भरतपुर, ६ असोज ।
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २८ औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार सबै शाखा कार्यालयमा विस्तारित मञ्च कार्यक्रम आयोजना गरेको छ ।
विस्तारित मञ्च कार्यक्रममा ७९/८० को वार्षिक प्रगति प्रतिवेदन तथा ८०/८१ को प्रस्तावित नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन, प्रस्तावित लक्ष्य तथा बजेट, लेखापरीक्षण प्रतिवेदन, आन्तरिक नीति तथा कार्यविधिलगायत छलफल गरिएको अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिए । आगामी असोज २० गते र २७ गते साधारणसभाका थप कार्यक्रमहरू राखिएको उनले बताए ।
विस्तारित मञ्चका कार्यक्रममा नारायणगढ शाखाले केही सदस्यहरूलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरूमा उत्कृष्ट कारोबारतर्फ रमिला पन्त, दीपक सुवेदी, हिमा सापकोटा, डिल्लीराज पौडेल, समुद्र रेग्मी रहेका छन् । त्यसैगरी असल ऋणीतर्फ अनिता घिमिरे र प्रतीक्षा क्षेत्री, उत्कृष्ट बालबचतकर्तातर्फ सुजल श्रेष्ठ र एरिका आचार्य तथा बचतमा अधिक ब्याज प्राप्त गर्नेतर्फ मानप्रसाद भट्टराईलाई सम्मान गरिएको नारायणगढ सेवाकेन्द्र संयोजक चन्द्रमणि अधिकारीले जानकारी दिए । शनिबार किसानका २४ वटै शाखामा कार्यक्रम आयोजना गरी विभिन्न शीर्षकमा सदस्यहरूलाई पुरस्कृत र सम्मान गरिएको नारायणगढ शाखा प्रमुख भरतप्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रममा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष शंकर घिमिरे प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै घिमिरेले किसान बचतले स्थानीय व्यवसायीलाई आर्थिकरूपमा राहत मिल्नेगरी कार्यक्रम ल्याएर सेवा प्रवाह गर्न सुझाव दिए । कार्यक्रममा पुस्तक व्यवसायी उद्योगविक्रम बानियाँ, विनोद ढकाल, वीरबहादुर न्यौपानेलगायतको उपस्थिति थियो ।विस्तारित मञ्च कार्यक्रमलाई लेखा अधिकृत अर्जुन पौडेलले सहजीकरण गरेका थिए ।





