भरतपुर, ६ असोज ।
गजल मञ्च चितवनले `द्वारिका नेपाल गजल स्मृति पुरस्कार- २०८०´ गजलकार कमल अर्याल धादिङेलाई प्रदान गर्ने निर्णय गरेको छ । शनिबार बसेको मञ्चको बैठकले रत्ननगर निवासी अर्याललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
आगामी असोज २७ गते एक कार्यक्रमबीच अर्याललाई पुरस्कार प्रदान गरिने मञ्चका अध्यक्ष लेखराम सापकोटाले जानकारी दिए । पुरस्कारको राशि रु. २५ हजार र सम्मानपत्र रहेको छ ।
गजल मञ्च चितवनका पूर्वअध्यक्ष स्व. द्वारिका नेपालको नाममा यो पुरस्कार स्थापना गरिएको हो । २०७९ सालमा स्थापना गरिएको पुरस्कार पहिलोपटक कालिका नगरपालिका निवासी गजलकार मुक्त उदासलाई प्रदान गरिएको थियो । गजल मञ्च चितवनमार्फत स्व. द्वारिका नेपालको नाममा रहनेगरी यो पुरस्कार स्थापना गरिएको हो । भरतपुर-५ घर भै हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका डिला खरेलले पुरस्कार स्थापना गरेका हुन् ।
अर्याल २०५५ सालदेखि गजल लेखनमा निरन्तर सक्रिय छन् । उनका तिमी आउनु अघि (२०७१), तिमी आएपछि (२०७३) र लौरो (२०७५) गरी तीन वटा एकल तथा ई प्रतिनिधि नेपाली गजल, हैसियत-२, शब्द शिविर, अक्षरहरूको पिरामिड गरी ४ वटा संयुक्तगजलसङ्ग्रह प्रकाशित छन् । त्यसैगरी अर्यालले लेखेका ६ वटा गजल विभित्र गायकको आवाजमा सांगीतिकरूपमा आएका छन् । उनी हाल काव्यकुञ्ज साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष छन् ।





