‘आगो लिएर गाउँ गाउँमा’ चाहार्ने कविको खोजी

कवि गणेश श्रमण (२०३१) मेरो नजरमा कविभन्दा पनि एक असल मित्र हुन्, रसिक यात्री हुन् र हुन् सच्चा देशका पहरेदार । उनीसँग पहिलो परिचय कहिले भयो ? मलाई तिथिमिति याद छैन । रसिक कवि धनराज गिरीको जस्तो तिथिमिति याद गर्ने दिमाग मेरो छैन । यति कुरा चाहिँ पक्का हो, चालीसको दशकको अन्त्यतिर आयोजित कुनै कविताको कार्यक्रममा गणेश र मेरो पहिलोचोटि भेटि भएको थियो ।

उनीसँग मित्रताचाहिँ बालकुमारी कलेजका कक्षाकोठामा प्रत्येक महिना सञ्चालन हुने चिसापका मासिक कवितागोष्ठीमा भएको हो । त्यो मित्रतालाई प्रगाढ बनाउने काम भने ‘शब्दहरू अविराम यात्रामा’ (२०५७) ले गरेको थियो । त्यसमा मलजल गर्ने काम मेरो वि.सं. २०६१ देखि २०६८ सम्मको बालकुमारी मा.वि.को शिक्षण अवधिले गर्‍यो । त्यो मित्रता आजसम्म कायम छ ।

साहित्यकार गणेश श्रमण गतिशील व्यक्तित्व भएका लेखक हुन् । उनी जस्तो लेख्छन्, त्यस्तै जीवनशैली बाँच्छन् । उनीसँग सुरुमा चिनजान हँुदा उनी गणेशप्रसाद शर्माका नामबाट कविता लेख्थे । त्यसपछि उनी जी.पी. शर्मामा रुपान्तरित भए । त्यसको केही समयपछि उनी गणेशप्रसादका नामबाट लेख्न थाले । त्यो क्रम पनि लामो समय टिकेन, फलतः समयका लागि उनी गणेश जोगी पनि भए । पछिल्लो समयमा उनी गणेश श्रमण भएर देखिएका छन्, के थाहा उनी त्यो नाम पनि छाडेर कहिले अर्को नाम लिएर आउने हुन् ?

नेपाली कविता र लघुकथाका क्षेत्रमा कृति नै प्रकाशित गरी लेखकका रूपमा दरिएका गणेश श्रमणको पहिलो प्रकाशित कृति ‘शब्दहरू अविराम यात्रामा’ (२०५७) नामक संयुक्त कवितासङ्ग्रह हो भने उनका एकल कविताका कृतिहरू ‘शब्दक्रान्ति’ (२०६६) र ‘आगो लिएर गाउँ गाउँमा’ (२०८०) हुन् । त्यस्तै उनको लघुकथाको कृति भने ‘गुलियो काठमाडौँ’ (२०७५) हो । उनी लेखन र प्रकाशनमा निरन्तर लागिपरेका लेखक हुन् । उनको लेखनमा समयअनुसार परिवर्तन भइरहेको छ ।

‘आगो लिएर गाउँ गाउँमा’ कवितासङ्ग्रह विविध भावका कविताहरूको सञ्चयन हो । यसभित्र चारवटा खण्डहरू छन् । पहिलो खण्ड ‘गाउँका कविता’ हो जसमा छवटा कविता समेटिएको छ । त्यस्तै दोस्रो खण्ड ‘प्रतिपक्ष’ हो, जसमा एक्काईसवटा कविता समेटिएको छ । त्यस्तै गरी तेस्रो खण्ड ‘प्रकृति’मा बाह्रवटा कविता र चौथो खण्ड ‘…र अनन्त’मा सोह्रवटा कविता समेटिएका छन् । यसरी यो कृतिमा कूल पचपन्नवटा फुटकर कविता सङ्गृहीत छन् । ती कविताहरू आयामका दृष्टिले घटीमा एक पृष्ठदेखि बढीमा पाँच पृष्ठसम्म फैलिएका छन् ।

