राक्सिराङबासीलाई घरमै सामाजिक सुरक्षा भत्ता

मकवानपुर, १ कात्तिक ।
राक्सिराङ गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता घरैमा पुगेर वितरण थालिएकाे छ । दोस्रोपटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका राजकुमार मल्ल दसैं आउँदै गर्दा गाउँटोलमै सामाजिक सुरक्षा भत्ता लिएर बाँढ्न गएका छन् ।

बैंकका कर्मचारी समेतकाे टोलीले पालिकाकाे गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे थियाे । सामाजिक सुरक्षा भत्ता घरमै पाउँदा स्थानीय ज्येष्ठ नागरिकले ठूलो राहत महसुस गरेका छन् भने पालिका अध्यक्ष तथा कर्मचारीलाई ज्येष्ठ नागरिकलगायतका स्थानीयले स्याबासी दिएका छन् ।

विकट गाउँबाट गाउँपालिका कार्यालयमा रहेको बैंकमा भत्ता लिन आउँदा लामो समय हिँड्नुपर्ने र गाडी चल्ने ठाउँबाट पनि महङ्गो भाडा तिरेर ओहोरदोहोर गर्नुपर्ने बाध्यतालाई चिर्दै गाउँपालिकाले गाउँटोलमै सामाजिक सुरक्षा भत्ता लिएर पुगेकाे पालिका अध्यक्ष मल्लले बताए ।  सोमबार पालिका अध्यक्ष मल्लसहितकाे टोली वडा नम्बर ९ का  जनतालाई भत्ता वितरण गर्न पुगेको थियो । राक्सिराङ ९ नम्बर वडाको अठारे ह्याक्ती बस्ने ९१ वर्षीया बृद्ध गौरी सुनारलाई जेष्ठ नागरिक भत्ताको ३ महिना बराबरको रकम हस्तान्तरण गर्दै औपचारिक कार्यक्रम सुरुवात गरिएको थियो । वडा कार्यालयमा बैंकका कर्मचारीसहित पुगेका अध्यक्ष मल्लको टोलीले सोमबार करिब १ सय २० जना ज्येष्ठ नागरिक तथा अपाङ्गलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताइएकाे छ ।

सामाजिक सुरक्षा भत्ता वडा कार्यलयबाटै प्राप्त गरेपछि अधिकांश बृद्धबृद्धाहरुले आउँदा दिनहरुमा पनि यसैगरी प्राप्त गर्न गाउँपालिका अध्यक्षलाई अनुरोध गरे । वडा अध्यक्ष रामकुमार बाल्पा थिङले वर्षाका कारण बाटो बिग्रिएको र घण्टौं हिडेर गाउँपालिका कार्यालयसम्म पुगेर भत्ता लिन असहज भएकाले वडाबाटै भत्ता वितरण गरिएको बताए ।

गाउँपालिकाले राक्सिराङ ४ मा रहेको एक परिवारलाई दसैं मान्नको लागि खाद्यान्न तथा नगद सहयोग गरेको छ । खाद्यान्न प्याकेजमा चामल, तेल, दाल र नुन रहेको थियो भने अध्यक्ष मल्लले नगद सहयोगसमेत गरेका थिए । अभियानकै क्रममा स्थानीय युवाहरुलाई खेलकुदका सामग्री समेत हस्तान्तरण गरिएको थियो । पालिकाले यस अघि वडा नम्बर ६, ७ र ८ मा असोज २५ गते नै भत्ता वितरण गरिसकेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट