खेलमा पाएको पुरस्कार छात्रवृत्तिलाई

देवचुली, २२ असोज ।
देवचुलीमा विभिन्न प्रतियोगितामा प्राप्त गरेको पुरस्कारको रकमबाट १ जना किशोरीलाई छात्रवृत्ति प्रदान गरिएको छ । देवचुली नगरपालिका महिला भलिबल टिमद्वारा देवचुली-९ को कालिका माध्यमिक विद्यालयमा पढ्ने सोनिका भण्डारीलाई पढाईका लागि ५ हजार रुपैयाँ छात्रवृत्ति सहयोग गरेका हुन् ।कक्षा ९ मा पढ्ने सोनिका भलिबल खेलाडी हुन् ।

महिला भलिबल टिमले तीजको अवसरमा मध्यबिन्दु-३ लेडामा आयोजित भलिबल प्रतियोगितामा प्रथम भई ८ हजार रुपैयाँ र जितियाको अवसरमा मध्यबिन्दु १ पतबारीमा प्रथम भई १५ हजार रुपैयाँ प्राप्त गरेको कप्तान प्रियंका रानाले बताइन् । आफ्नै साथीलाई पढाइमा निरन्तरता दिँदै खेलमा लाग्न उत्प्रेरित गर्न छात्रवृत्ति प्रदान गरिएको उनले बताइन् ।

कालिका माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि सागर भुसाल, प्रधानाध्यापक रेशम कोइराला, देवचुली नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर थापा, सचिव प्रकाश काफ्ले, समाजसेवी रामप्रसाद पन्त, कृष्ण आलेलगायतको उपस्थितिमा भलिबल टिमका खेलाडीहरूले छात्रवृत्ति रकम हस्तान्तरण गरेका छन् ।

खेलमा सक्रिय किशोरीहरुको पढाइमा खेलले कुनै असर नगरेको कालिका माध्यमिक विद्यालयका रेशम कोइरालाले बताए । विद्यालयले पढाई मात्रै नभई अतिरिक्त क्रियाकलाप समेत सहयोग गरिरहेको बताउँदै विद्यालयका किशोरीहरुले भलिबलका विभिन्न प्रतियोगिता जित्न सफल हुँदा विद्यालय, नगरपालिका तथा जिल्लामा नै परिचित हुने अवसर पाएको बताए । खेलाडी किशोरीहरुलाई विद्यालयले प्रदान गर्ने छात्रवृत्तिमा प्राथमिकता दिइने उनले प्रतिबद्धता व्यक्त गरे ।

देवचुली नगरपालिका महिला भलिबल टिममा ७ जना सिनियर खेलाडी र १५ जना जुनियर खेलाडी निरन्तर खेल अभ्यासमा रहेको नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर थापाले बताए । खेलाडीहरु कालिका मावि र भीमसेन आदर्श माविका विद्यार्थी हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट