मकवानपुर, २५ असोज ।
हेटौंडा अस्पतालमा मानसिक रोगबाट प्रभावितकाे लागि मनाेचिकित्सा वार्ड सञ्चालनमा आएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई लक्षित गरी २५ शय्याकाे मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याएकाे हो ।
मनाेचिकित्सा वार्डको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले उद्घाटन गरेका छन् । ‘हेटौँडा अस्पातललाई प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा विकास गरिनेछ’ मन्त्री जोशीले भने । मानसिक स्वास्थ्यका कारण आत्महत्या बढेकाले यसको न्यूनीकरणका लागि उपचार सेवा थप गर्नुपरेको उनकाे भनाइ छ । प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीले अस्पतालमा मानसिक स्वास्थ्यको उपचार थप गरिएकाे र अन्य सेवा पनि थप गर्ने योजनामा अस्पताल प्रशासनले काम गरिरहेकाे जानकारी दिए ।
प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले यसअघि ओपीडीबाटै मानसिक समस्या भएका बिरामी उपचार गरिँदै आएकोमा वार्ड संचालनपछि उपचार गर्न सहज हुने बताए । अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै २५ शय्या क्षमताको मनोचिकित्सा वार्ड सञ्चालनमा आएसँगै मकवानपुरलगायतका छिमेकी जिल्लाका बिरामीलाई सहज हुने भएको छ ।
गत असारबाट हेटौंडा अस्पतालमा एक जना मनोरोग विशेषज्ञ नियुक्त भइ ओपीडीमार्फत् सेवा प्रवाह गर्दै आएको अस्पताल प्रशासनले जनाएकाे छ । हाल सेवा विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवासमेत सञ्चालन सुरु भएको हो । वार्ड सञ्चालनका लागि एक जना विशेषज्ञ चिकित्सक नियुक्त भइसकेको र थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको छ ।
प्रतिष्ठानमा चालु आर्थिक वर्षबाट एमडी साइक्याट्रिक वा मानसिक रोग विशेषज्ञकाे लागि शैक्षिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको प्रसाइले बताए । आगामी आर्थिक वर्षदेखि हेटौंडा अस्पतालमा ३ जना मनोचिकित्सक नियुक्त गरी मकवानपुरका विभिन्न पालिकामा शिविरका रुपमा मनोचिकित्सा सेवा प्रवाह गर्ने योजना रहेको उनले जानकारी दिए ।
प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौंडामा रहेको मानव सेवा आश्रममा ३० शय्या क्षमताको मानसिक स्वास्थ्य पुनर्स्थापना केन्द्र स्थापनाको तयारी समेत भइरहेको बताइएकाे छ । अस्पतालले मानसिक स्वास्थ्य उपचारका लागि २ बजेदेखि ५ बजेसम्म विस्तारित ओपीडी सेवा संचालन गर्ने जनाएको छ ।





