर्माका मुक्तकहरू समसामयिक विषयवस्तुमा लेखिएको बताए ।
पुस्तक विमोचनलगत्तै कार्यक्रममा ६ जना स्रस्टालाई सम्मान गरिएको छ । सम्मानित हुने स्रस्टामा नवलपरासी पूर्वका टङ्कप्रसाद काफ्ले सरोज उजाड, आदर्श सुशील, प्रितम भुजेल, अर्जुन अविरल र भेषराज रिजाल तथा चितवनका अम्बिका पोखरेल ज्ञवाली छन् । सम्मानित स्रस्टालाई सम्मानपत्र, दोसल्ला, मायाको चिनो र नगदसहित सम्मान गरिएको थियो । सम्मानित स्रस्टाहरुका बारेमा गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाले बोलेका थिए । सम्मानित स्रस्टाले निरन्तर साहित्य साधनमा रहेर साहित्यको संरक्षण र सम्बर्द्धनमा महत्त्वपूर्ण योगदान दिएको सापकोटाले बताए । 
सम्मान कार्यक्रमपछि विभिन्न स्रस्टाहरुले रचना वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार डा.धनपति कोइराला, तेजेन्द्र सापकोटा, करुण लम्साल, आइपी सापकोटा, शर्मिला सापकोटा, निमा पौडेल तिवारी, एकनारायण चापागाईं, दीपक भट्टराई, कमला ढकाल, केशवराज घिमिरेलगायतले रचना वाचन गरेका थिए । सोही कार्यक्रममा देवचुली खानेपानीका अध्यक्ष खिमानन्द भुसाल, दयाराज तिवारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साहित्यकार टीकादेवी सापकोटा पोखरेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण संस्थाकी सचिव सीतादेवी पौडेलले गरेकी थिइन् । नवलपरासी र चितवनका गरि ६० जना बढी साहित्यपारखीको उपस्थिति रहेको थियो ।





