मकवानपुर, २५ असोज ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आम नागरिकहरू सरकारको कामसँग सन्तुष्ट हुन नसकेको बताएका छन् । बिहीबार हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्डको उद्घाटन गर्दै मन्त्री जोशीले सरकार र सरकारका निकायबाट प्रवाह हुने सेवाबाट नागरिकहरू खुसी हुन नसकेको बताएका हुन् । उनले सरकार र सरकारी निकायबाट प्रवाह हुने सेवाका विषयमा कर्मचारीहरू पनि जिम्मेवार ढङ्गबाट अघि बढ्नु पर्ने बताए ।
कर्मचारीहरूले सरकारका निर्णयलाई सही र सरल ढङ्गबाट कार्यान्वयन गराउन नसक्दा समस्या भएको उनको भनाइ छ । पछिल्लो समय प्रदेश सरकार मातहत रहेका प्रादेशिक अस्पतालका सेवा प्रति नागरिकहरूको गुनासो बढ्दो क्रममा रहेको उनले बताए । सरकार र कार्यरत कर्मचारीहरूको सहकार्यमा उक्त गुनासो सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
‘आम नागरिकहरू सरकार र कर्मचारीसँग खुसी छैनन् । प्रादेशिक अस्पतालका सेवामाथि गुनासो बढ्दो छ । त्यसका लागि सुधारका काम गर्नुपर्छ ।’ उनले भने, ‘सरकारले मात्र गरेर हुँदैन । सबैले मिलेर सुधार गर्ने हो । अस्पतालको सेवा सुधारका लागि काम गर्नुहोस् । कहाँ सहयोग गर्नुपर्छ म प्रतिबद्ध छु । सरकारको निर्णयलाई कार्यान्वयन गर्नुहोस् । पारदर्शी र जिम्मेवार भएर जनताले थाहा हुने गरी काम गर्नुहोस् ।’





