खैरहनी, १४ असोज ।
खैरहनी नगरपालिकामा ब्यूटीपार्लर तालिम सुरु भएको छ । यसअघि नगरपालिका तथा वडाहरूमा संचालित आधारभूत ब्यूटिसियन तालिम लिएकाहरु मध्येबाट ३३ जना महिलाहरूलाई गरिबी निवारणका लागि लघु उद्यम विकास
कार्यक्रम अन्तर्गत ७५ दिनको व्युटिसियन एडभान्स तालिम दिन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
व्युटिसियन तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाले नगरपालिकाले दिएको आधारभूत तालिमले व्यूटिसियनको जग बसालेको बताउँदै यसलाई पूर्ण बनाउन एड्भान्स तालिमको
सुरुवात गरिएको बताए । तालिमबाट सहभागीहरूको व्यक्तित्वको विकास पनि भएको बताउँदै नगर प्रमुख खनियाले यस्ता कार्यक्रमहरूले महिला दिदीबहिनीलाई आत्मनिर्भर बनाउँदै उनीहरूको सशक्तिकरणमा सहयोग पुर्याउने उल्लेख गरे । उनले तालिम लिएकाहरु मध्येबाट व्यावसायिकरूपमा काम गर्न चाहनेहरुलाई नगरपालिकाले बीउ पुँजी दिने गरि बजेट विनियोजन गरेको बताए ।
आगामी दिनमा यस्ता तालिम दिने कि नदिने भन्ने परीक्षणको क्षणमा रहेको भन्दै अहिलेका तालिमहरू उपलब्धिमूलक भए मात्रै आगामी दिनमा तालिमहरूलाई निरन्तरता दिने उनले प्रस्ट पारे ।
कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत विष्णु सापकोटाले तालिममा सिकेका कुरालाई अवसरको रूपमा लिएर व्यवहारमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरे । तालिममा सिकेका कुरालाई उपयोग गरेर सहभागीहरू व्यूटी पार्लर खोल्ने वा अन्य माध्यमबाट व्यावसायिक बन्न सकेमा तालिमको सार्थकता हुने बताए ।
तालिम उद्घाटन कार्यक्रममा खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेती, प्रशिक्षक रेश्मा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।





