भरतपुर, २१ असोज ।
भरतपुर- ११ स्थित मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरी एकेडमीका बालबालिकाले किनमेल गरेका छन् ।बालबालिकालाई किनमेल गर्न सिकाउनुका साथै पैसाको महत्व बुझाउन सपिङ गराइएको मन्टेश्वरीका सञ्चालक गणेश रानाले बताए । उनले बालबालिकालाई घरायसी समान किनमेल गर्न सिकाइएको बताए । 
यसका साथै सपिङ मलमा जाँदा के गर्न हुन्छ, के गर्न हुँदैन भनेर ज्ञान दिन पनि बालबालिकालाई सपिङ गराइएको उनको भनाइ छ । भरतपुर- ११ मुक्तिनगर चोकमा रहेको पूरानो सपिङ सेन्टर होप दि डिपार्टमेन्टल स्टोर्समा लगेर बालबालिकालाई किनमेल गराइएको हो ।
अभिभावकले दिएको पैसाबाट बालबालिकाले सपिङ गरेका हुन् । पैसाको महत्व बुझाउन तथा पैसा दिएपछि मात्र कुनै सामान पाइन्छ भन्ने ज्ञान दिलाउन बालबालिकालाई किनमेल गराइएको उनको भनाइ छ । 
अभिभावकहरु बालबालिकालाई लिएर सपिङ मल जाँदा बालबालिकाले जथाभावी समान चलाउने, गोजीमा हाल्ने गर्न सक्छन् । त्यो गर्नु हुँदैन भन्ने कुराको ज्ञान पनि किनमेलका क्रममा सिकाइएको रानाले बताए ।
साथै जङ्कफुड र हेल्दीफुडको बारेमा पनि ज्ञान दिइएको थियो । जङ्कफुड खान हुन्न भन्ने ज्ञान बालबालिकालाई दिइएको थियो । आफूलाई आवश्यक परेको समान मात्र किन्नुपर्छ । नचाहिने समान किनिदिनुस् भनेर बाआमालाई दु:ख दिनुहुन्न भन्ने कुरा बालबालिकालाई सिकाइएको थियो । 
मन्टेश्वरीको क्षेत्रमा ब्राण्डका रुपमा स्थापित बनेको स्टार्श मन्टेश्वरीले बालबालिकालाई समयसमयमा यस्ता खालका व्यावहारिक शिक्षा दिँदै आएको छ ।





