किताबको पहिलो पाठमै विनोदबाबु रिजालले सोधेका छन्, कैलाश कोइरालालाई तपाइँले कसरी चिन्नुहुन्छ ? कुरा यहीँबाटै सुरु गरौं । खासमा यहाँ चर्चा गर्न गइरहेको भने कैलाश कोइरालाको उपन्यास ‘राजव्यूह’माथि हो । तर पहिला लागौं विनोदबाबुले सोधेको प्रश्न तर्फ नै । त्यो ५५ साल तिरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुनु पर्दछ । मैले कैलाशलाई ख्याल गरेको त्यही बेलादेखि नै हो ।
यता वीरेन्द्र क्याम्पसतर्फ उनका दाजु विकास कोइरला विद्यार्थी राजनीतिमा जमेका थिए । चर्चामा विकास नै थिए । कैलाश सप्तगण्डकी क्याम्पसमा स्ववियु निर्वाचनमा सभापति पदका उम्मेद्वार हुँदै थिए । सो क्याम्पसमा मेरा एकजना साथी थिए सुरेन्द्र एमसी । स्ववियु निर्वाचनको छेको पारेर म सुरेन्द्रलाई भेट्न त्यहाँ गएको थिएँ । सुरेन्द्र त्यो बेलामा पनि स्ववियुमा थिए र आउँदो निर्वाचनमा पनि आकांक्षी थिए । उनी अखिल पक्षका थिए । कैलाश नेवि संघका ।
स्ववियु निर्वाचनको उम्मेद्वारी दर्ता भएको थिएन । उम्मेद्वार छान्न रस्साकस्सी थियो । अखिलहरु संयुक्त भएर चुनाव लड्ने हुँदा पद र संख्या मिलाउन महाभारत थियो । मैले सुरज तिवारी र अहिले राजनीतिमा नभएका सन्तोष जोशीलाई देखेको पनि त्यही बेलामा हो । क्याम्पसभित्र नारायणी मावि तिरको किनारामा एउटा समूह थियो । त्यो समूहलाई देखाउँदै सुरेन्द्रले भने ‘उ त्यहाँ नेवि संघको टोली छ । उम्मेद्वारहरु टुङ्गो लगाएर मजाले बसेको छ ।’ त्यही समूहमा रहेका कैलाशलाई पनि चिनाउँदै सुरेन्द्रले भने ‘विकासको भाइ ।’
मलाई त्यो बेलाको कैलाश अहिले पनि याद आइरहन्छ । दुईवटा हातको पार लगाउँदै आफ्नो समूहलाई केही भनिरहेको । कुरा सकिएपछि क्याम्पसको मैदानमा चारैतिर नजर डुलाएर एउटा हात मोडेर दाहिने कोखिला मुनी लगेको र दाहिने हात चिउँडोमा पुर्याएर बडा आत्मविश्वासी भाव छरेका थिए उनले ।
वीरेन्द्र क्याम्पस पढ्ने मेरा एकजना दाइ थिए रामु गौतम । उनी दाइ कम साथी बढी थिए । उनले विकास कोइरालाका कुरा गर्दथे बेलाबेलामा । यो त्यही ५४/५५ सालकै कुरा हो । विकास भाषण गर्दथे रे ‘हामी बच्चामा एउटा भुनुनुनु गर्दै आउने ठुलो किरा देखेर निकै तर्सन्थ्यौं । तर हामीलाई बाले भन्नुहुन्थ्यो, बाबु नडरा, गोबरमा बस्ने यो किराको आवाज मात्र ठुलो हो । केही गर्न सक्दैन । र आफै भित्तामा गएर बजारिन्छ ।’ विकासले त्यो किरालाई कम्युनिष्टसँग दाँज्दै भन्थे रे ‘कम्युनिष्ट पनि यस्तै हुन् । कराउने कराउने र आफै सकिने खालका ।’
कैलाश कोइरालाले स्ववियु निर्वाचन त जित्न सकेनन् तर विद्यार्थी राजनीतिमा स्थापित हुँदै गए । उनी नेविसंघको जिल्लाको राजनीतिको नेतृत्व गर्दा म पत्रकारितामा लागि सकेको थिएँ । त्यही बेलामा राजा ज्ञानेन्द्रले प्रजातन्त्रमाथि हमला गर्न थाले । दलहरु सडकमा आए । चितवनमा चर्को भाषण गर्ने युवाहरुमा पर्थे कैलाश कोइराला ।
६२/६३ सालको आन्दोलनमा पुलचोकमा भएको एउटा सभामा कैलाश कोइरलाले निकै तेजिलो भाषण गर्दै थिए र त्यहाँ पनि उनले यो गोब्रे किराको प्रसंग ल्याए । मैले ५४ सालतिर सुनेको गोब्रे किरा कम्युनिष्टको बिम्ब थियो । उनै विकासका भाइ कैलाशले त्यो प्रसंग फेरि सुनाइ रहँदा काँग्रेस कम्युनिष्ट एक भएर राजा विरुद्ध आन्दोलन गर्दै थिए । कैलाशले किराबाट भाषण अगाडी बढाउनासाथ मेरा कान ठाडा भइहाले । अब यीनले के भन्ने हुन् भन्ने लाग्यो र उनले भने ‘हो यो राजा र यीनका मान्छे पनि त्यही किरा जस्तै हुन् । हामी डराउनु पर्ने अवस्था छैन । मैदानमा डटौं ।’ यो सुनेपछि मलाई लाग्यो ‘कोइराला परिवार साह्रै टाँठा ।’
संविधानसभाको पहिलो निर्वाचनपछि एकपटक सौराहामा साँझ बस्ने गरेर एउटा कार्यक्रम भएको थियो । कैलाश त्यहाँ आएका थिए । पत्रकार नारायण अधिकारीसँगै उनको राम्रै कुराकानी भएको थियो । त्यो बेला सुनेको थिएँ मैले उनको राजनैतिक महत्वकांक्षा ।
हो कैलाश जस्तै राजनैतिक महत्वकांक्षा बोकेका युवाको कथा हो ‘राजव्यूह’ । यो उपन्यास हो । उपन्यासलाई उपन्यास नै मानौं, कैलाश कोइरालाले आत्मकथा लेखे भनेर नभनौं । राजनीतिमा सक्रिय हुँदाहुँदै पनि उनले पाएको उच्चपद चितवन नेविसंघको जिल्ला अध्यक्ष र त्रिवि केन्द्रीय क्याम्पसको नेवि संघ इकाइ अध्यक्ष हो । तर उनको चाहना योजना योभन्दा धेरै अगाडी पुग्ने छ । त्यो अनुसारको योजनामा पनि छन् उनी । उपन्यासको महेश पात्र पनि यस्तै यस्तै मनोभावनाको छ । लेखकको कलममा कैलाशले लेखेका छन् ‘चितवन राजनैतिक रुपले सवैभन्दा बढी बलिदानी दिने जिल्लामा पर्दछ । तर यसको इतिहास महसुस हुने गरी कतै लेखिएको पाइँदैन । त्यही कारणले पनि यो उपन्यास लेख्ने जाँगर ममा पलाएको हो ।’ र खासमा भन्नुपर्दा ममा यो उपन्यासको हार्ड कभरवाला प्रति लगेर पढ्ने जाँगर पनि यही बाक्यका कारणले पलाएको हो ।
हो त चितवनको राजनीतिमा भिजेको एउटा युवा नेताले केही लेख्दै गर्दा यहाँको राजनैतिक संघर्ष र समस्यालाई राम्रोसँग उतार्दछ भन्ने ठान्नु मनासिव नै हो । तर उपन्यासमा चितवनको राजनैतिक माहौलको सिंगो पाटो छैन । र काँग्रेसको पनि छैन । महेश र उसको परिवारको कथा यसमा भेटिन्छ । महेश र उसको परिवारलाई नै बिम्ब बनाएर सिंगो चितवनको घटनाक्रम लेख्न नसकिने हैन । तर त्यो साहित्यमा भिजेका र साधना गरेकाहरुले गर्न सक्ने काम भयो । व्यक्तिलाई नै बिम्ब बनाएर विश्वकै कथा बुन्न सकिन्छ । साहित्यकारहरुले गर्ने यही हो । तर युवा राजनैतिक व्यक्तित्व कैलाशमा साहित्यिक रहर त छ तर त्यो अनुसारको शिल्पको अभाव देखिँदा पुरै किताब कतै उनको डायरी त हैन भन्ने विवरणहरुले भरिएको छ ।
कथाको केन्द्रमा महेश छन् । महेशको बाबु पुराना नेता हुन् । पञ्चायतले नरुचाएका, कम्युनिष्टहरुले घर जलाइ दिएका । यही कारणले नै महेशमा राजनैतिक झिल्को पर्दछ र कम्युनिष्टलाई नकरात्मक शक्ति राक्षस मान्छन् । कथामा प्रताप पनि छन् । उनी महेशका दाइ हुन् । प्रताप राजनीतिमा अलि पहिल्यै पाइला चाल्छन् । तर महेश पनि अगाडी बढ्छन् । यो बीचमा अनेक पात्रहरु भेटिन्छन् । केहीले महेशलाई सहयोग गर्दछन् । केहीले महेशलाई रोक्न खोज्दछन् । महेश पनि बरालिन थाल्छन् । उनी परिवारभन्दा बाहिर रमाउने गर्दछन् । अचेल राजनीतिमा पद पाउन नेताको चाकरी महत्वपूर्ण हुँदै गाएको छ । तर केन्द्रबाट आएका नेताको चाकरीलाई भन्दा प्रेमिकासँग रात बिताउने विषयलाई महत्व दिन्छन् ।
