उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

भरतपुर, ४ मंसिर ।
उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ ।

हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज नारायणगढस्थित नारायणी नदी किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् ।

व्रत नबसेकाहरूले पनि उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । सूर्यको आराधना गरेर मनाइने यो पर्व लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनदेखि विधिवत् रूपमा शुरु हुन्छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने छठ तराईमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दु समुदायको मुख्य पर्व हो ।

छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ । सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ ।

नेपालमा पहिला तराई क्षेत्रमा सीमित यो पर्व केही वर्षदेखि काठमाडौँ उपत्यकालगायत विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।

महाभारतका अनुसार द्रौपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्  र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्‍याउनुपर्छ । तर चढाउने सामर्थ्य नभएको अवस्थामा गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट