बीपी कोइराला कसरी महामानव ?

गत भदौ ३० गते काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको जननायक बीपी कोइरालाको “जेल डायरी” को लोकार्पण समारोहमा सहभागी हुने अवसर मिल्यो । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा वक्ताहरूले मन्तव्य राख्ने क्रममा पालैपालो उठाएको एउटा प्रसंगले मेरो ध्यान खिच्यो र समारोहपछि पनि म धेरैबेर सोचमग्न भइरहें । त्यो हो- बीपी कोइराला महामानव हो कि होइन भन्ने प्रसंग । बीपीले राजनीतिमा स्थापित गरेको मानक आजसम्म कसैले भत्काउन नसकेको भन्ने स्वीकार गरेपनि नितान्त फरक राजनीतिक विचारधारा भएका अर्कै पार्टीका नेतालाई पूर्व मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता राम कार्की वा नेकपा एमालेका उप-महासचिव प्रदीप ज्ञवालीले महामानव नभन्नु वा नमान्नुलाई स्वाभाविक नै मान्न सकिएला तर स्वयं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुन तर्कका आधारमा बीपीलाई महामानव नभई सामान्य मान्छेको श्रेणीमा राखेर बुझ्ने प्रयास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो म त्यसबाट पटक्कै विश्वस्त हुन सकिनॅं । उहाँको तर्क थियो- महामानव भन्ने र मान्ने बित्तिकै उहाँको विचार र क्रियाकलापमा छलफल नै गर्न नहुने भन्ने प्रवृत्तिलाई स्वीकार्नु पर्ने हुन्छ । उहाँको उक्त तर्कलाई पुष्टि गर्ने कुनै आधारभूत तथ्य छैन । स्वयं भगवान रामले सीतामाथि गरेको अग्निपरीक्षा होस् वा भगवान श्रीकृष्णले महाभारत युद्धमा पाण्डव पक्षलाई विजयी गराउन गरेको छलकपट होस्, भगवान मान्दामान्दै पनि के ती क्रियाकलापहरूको बारेमा हाम्रो समाजमा चर्चा वा छलफल भएका छैनन् र ? हुन सक्छ हामी मानव भएकोले हामीलाई प्राप्त सिमित क्षमताले भगवानहरूका सबै क्रियाकलापहरूको अर्थ बुझ्न हामी नसकौंला तथापि छलफल त हामीले गरेकै छौं नि । महामानव भन्दैमा बीपीको विचार वा क्रियाकलापमाथि प्रश्न नै गर्न नपाइने भन्ने होइन, प्रश्न बीपी कोइराला वास्तवमा महामानव हो कि होइन भन्ने हो ।

मानव नामक जीव अरू सबै जीवको तुलनामा सर्वाधिक चेतनशील र परिष्कृत जीव हो भन्ने स्थापित भइसकेको तथ्य हो । यस सन्दर्भमा अध्यात्मवादीहरू होऊन् वा भौतिकवादीहरू सबैको एउटै मत पाइन्छ । चाहे चार्ल्स डार्विन जस्ता जीववैज्ञानिक होऊन् वा विशुद्ध अध्यात्मवादी सबैको एउटै मत छ कि मानवजाति विकास उन्मुख स्थितिमा छ र हरेक मानवमा अझ विकसित हुने क्षमता छ । बीपी कोइराला भन्नुहुन्छ- हामीले त्यस क्षमतालाई बुझेर काम गऱ्यौं भने हामी मानवबाट अतिमानव बन्न सक्तछौं र भोलि पर्सि यो मानव समाज अतिमानव समाज बनेर जान पनि सक्ला । (विश्वेश्वरप्रसाद कोइरालाः आधारभूत संकलन, सम्पादन प्रदीप गिरी) । त्यस दृष्टिले हेर्दा बीपी कोइरालाभित्र एउटा मानव महामानव बन्न सक्छ भन्ने विश्वास रहेको देखिन्छ । जवाहरलाल नेहरूको निधनपछि बीपी लेख्नुहुन्छ- नेहरू विश्ववन्द्य भएर चितामा चढे । उनको मरणले लाखौं-लाख आँखामा आँसु ल्यायो । उनको शवको यात्राले इतिहासका महत्तम चक्रवर्तीहरूको शवयात्रालाई उपेक्षा गरेको थियो होला । नेहरू धन्य-धन्य भएर गए । व्यक्तिगत जीवनमा त्योभन्दा बढी के चाहना हुन सक्छ ? (जेल जर्नल पृष्ठ १७३) । बीपीको पनि त्यसरी नै नेपालको इतिहासको सबैभन्दा ठूलो शवयात्रा भयो । उहाँको निधनमा लाखौं लाखले आफ्नो सबैभन्दा प्रिय वस्तु गुमाएको महशुस गरे । यसरी हेर्दा बीपी सर्वसाधारणको चाहना भन्दा भिन्न चाहना राख्नुहुन्थ्यो र उहाँले आम मानवको भन्दा नितान्त भिन्न लक्ष्य लिनुभएको थियो भन्ने स्पष्ट हुन्छ । बीपी आफ्नो जीवनको उत्तरार्धमा भन्ने गर्नुहुन्थ्यो- दैवत्व एउटा परिकल्पना हो जो मानिसले आफ्ना प्रयासहरूद्वारा प्राप्त गर्न सक्तछ (जेल जर्नल पृष्ठ २१) ।

बीपी कोइरालामा महामानव बन्ने लक्षण उहाँको बाल्यकालदेखि नै देख्न सकिन्छ । सानो बालक छॅंदादेखि नै उहाँमा अरू बालकहरूको भन्दा भिन्नै स्वभाव थियो । चोटपटक लाग्दा रूने, एक्लै हुँदा डराउने वा आमाबुबालाई सानातिना चीजहरूका लागि पिरोल्ने जस्ता अत्यन्त बालसुलभ बालक्रीडा पनि बीपी गर्नुहुँदैनथ्यो (आफ्नो कथा) । चाहे त्यो बिना एनेस्थेसिया संगीन घाउ चिर्दा बेहोश हुने स्थितिमा पनि पीडाको कुनै आवाज ननिकालेको असाधारण घटना होस् वा पौडी नै नजानेको बालकले पिताको आदेशमा कोशीमा हामफालेको पत्याउनै मुश्किल पर्ने घटना होस् बीपीमा सानैदेखि महामानव बन्ने लक्षण देखिएको थियो । चरम आर्थिक संकटको समयमा बनारस पढ्न जानको लागि बीपीले आफ्नी सानीमा र बहिनीका नाकका सुनका मुन्द्रीहरू बेच्नुभएको थियो । यसबाट के बुझिन्छ भने बीपीको हृदयमा आफूलाई भविष्यका लागि तयार गर्नुपर्छ भन्ने भावनाले जरो गाडेको थियो ।

बीपी आम निर्वाचनमा जनताद्वारा दुई तिहाई बहुमत प्राप्त दलको प्रधानमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्री भएकै अवस्थामा आफूलाई गिरफ्तार गरी पदच्युत गर्ने राजाका प्रति समेत घृणाको स्थायी भाव प्रकट नहुनु निश्चय नै महामानवको गुण हो । महामानवभित्र अर्को एउटा गुण हुन्छ- आफ्नो कमजोरीलाई नलुकाई सार्वजनिक गर्ने सहास । त्यस मामलामा बीपी कोइराला महात्मा गान्धीभन्दा पनि अब्बल देखिनुभएको छ । महात्मा गान्धीको सम्बन्ध भएको भनेर चर्चा चलेका कैयौं स्त्रीहरूसॅंग लेखकहरूले गरेको अन्तरवार्ताबाट महात्मा गान्धीले जीवनको त्यो महत्त्वपूर्ण पक्षको बारेमा आफ्नो आत्मकथामा समेत सत्य लेख्न नसकेको स्पष्ट हुन्छ जब कि बीपीले त्यो समाजवर्जित विषयमा समेत सत्य लेख्ने र बोल्ने सहास गर्नुभएको छ ।

आफूले मानेको सत्य र आफ्नो आदर्शका लागि जस्तोसुकै दुःखकष्ट पनि सहन तयार हुनु महामानवको अर्को गुण हो । चाहे त्यो मुटु कमाउने पुसको काठमाडौंको ठण्डीमा बिना कपडा नेल र हतकडी सहित बिताउनुपरेका चीसा रातहरू होऊन् वा राणाशासकको हिरासतमा २९ दिनसम्म अनशन गर्नुपर्दाको कष्टकर समय होस् उहाँ टुट्नुभएन, झुक्नुभएन । यातनाको सम्बन्धमा साधारण मानवले सोच्नै नसक्ने किसिमको उद्गार उहाँको मुखबाट निस्कन्छ- असहनीय वेदना त मान्छेले सहनै पर्दैन । ऊ बेहोश भइहाल्छ । यस अर्थमा पनि बीपी कोइराला महामानव हुनुहुन्छ ।

सामान्य मानिसका लागि जेलको सजाय कठोर दण्ड हो । हिंड्ने, डुल्ने लगायतका नैसर्गिक अधिकारहरूबाट समेत वञ्चित गरिएको मानिसले जेलमा आफ्नो स्वाभाविकता समेत गुमाउॅंछ । तर बीपीका अधिकांश साहित्य सिर्जना जेलमा नै भएका छन् । कारागारका पर्खालहरूलाई नाघेर सिर्जनाको शिखर चुम्नु कुनै सर्वसाधारणको लागि संभव छैन जुन कुरा बीपीको लागि संभव भयो ।

बीपी कोइराला नियमित रूपमा दैनिकी लेख्नुहुन्थ्यो । दैनिकी उहाँको आत्ममूल्यांकन गर्ने एउटा साधन थियो । आत्ममूल्यांकन गरेर आफूमा सुधार ल्याउने कुरामा उहाँ सधैं लागिरहनुभयो । यो पनि एउटा महामानवको लक्षण हो ।

बीपी स्वयं भन्नुहुन्थ्यो- म कुन उडानबाट उत्रॅंदैछु भन्ने म जानकारी दिन्न किनभने त्यहाँ उपस्थित भीड देखेर म लज्जित हुन्छु । बीपीको विचारमा कुनै मान्छे त्यति ठूलो पनि हुँदैन जति ठूलो उसलाई ठानिएको हुन्छ र कुनै मान्छे त्यति सानो पनि हुँदैन जति सानो उसलाई बनाइएको हुन्छ । यसबाट के बुझ्न सकिन्छ भने मान्छेले देवत्व प्राप्त गर्न सक्छ भन्ने मानेपनि स्वयं बीपीलाई भने कसैले आफूलाई महामानव भनिदेओस् वा मानिदेओस् भन्ने आकांक्षा थिएन । तर त्यसो भन्दैमा उहाँको भागमा पर्ने श्रद्धा वा सम्मानबाट उहाँलाई वञ्चित गर्न मिल्छ ?

सामान्यतया एउटा साधारण व्यक्ति आफ्नो मृत्युको संभावनाको कल्पना गर्दा पनि त्रसित हुन्छ । अझ केही समयभित्र मृत्यु निश्चित छ भन्ने जान्यो भने त ऊ हतप्रभ नै हुन्छ । तर डाक्टरबाट निकट भविष्यमा नै आफ्नो अवश्यंभावी मृत्युको खबर सुनेर पनि उहाँमा कुनै सामान्य घटनाले गर्ने असरभन्दा बढी असर नपर्नु के त्यो महामानवमा हुने लक्षण होइन र ?

म एउटा प्रसंग सम्झन्छु सी.के. प्रसाईंले कतै उल्लेख गर्नुभएको । नेपाली कांग्रेसका विचारक सी.के. प्रसाईंले जब स्नातकोत्तर गर्नुभयो उहाँको मनमा संशय उत्पन्न हुन थाल्यो कतै उहाँ अब बिग्रनु त हुन्न । उहाँको जग्गा-जमिन प्रशस्त थियो, खान लगाउनको लागि जागीर खानुपर्ने वा कुनै व्यवसाय गर्नुपर्ने थिएन । त्यो जमानामा स्नातकोत्तर गर्नुभएको थियो । बिग्रन्छु कि भन्ने डरले उहाँ त्यस्तो व्यक्तिको खोजीमा लाग्नुभयो जसको छत्रछायाँमा आफूलाई सुरक्षित मान्न सक्नुहोस् । उहाँले बीपीलाई भेट्टाउनुभयो र आजीवन उहाँलाई आफ्नो वफादारी सुम्पनुभयो । उहाँ भन्नुहुन्थ्यो म
बीपीको बारेमा कुनै नकारात्मक कुरा सुनिहालेपनि त्यसलाई एक कानले सुनेर अर्को कानले उडाइदिन्थें किनभने मलाई डर थियो कि त्यस्तो कुराले मैले असीम श्रद्धा गरेको बीपीप्रतिको श्रद्धा नघटाइदिओस् । त्यही किसिमको वफादारिताको माग होइन तर आम जनताबाट र विशेषगरी कांग्रेसजनबाट बीपीले पाउनुपर्ने सम्मानको अपेक्षा गर्नु अतिशयोक्ति हुन सक्दैन ।

बीपीलाई महामानव मान्दैमा वा नमान्दैमा त्यति ठूलो केही भइहाल्ने होइन तर सामान्यतया सर्वसाधारणको यो प्रवृत्ति रहन्छ कि उनीहरू आफूले ठूला मानेका, आदर्श मानेका व्यक्तिहरूको अनुकरण गर्दछन् । त्यसैले भगवान श्रीकृष्ण गीतामा अर्जुनलाई भन्नुहुन्छ- यस लोकमा मात्रै होइन त्रिलोकमा नै मैले गर्नुपर्ने कुनै काम बाँकी छैन । तर यसकारण म कर्ममा लीन रहन्छु कि मेरो देखासिकी गरेर बाँकी दुनियाँ पनि कर्मबाट विरत भई यो सृष्टि बरबाद नहोस् । बीपीलाई पनि त्यसरी नै आदर्शपुरुष र महामानव मान्दा बाँकी दुनियाँले पनि उहाँको पदचिन्ह पछ्याउने आशा गर्न सकिन्छ र इमान्दारिता र आदर्शको खडेरी परेको वर्तमानमा बीपी जस्ता इमान्दार र आदर्शवादी महामानवको अनुकरण गर्दा त्यसबाट वर्तमान युगले ठूलो लाभ लिन सक्दछ ।

त्यो महामानवमा हुने लक्षण होइन र ?

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट