भरतपुर, १२ कात्तिक ।
गजलकारद्वय: प्रदीप रोदन र वसन्त ओली ‘वसन्ती’ले छायाँदेवी चेतनाथ गजल पुरस्कार प्राप्त गर्ने भएका छन् ।
लामो समयदेखि नेपाली गजल क्षेत्रमा क्रियाशील एवम् युवा पुस्तामा रुचाइएका यी दुई गजलकारले आफ्नो पुस्तक ‘मफलर’ र ‘बोई’ मार्फत् उक्त पुरस्कार प्राप्त गर्ने भएका हुन् ।
वसन्तीको ‘बोई’ले छायाँदेवी चेतनाथ गजल पुरस्कार- २०७८ र रोदनको ‘मफलर’ले छायाँदेवी चेतनाथ गजल पुरस्कार- २०७९ प्राप्त गर्ने भएको साहित्यकार एवम् उक्त पुरस्कारका प्रायोजक जे सागरले जानकारी दिए ।
साहित्यकार जे सागरले आफ्ना मातापिताको नाममा करिब पाँच वर्षअघि स्थापना गरेको यो पुरस्कार हरेक वर्ष प्रकाशित गजल सङ्ग्रहहरूमध्ये उत्कृष्ट एउटा सङ्ग्रहलाई प्रदान गर्ने गरिएको छ । उक्त पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ ।