नेपालको वास्तविक परिचय यहाँको गाउँहरूले दिन्छ । हामी आफ्नो परिचय पनि यही गाउँका आधारमा दिने गर्छौं । हिजो हाम्रो गाउँ थियो र आज हाम्रो परिचय छ । अब विस्तारै गाउँ हराउँदै जान थालेको छ । यसले भविष्यमा हाम्रो परिचयको सङ्कट निम्त्याउने निश्चित छ । यतिबेला हाम्रा कतिपय गाउँहरू नामले मात्र भए पनि नगरपािलका बनिरहेका छन् । विकासको पूर्वाधार कत्ति पनि छैन, छ त केवल करको थुप्रो । यसले हामीलाई कहाँ पुर्‍याउँछ कुन्नि ? यो चिन्ता कवि गणेश श्रमणमा पनि छ । यसमा समेटिएको पहिलो खण्ड ‘गाउँका कविता’मा त्यस्तै खालका छवटा कविता राखिएका छन् । यहाँ ‘आगो लिएर गाउँ गाउँमा’ कवितासङ्ग्रहमा गाउँको चित्रण कसरी भएको छ ? भनेर खोतल्ने काम गरिएको छ ।

‘गाउँको विकास’ शीर्षकको कवितामा कविले विभिन्न बाहना बनाएर गाउँका मानिसहरू सहर पस्ने क्रम हिजोदेखि आजसम्म निरन्तर रहेको धारणा राखेका छन् । यसले गर्दा गाउँ रित्तो रित्तो भएको छ । यसरी रित्तो भएको गाउँमा विकास कसरी सम्भ हुन्छ ? भनेर कविले यसरी प्रश्न गरेका छन् :
“सबैले छाडेको गाउँ
चुनावमा मात्र सम्झिएपछि
कसरी हुन्छ त
गाउँको विकास ।” (पृष्ठ, ५)

‘मोटर पुगेपछि’ शीर्षकको कवितामा कविले आफू निकैपछि गाउँमा जाँदा पुरानो गाउँ नभेटेर अधकल्चो सहरजस्तो, कुन्नि के के नमिलेको अवस्थामा गाउँलाई भेटेको कुरा गरेका छन् । गाउँको विरुप देखेपछि कवि गाउँका बारेमा यस्तो धारणा राख्छन् :
“थिए धेरै धेरै चिज गाउँमा
तर मेरो बाल्यकालको गाउँ थिएन
गाउँ, गाउँजस्तो थिएन ।” (पृष्ठ, ८)

‘गाउँ छाड्ने मान्छे’ शीर्षकको कवितामा गाउँ छाडेर अन्यत्र जाने हरेक मान्छेको मनमा गाउँ हुन्छ । छोडिजाने हरेक मान्छेलाई गाउँले सम्झना गरिरहेको हुन्छ । त्यसैले वास्तवमा गाउँ छाडिएको हुँदैन भन्ने भाव यसरी पोखेका छन् ः
“बसाइँ छाडेको गाउँ मनमै भएपछि
कसरी गाउँ छाडेको भन्नु ।” (पृष्ठ, ९)

‘घर’ शीर्षकको कवितामा कविले गाउँको घरमा हजुरबा, हजुरआमा, बा, आमा हुने कुरा लेखेका छन् । त्यति मात्र नभएर सानो बगैँचा, गोठ, खेतीपाती पनि हुनुपर्छ भन्ने कविको अभिमत छ । तर सहरको घर कस्तो हुन्छ ? भनी कविले यसरी प्रश्न गरेका छन् :
“यी त सब
गाउँको घरको कुरा भए
साँच्चै सहरको घर
कस्तो हुन्छ हँ ?” (पृष्ठ, ११)

‘गाउँमा जेल हँुदैन’ शीर्षकको कवितामा कविले गाउँमा स्वच्छता हुन्छ, दया, धर्म, इमान र विश्वास हुन्छ भन्ने धारणा राखेका छन् । यदि त्यसो नभए गाउँ गाउँ नै हुँदैन । गाउँमा कुनै कुकर्म हुँदैन, त्यसैले जेल हुँदैन भनेर यसरी आफ्नो विचारलाई कवितात्मक रूपबाट मुखरित गरेका छन् ः
“गाउँमा जेल हुँदैन
जहाँ जेल हुन्छ
त्यो गाउँ हुँदैन ।” (पृष्ठ, १३)

‘आगो लिएर गाउँ गाउँमा’ शीर्षकको कविता यो सङ्ग्रहको नामसँग पनि मेल खाने कविता हो । यसमा आगोलाई क्रान्तिभन्दा पनि चेतनासँग तुलना गरिएको छ । त्यसो त मान्छेको आजसम्मकै सबैभन्दा ठूलो आविष्कार भनेकै आगो हो । त्यो आविष्कार चेतना र विकाससँग सम्बन्धित छ । कविले गाउँमा अझै पनि अशिक्षा छ भन्ने धारणा राख्दै त्यसको विनाशका लागि आफू आगो बोकेर गाउँमा जान लागेको कुरा यसरी अभिव्यक्त गरेका छन् :
“जसका लागि
चेतनाको झिल्कोले
सारा बस्तीलाई
बनाउनु छ उज्यालो ।” (पृष्ठ, १४)

यो मूल खण्डबाहेक अन्य खण्डमा समेटिएका कवितामा पनि गाउँ आएको पाइन्छ । ‘साँझ घर फर्कने बजार’ शीर्षकको कवितामा सहरबजार त दिउँसोका लागि मात्र हो । साँझ बजार पनि गाउँतिर फर्कन्छ भन्ने भावलाई यसरी मुखरित गरेका छन् :
“साँझमा हतारहतार गरी
घर दौडिरहेका मानिससँगै
बजार पनि घर फर्कंदो रहेछ
….
बजारको घर त गाउँ रहेछ ।” (पृष्ठ, ८६–८७)

त्यस्तै उनको अर्को ‘यात्रा’ शीर्षकको कविता जीवनयात्रासँग सम्बन्धित छ । यसमा कविले जीवनमा गर्नुपर्ने कामका सिलसिलामा गाउँलाई यसरी सम्झना गरेका छन् ः
“नगरेका कति यात्राहरू छन्
गर्नै पर्नेछ एक दिन
नपुगेका कति गाउँहरू छन्
जानै पर्नेछ एक दिन ।” (पृष्ठ, १११)

कवि गणेश श्रमण शान्त स्वभावका कवि हुन्, उनमा उग्रताको लेश पनि छैन । उनी बोली र व्यवहारमा नरमपन भएका व्यक्ति हुन् । उनका कवितासङ्ग्रहका शीर्षकहरू भने ‘शब्दक्रान्ति’ र ‘आगो लिएर गाउँ गाउँमा’ जस्ता उग्र खालका राखिएका छन् । उनको कविताको मुख्य स्वर चेतना र परिवर्तन हो । ‘आगो लिएर गाउँ गाउँमा’ भित्रका कवितामा पनि उनले यहाँका गाउँ, बस्ती र सहरमा चेतनाको राम्रो विकास नभएको देखाएका छन् । यसर्थ त्यसका लागि उनी हातमा मशाल बोकेर हिँड्न तयार भएका हुन् । कविको काम कविताका माध्यमबाट समाजमा व्याप्त अन्धकार हटाउने हो । यसमा कवि पूर्णतः सफल छन् । उनको यो कृतिको पूर्ण सफलताको कामना गर्दै अन्य समीक्षकहरूले अरु कोणबाट विवेचना गरुन् भन्ने शुभेच्छाका साथ अहिलेलाई कमल रोक्छु ।

(समीक्षक प्रभात अक्षर समूह चितवनका अध्यक्ष हुन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट