म विगत एक हप्तादेखि कवि लालगोपाल सुवेदीको गीतिनाटक ‘राहुल–यशोधरा संवाद’ पढिरहेको छु । एक पटक पढेर चित्त नबुझेर दोहोर्याएर पढिसकेँ । म त्यसरी कमै मात्र किताब पढ्छु । कि अनुसन्धान गर्नुपरे पढ्छु, कि पढाउनु छ भने पढ्छु । नत्र त त्यो समयमा अर्को किताब पढ्ने बानी छ मेरो । आज राति पढ्दा पढ्दै निद्रा लागेर सिरानी छेउमा किताब राखेर सुतेको याद छ ।
केही बेरमा म सपनाको दुनियाँमा पुगेछु । सपनामा खै कसरी हो, एउटा भव्य महलको छेउमा पुगेछु । गेटबाहिर आराम कुर्सी राखिएको रहेछ । थकाइ लागेजस्तो भएकाले यताउति हेरेर त्यसमा टुसुक्क बस्न पुगेँ म । परबाट तीस बत्तीस वर्षकी देखिने एउटी वीतरागी जस्ती देखिने सामान्य पोसाकमा आफूलाई ‘यशोधरा’ भन्न रुचाउने एउटी महिला मेरो छेउमा बस्न आइन् । मैले कत्ति पनि नचिनेकी उनी मसँग खुलेर संवाद गर्न थालिन् ।
यशोधरा : ओ कविजी नमस्कार । यहाँ के गर्दै हुनुहुन्छ ?
म : नमस्कार म्याम, यहाँलाई अलिक चिनिनँ नि ?
यशोधरा : के चिन्नुहुन्थ्यो त ? म यस लोकको परिनँ ।
म : यस लोकको परिनँ रे ! भन्नुको मतलब ?
यशोधरा : हो, म राहुलकी बाबु हुँदाहुँदैकी एकल आमा, सिद्धार्थकी परित्यक्ता पत्नी र दरबारभित्रको सुखसयलका बीचमा पनि जोगिनी जीवन बाँचेकी कसैको ध्यान नपुगेकी उही वीतरागी यशोधरा हुँ ।
म : मतलब तपार्इं पौराणिक पात्र यशोधरा ?
यशोधरा : हो, अब चाहिँ बिल्कुल सही पहिचान गर्नुभयो यहाँले ।
म : यशोधराजी, मैले त पत्याउनै सकिरहेको छैन यहाँको कुरा ।
यशोधरा : तपाईंले नपत्याए पनि म त्यही हतभागी यशोधरा हुँ ।
(उनी कुराको प्रसङ्ग अर्कोतिर मोड्छिन् ।)
अँ साँच्ची, तपाईंको हातमा त किताब रहेछ । यतिबेला चाहिँ त्यो के पढ्दै हुनुहुन्छ नि ?
म : हो, यो प्रविधिको दुनियाँमा मचाहिँ यतिबेला इलेक्ट्रोनिक गजेट छोडेर किताबै पढ्दै छु । अझ नढाँटी भनूँ ? म यी किताबमा तपाईंलाई नै पढ्दै छु ।
यशोधरा : मलाई पढ्नुको खास कारण केही थियो कि ? यो संसारमा पढ्नलायक अरु कुनै विषय थिएनन् र ?
म ः छन्, प्रशस्त विषय छन् पढ्का लागि । यतिबेला नेपाली साहित्यमा पढ्नयोग्य सामग्रीको कमी नै छैन । तैपनि यतिबेला मेरो रोजाइमा तपाईसँग सम्बन्धित विषयवस्तु परेका छन् । फुटकर रचनामा चित्त नबुझेर तपाईको बारेमा लेखिएको गीतिनाटक पढ्दै छु म ।
यशोधरा : तपाईंले यो कृति पढेर मेरो बारेमा के थाहा पाउनुभयो त ?
म : यसमा मैले तपाईका बारेमा धेरै कुरा थाहा पाएँ । यसअघि बुद्धले बुद्ध हुनुअघि यशोधरालाई केही नभनी दरबार छोडेका थिए भन्ने कुरा पढेको थिएँ । यो कृतिमा तपाईको अनुमति लिएर सिद्धार्थले गृहत्याग गरेका रहेछन् भन्ने नयाँ कुरा पनि थाहा पाएँ । उनी तपाईलाई जानकारी दिएर तपस्याका लागि गएका पो रहेछन् हगि ?
यशोधरा : हो नि । मैले रोक्न नखोजेको चाहिँ होइन । उनले मेरो कुरा माने पो । त्यसपछि उनको तपस्यामा म बाधक बन्न चाहिनँ । अनि, हरेक सफल पुरुषका पछाडि एउटी नारीको हात हुन्छ भन्ने कुरा त पढ्नु भएकै छ नि हैन र ?
म : ए हो नि, तपाईको सहयोग बिना त्यो कसरी सम्भव हुन्थ्यो हगि ?
यशोधरा : हो नि । अनि राहुलका बारेमा चाहिँ नयाँ कुरा के थाहा पाउनु भयो नि ?
म : उनको चञ्चले स्वभावका बारेमा त पहिल्यै पढेको हुँ । सानैमा उनी पिताजस्तै गहिरो खालको दार्शनिक कुरा गर्दा रहेछन् भन्ने नयाँ कुरा थाहा पाएँ ।
यशोधरा : अनि सिद्धार्थ र उसको पितामाताका बारेमा नि ?
म : सिद्धार्थका बारेमा त यसअघि नै धेरै पढेको हुँ । लेखकले पनि त्यसमा त्यति मेहनत गरेका रहेनछन् भन्ने लाग्यो । तथागतका बारेमा यो कृतिमा केही नयाँ भेटिनँ मैले । बरु सिद्धार्थका बुबा शुद्धोधनले यहाँसँग माफी मागेको कुरा र माता गौतमीले पनि आफ्नो लालन पालनमा खोट देखेर खेद मानेको कुराले चाहिँ मलाई निकै मन छोयो ।
यशोधरा : तपाईलाई कृतिमा वर्णित त्यो बेलाको समाज कस्तो लाग्यो त ?
म : यो कृतिमा त्यो बेलाको समाज चित्रणमा लेखकको ध्यान पुगेको जस्तो लागेन । हो, एक ठाउँमा सिद्धार्थले दरबार छाडेपछि कालुदायी अमात्यले गाउँलेका सामु गीतका माध्यमबाट बताउँदा गाउँले छक्क परेर सुनेका सन्दर्भ भने मलाई राम्रै लागेको थियो ।
यशोधरा : तपाईंलाई यतिबेलाको समयमा सिद्धार्थ जन्मिएको भएको भए ज्ञान प्राप्त गर्न के गर्थे होलान्, जस्तो लाग्छ ?
म : यतिबेला ज्ञान प्राप्त गर्ने विविध तरिकाहरू छन् । अनुसन्धान गरेर, गुरुको सङ्गतमा गएर, आफैँले पढेर, प्रविधिका माध्यमबाट खोजेर जसरी पनि आफूलाई चाहिएको चिज पाउन सकिन्छ । मेरो विचारमा यतिबेला सिद्धार्थ जन्मेको भए दरबारमै हुन्थेनन् किनकि नेपाल गणतन्त्रमा गइसकेको छ । उनी सम्पन्न घरमा जन्मेका हुन्थे भने मैले माथि भनेका कुनै उपाय प्रयोग गर्थे होलान् भन्ने लाग्छ ।
यशोधरा : कवि लालगोपालले आफ्नो नाटकमा छोरा राहुलले मलाई म्वाइ खाँदा ममा सिद्धार्थको सम्झना गराउँदै वासना पलाएको देखाएछन् । तपाईलाई पनि त्यस्तै लाग्छ ? यो अति भएन ?
म : सपनाको सन्दर्भ ल्याउँदै कविले त्यसो गरेका छन् । मैले यो कृति पढेर अन्य सन्दर्भमा तपाईको व्यवहारमा त्यस्तो केही देखिनँ । लेखकले अनावश्यक चर्चा कमाउन त्यसो गरेका हुन् कि ? भूलवश त्यसो गरिएजस्तो पनि कतै लाग्दैन । कि कविले नारीलाई कमजोर देखाउन खोजेका हुन् त ?
यशोधरा : त्यसो भए नारी भन्दैमा हेप्नै पर्ने हो त ?
म : जरुर होइन । अझ तपाईजस्तो दरबारभित्रै बसेर निर्वाण प्राप्त गरेकी नारीका हकमा त बिल्कुल सुहाउँदो सन्दर्भ होइन त्यो ।
यशोधरा : कविले त्यो किताबको सत्ताइसौँ गीतमा माता प्रजापति र मेरो संवादका क्रममा मेरो मुखबाट “देख्दै छु पूर्वको नारीवाद” भनेर बोल्न लगाएका छन् । म कहाँको आजभन्दा करिब तीन हजार वर्ष पूर्वको नारी अनि नारीवाद आजभन्दा करिब एक सय वर्ष अगाडि पश्चिममा जन्मेको सिद्धान्त, यसरी तुलना गरेर मेरो अपमान गर्न मिल्छ त समीक्षकज्यू ?
म : हो, यहाँले सही कुरा उठाउनु भयो । यो कुरा मलाई पनि मन परेको छैन । बरु उनले नारीचेतना, नारीशक्ति, नारीभावना यस्तै केही भनेको भए हुन्थ्यो भन्ने मलाई पनि लागेको थियो ।
यशोधरा : उक्त कृतिमा मैले दोस्रो विवाह नगरेको ठिकै लाग्यो त तपाईलाई ?
म : विवाह व्यक्तिका लागि मूलतः यौवनको र समाजका लागि सन्तान प्राप्तिसँग सम्बन्धित एउटा आवश्यकता हो भन्ने ठान्छु म । यो अनिवार्य कुरा होइन भन्ने ठहर छ मेरो । यहाँले सिद्धार्थसँग धुमधामसँग एउटा विवाह गरिहाल्नुभएको थियो । उसबाट छोरो पनि जन्मेकै थियो । फेरि अर्को विवाह गरेर थप सन्तान जन्माउने र थप दुःख झेल्नुको औचित्य के थियो र ?
यशोधरा : मलाई पनि त दोस्रो विवाहको प्रस्ताव नआएका हुन् र ?
म : मलाई यस बारेमा पहिला केही थाहा थिएन । यो कृति पढेपछि भने त्यस बारेमा थाहा भयो । तर यो सन्दर्भ त्यति महत्वपूर्ण हो भन्ने मान्दिनँ म ।
यशोधरा : कविले मेरो भाषामाथि न्याय गरेका छन् जस्तो लाग्छ तपाईलाई ?
म : हेर्नुस् यशोधराजी, म हिन्दु धर्म मान्ने नेवार हुँ । म बौद्धमार्गका बारेमा त्यति जान्दिनँ । संस्कृत भाषा पढिएन । पाली भाषा सिकिएन । तपाईको समयमा कस्तो समाज थियो ? कस्तो भाषा बोलिन्थ्यो ? मलाई केही जानकारी छैन । अहिले मसँग यतिबेलाकै भाषामा कुराकानी गरिरहनुभएको छ । त्यसो भएकाले त्यसबारेमा म केही बोलिहाल्ने पक्षमा छैन ।
यशोधरा ः कविले बालक राहुललाई बढी बोल्न लगाएकोजस्तो लाग्दैन तपाईलाई ?
म : यसका बारेमा भने मलाई पनि लागेको हो । पन्ध्रौँ र सोह्रौँ गीतमा राहुलको उमेर कति हो ? त्यस्तै छब्बीसौँ गीतमा उसको उमेर कति हो ? कृतिमा राम्ररी यकिन भएको छैन । एउटा बालकले त्यति गहन कुरा कसरी गर्न सक्छ ? भाषामा त्यति निखार कसरी आउनसक्छ ? यसबारेमा मैले पनि सोचेको हुँ । बरु कविले दोहोर्याएर सोच्न भ्याएनन् कि ?
यशोधरा : कविले मेरो मनोविज्ञानमाथि खेलेको जस्तो लाग्दैन तपाईंलाई ?
म : यो निकै विचारणीय प्रश्न हो । यो गीतिनाटक मनोवैज्ञानिक प्रकृतिको रचना कदापि होइन । बरु यहाँको विचारलाई प्रकट गर्नका लागि लेखिएको जस्तो लाग्छ मलाई । यसमा पुरुष मनोवृत्ति हावी भयो कि ?
यशोधरा : त्यसो भए कवि भएर फराकिलो मन बनाउने कि साँघुरो ?
म : यस बारेमा कविले सोच्नुपर्छ भन्ने निष्कर्ष हो मेरो । म कुनै माध्यमबाट कविजीसँग यहाँको गुनासो पु¥याउने प्रयास गर्नेछु ।
यशोधरा : फेरि भन्छु, म त कविसँग प्रत्यक्ष संवाद गर्न सक्दिनँ । तपाईले मेरा कुरा भनिदिनुहुन्छ कि तपाईको समीक्षामार्फत् !
म : बिल्कुल, मैले पहिले नै भनिसकेँ । म यसमा जरुर काम गर्नेछु । तपाई ढुक्क हुुनुहोस् ।
यशोधरा : म वीतरागी महिला । यसरी एकोहोरो कहिल्यै बोलिनँ । यहाँ तपाईसँग मैले मात्र एकोहोरो प्रश्न सोधिराखेँ । तपाईँलाई दिक्क त लागेको छैन नि ?
म : म त लेखक कम पाठक र स्रोता ज्यादा हुँ । यसरी तपाईसँग कुरा गर्न पाउँदा म त धन्य भएको छु । तपाईसँग बोल्न पाउनु, तपाईका जिज्ञासाको समाधान गर्ने प्रयास गर्न पाउनु मेरो अहोभाग्य हो ।
यशोधरा : छुट्टिनुअघि यौटा प्रश्न, तपाईका पनि मसँग केही जिज्ञासा थिए कि ?
म : मेरो त्यस्तो धेरै जिज्ञासा केही छैन । तपाईसँग एउटा मात्र जिज्ञासा छ, तपाईंलाई यतिबेला सिद्धार्थको कत्ति पनि सम्झना आउँदैन त माते ?
यशोधरा : आउँछ नि । किन नआउनु ?
म : त्यतिबेला के गर्नहुन्छ त ?
यशोधरा : केही गर्दिनँ, आँखा चिम्लन्छु र विगततिर ध्यान दिन्छु ।
म : माते, यहाँसँग कुरा गर्दा मलाई आनन्द आयो ।
यशोधरा : मलाई पनि आफ्नो कुरा समीक्षकसँग भन्न पाउँदा मन हलुङ्गो भएको छ ।
मेरो आँखा खुल्दा बिहानको दश बजिसकेको थियो । आज शनिबारको छुट्टी भएर होला मलाई उठाउन श्रीमती, छोरा, छोरी कोही पनि आएनछन् । बिछ्यौना छेउको टेबुलमा चियामा हिउँ जस्तै जमिसकेछ । उठ्नासाथ मुखै नधोई लेख्न थालेँ, तात्तातो सपनाको संवाद । उनीसँगको त्यो संवाद रिट्ठो नबिराई जस्ताको त्यस्तै यहाँहरू समक्ष प्रस्तुत गरेको छु । मलाई आशा छ यो संवाद यहाँलाई पनि राम्रै लाग्ला ।





