भरतपुर, ३ मंसिर ।
अन्तर्राष्ट्रिय टी-२० महिला क्रिकेटमा नेपाल तेस्रो भएको छ ।
हङकङ क्रिकेट क्लबमा आईतबार भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गरेको हो । ११६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जापानले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा मात्र ७० रन बनाएको हो ।
जापानको लागि लागि अकारी निशिमुराले २९ र हिनासे गोतोले १६ रन बनाए । नेपालको लागि खुसी डंगोल, सोनी पाख्रीन, इन्दु बर्मा, सीता राना मगर र संगीता राईले १-१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा ११५ रन बनायो ।
नेपालको लागि पुजा महत्तोले ४३ र रोमा थापाले २२ रन बनाए। पुजाले ५१ बलमा ३ चौका प्रहार गरिन् । काजल श्रेष्ठ ३ र अस्मिना कर्मचार्य २ रनमा अविजित रहिन् ।
रुबिना क्षेत्रीले २१, कप्तान इन्दु बर्माले २१ र सीता राना मगरले ५ रन बनाइन् ।
जापानको लागि एरिका टोगुची क्विन, अहिल्या चन्देल र अयुमी फुजिकावाले १-१ विकेट लिए ।
प्रतियोगितामा नेपाल तान्जानियासँग २७ रनले र हङकङसँग ९ विकेटले पराजित भएको थियो । शनिबार भएको खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।





