मकवानपुर, १२ कात्तिक ।
मकवानपुरका कैलाश, राक्सिराङ, भीमफेदी र थाहा नगरपालिकामा गाँजा र अफिम खेती अवैध रुपमा हुँदै आएकाे छ । लागूऔषध गाँजा तस्करीको त मकवानपुर ‘ट्रान्जिट प्वाइन्ट’ कै रुपमा रहेकाे छ । मकवानपुरमा लागूऔषध उत्पादन तथा ओसारपसारले प्रत्येक वर्ष समस्या निम्त्याउने गरेकाे छ । नेपालकाे कानूनले समेत लागूऔषधलाई अवैध भनेकाे छ ।
मकवानपुरका उक्त स्थानमा अवैध रुपमा लगाइएका गाँजा तथा अफिम खेती निर्मुल पार्न नेपाल प्रहरी र स्थानीय सरकारले योजना बनाएर काम गर्दा समेत असफल भएका छन् । फँडानीकाे लागि वर्षकाे केही समयमात्र प्रहरी परिचालन हुने भएकाेले समेत गाँजा तथा अफिम उत्पादन बढ्दै गईरहेको देखिन्छ ।
मकवानपुरमा गाँजाको बिरुवा उम्रेर उत्पादनको तयारी हुने समयमा सयौँ प्रहरी जिल्लाको गाँजा खेती हुने कैलाश, राक्सिराङ, भीमफेदीको उत्तरी क्षेत्र, थाहा नगरका केहि भागमा परिचालन हुन्छन् र फडानीले तिब्रता पाउँछ । तर समस्या भने घटनुको साटो दिनानुदिन बढेको देखिन्छ । गाँजा उन्मुलन गर्दै तरकारी खेतीतर्फ आर्कषणको लागि स्थानीय पालिका तथा प्रहरी प्रशासनले सचेतना कार्यक्रम, तरकारीको विउ वितरणलगायतका कामहरु गर्दै आईरहे पनि मकवानपुरमा भने गाँजा रोप्ने, तस्करी गर्ने क्रम भने रोकिएको छैन ।
प्रहरीले वर्षेनी मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा लागूऔषध फँडानी गर्दै आएको छ तर ती क्षेत्रमा अझै पनि गाँजा र अफिमको अवैध खेती हुन भने राेकिएकाे छैन । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले केही समयअघि मात्रै लागूऔषधको विकल्पमा कफि खेती प्रवर्द्धन गर्न सुरु गरेको थियो ।
तर जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा र अफिम नष्ट अभियान सुरु गरेको छ । लागु औषधकाे खेती भएका स्थानमा गाँजा र अफिम खेती फँडानी गर्न मकवानपुर प्रहरीले आइतबार १ सय ३७ जना प्रहरी परिचालन गरेको छ । आइतबार प्रहरी निरीक्षकको कमाण्डमा मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा लागुऔषध फँडानी गर्न प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुर प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार ५५ जना प्रहरी राक्सिराङ गाउँपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडाका विभिन्न स्थानमा लागूऔषध फँडानीका लागि खटिएका छन् । प्रहरी निरीक्षकको कमाण्डमा ४० जना प्रहरी राक्सिराङको १, २, ३ र ४ नम्बर वडाका विभिन्न स्थानमा खटिएका छन् ।
यस्तै प्रहरी निरीक्षककै कमाण्डमा ४० जना प्रहरी कैलाश गाउँपालिकाको विभिन्न वडामा परिचालन गरिएको छ भने २ जना प्रहरी ड्रोनसहित खटाइएको भण्डारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे तथ्याङ्कमा समेत गाँजा तथा अफिम खेती बढेको पाईन्छ । प्रहरीले गाँजा तथा अफिम खेती फँडानी कार्यमा तीव्रता दिएकाे भएपनि जिल्लामा हुने खेती र तस्करीको क्रम भने हालसम्म रोकिएको छैन । अझ तस्करीको दर बढेको छ । मकवानपुरको राक्सिराङ र कैलाशमा उत्पादन हुने लागूऔषध गाँजा र अफिम भारत निकासी हुने गरेको पाइन्छ ।
मकवानपुर प्रहरीले चालु आर्थिक वर्षको करिब ४ महिनाको अवधिमा मकवानपुरमा लगाईएका १५ विगाहा गाँजाखेती फँडानी तथा नष्ट गरिसकेकाे तथ्याङ्क छ ।





