काठमाडौं, ३ मंसिर ।
नेपालमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजना प्रदर्शनी आयोजना गरिएको हो ।
मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने पुस्तक प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश सहित दक्षिण एसिया क्षेत्रका विभिन्न देश चीन, अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने आयोजकको दाबी छ । आइतबार पत्रकार भेटघाट गरेर आयोजकले सो जानकारी दिएका हुन् ।
पुस्तक प्रदर्शनीमा एक सय ८० भन्दा बढी स्टलहरू रहने र विभिन्न देशका पुस्तकहरूको प्रदर्शनी हुने नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार व्यापार, पठन संस्कृति, लेखक र पाठकहरूसँग अन्तरक्रिया हुने छ । कस्ता पुस्तकहरू पढ्ने, कस्ता पुस्तकप्रति पाठकहरूको रूची बढिरहेको छ, लेखक, सर्जकहरूको अनुभवहरू के–कस्ता छन् जस्ता विषयमा पनि उक्त प्रदर्शनीमा बहस हुने घिमिरेले बताए ।
प्रदर्शनीलाई १५ लाखले अवलोकन गर्ने अनुमान गरिएको महासंघका महासचिव शिवसागर शर्माले जानकारी दिए । प्रदर्शनीमा विभिन्न युवा नेताहरूसँग शैक्षिक बहस कार्यक्रम समेत राखिएको छ । प्रत्येक दिन नयाँ–नयाँ कार्यक्रम राखेर प्रदर्शनीलाई आकर्षक बनाइने महासचिव शर्माले बताए । यो पुस्तक प्रदर्शनी शिक्षा र शिक्षासँग सरोकार राख्नेहरूका लागि कुम्भमेला हुने विश्वास आयोजकले लिएका छन् । कार्यक्रमको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल, चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेसनलाई आमन्त्रण गरिएको बताइएको छ । उक्त प्रदर्शनीमा निःशुल्क प्रवेश गर्न पाइनेछ । सबै खाले पाठकहरूको रूचीलाई सम्बोधन गर्ने गरी पुस्तकहरू प्रदर्शनीमा राखिने महासचिव शर्माले जानकारी दिए । पुस्तक किन्ने र पढ्ने संस्कृति अभिवृद्धि गर्न प्रदर्शनीले टेवा पुग्ने विश्वास लिइएको छ ।