नेतालाई घरमा श्रीमती बिरामी भएको बाहना बनाएर प्रेमिका भएको ठाउँमा पुग्छन् । कथा यस्तै यस्तै हो । र अन्तिमममा आफ्ना खराब आदतहरुबाट टाढा रहने, गल्ती सच्याउने र त्यस्ता आदतलाई सुकाउने प्रण गर्दै उपन्यास सकिन्छ । कथाका हिसावले कमजोर छैन उपन्यास तर कथालाई तार्किक बनाउन र त्यही अनुसार पात्रको चरित्र तयार गर्न मिहनेत साह्रै नै कम भएको छ ।
महेशको बाबुलाई चितवन काँग्रेसको इतिहास मान्न सकिन्थ्यो । चितवन काँग्रेसको इतिहास गर्विलो छ । बखानसिंह गुरुङ, मैयादेवी श्रेष्ठ, किशोरचन्द्र ढुंगाना, महेश्वरलाल श्रेष्ठले जगाएको चितवन काँग्रेस अहिले आफ्नै इतिहासदेखि बेखबर छ । महेशले पनि बाबुको इतिहासलाई उपन्यासमा न्यायोचित तरिकाले उतार्न चुकेका छन् । चितवन काँग्रेस इतिहासमा पञ्चहरुबाट प्रताडित भएको छ । कम्युनिष्टको आक्रमण झेलेको छ र आफ्नाहरुकै घात पनि बेहोरेको छ । अहिले यी कुरा चितवन काँग्रेसलाई खासै ख्याल छैन । त्यस्तै उपन्यासमा पनि महेशका बाबु कम्युनिष्टबाट मात्रै बढी प्रताडित भएको देखाएर त्यो बेलाको पञ्चहरुको अत्याचारलाई छायामा पारिएको छ ।
प्रताप र महेशले राजनैतिक पद के कारणले पाए ? राजनीतिमा जनताको सेवा गरेर, जनताको मुद्दा उठाएर, समस्यासँग जुधेर अगाडी बढ्ने हो । तर यहाँ बाबुको योगदान र इतिहासका आधारमा महेश अगाडी बढ्न खोजेका छन् । प्रतापले पनि सहयोग गर्दछन् । र उपन्यासमा प्रतापको राजनैतिक गतिविधिका बारेमा पनि खासै वर्णन छैन । पञ्चायतमा कम्युनिष्टले सताएका पात्रका छोराहरु भएकै कारणले अगाडी बढ्न खोजेको जस्तो कथामा देखिन्छ ।
चितवन काँग्रेसले पनि कतै यस्तै गल्ती त गरेको हैन ? इतिहासको ख्याल नराख्ने, त्यसलाई नयाँ सन्दर्भ अनुसार फैलाउन नसक्ने तर इतिहास मात्रै भजाउँदा हाल चितवन काँग्रेसको हालत के भयो ? आफ्नो घर छाडेर अन्यत्र डुल्ने, नाजायज मानिने काम गर्न पछि नपर्ने उपन्यासको पात्र जस्तो चितवन काँग्रेसको चरित्र विकसित भएर पो हो कि समस्या बढेको ? र महेशले जस्तो सबै गल्ती कमजोरीलाई सुधारेर आफ्नो जन्मलाई सार्थक बनाउने बाचा चितवन काँग्रेसले कहिले गर्ने हो ? बाचा पनि साँच्चिकै गर्नु पर्ने अवस्थामा चितवन काँग्रेस पुगेको छ ।
कैलाश कोइरालाले आफूले उपन्यासमा उठाएका पात्र र विषयलाई सशक्त तरिकाले कथामा बुनेका भए यो एउटा उच्चकोटीको सन्देश बोकेको किताब बन्ने थियो । त्यता मेहनत नगर्नाले यसलाई मान्छेले कैलाश कोइरालाको डायरी त हो नि भन्न समेत भ्याएका छन् । साहित्यमा अगाडी बढ्ने योजना बनाएका कैलाश र चितवनमा ‘कमब्याक’ गर्ने तयारीमा रहेको चितवन काँग्रेसले यो किताबलाई ऐना बनाएर हेरे सुधार गर्नुपर्ने धेरै पाटाहरु देखिने छन् ।
पाठकका लागि कैलाशले ल्याउने आगामी कृतिहरु पक्कै साहित्यिक रसयुक्त र पठनीय हुने अपेक्षा गरौं ।





