धर्म, ईश्वर, नियति र बीपी कोइराला

धर्म, ईश्वर र नियतिका बारे बीपी कोइरालाको धारणाको सम्बन्धमा धेरै कुराहरू लेखिएका छन् र थुप्रै मञ्चहरूमा प्रशस्त बहसहरू भएका छन् । बीपीको “आत्मवृत्तान्त” को भूमिकामा गणेशराज शर्माले उल्लेख गर्नुभएको एउटा प्रसंग छ जसले बीपीको स्वभावलाई बुझ्न धेरै हदसम्म मद्दत गर्दछ । वि.सं. २०३८ साल कार्तिक १० गतेको कुरा हो- गणेशराज शर्माको निवासमा उहाँ स्वयं, दमननाथ ढुंगाना र राधेश्याम अधिकारी आध्यात्मिकताको विषयमा कुरा गर्दै हुनुहुन्थ्यो । डा. सुन्दरमणि दीक्षितले क्यान्सरबाट बीपीको ६ महिनाभित्रै निधन हुन सक्ने किटान गरेपछि उहाँ शिवध्वज बस्नेतलाई लिएर सिधै त्यहाँ पुग्नुभएको थियो । आफ्नो मृत्युदण्डको फैसला सुनेर आउनुभएका बीपी त्यसदिन त्यहाँ धर्म, ईश्वर र नियतिका सम्बन्धमा भइरहेको बहसमा करिब एक घण्टा उत्साहका साथ यसरी सहभागी हुनुभयो कि बहसमा सहभागी अन्य कसैले पनि डाक्टरको कुराको आभास सम्म पनि पाएनन् । कुनै मान्छेको जीवनमा आध्यात्मिकताको त्यो हदसम्मको उपस्थिति बिरलै भेटिने उदाहरण थियो ।

बीपी तर्क गर्नुहुन्छ- सूर्यलाई ईश्वर माने पनि नमाने पनि सूर्योदय हुँदा मनमा जुन एक प्रकारको रमाइलो अनुभूति हुन्छ त्यही नै धार्मिक अनुभूति हो र त्यही सूर्य नै ईश्वर हो । सूर्यको उदय वा गुलाब फक्रेको दृश्यले मनमा उत्पन्न गर्ने रोमान्चकता, आफ्नी प्रेयसीलाई गुलाबको फक्रेको फूल वा चन्द्रमासॅंग गरिने तुलना, यी सबै भावनाका कुराहरू ईश्वरीय कुराहरू हुन् । त्यसैले बीपी आफूलाई धर्मको विरूद्धमा पटक्कै नभएको तर धर्मको अभ्यास भने नगर्ने मान्छे भन्नुहुन्छ । आफूले मन्दिरमा गएर कहिल्यै केही नमागेको तर मन्दिरमा जाँदा आफूमा संवेदनशीलता र अरूप्रति करूणाको भावना जागृत हुने गरेको कुरा उहाँ स्वीकार गर्नुहुन्छ । आफूलाई कसैले नास्तिक वा आस्तिक के भनेर प्रश्न गर्दा बीपी आफूलाई समग्र अस्तित्वका सम्बन्धमा कुनै कुरालाई साँचो पनि नभन्ने, झूठो पनि नभन्ने, मनमा प्रश्नचिन्ह राखिहिंड्ने र आफ्नो मस्तिष्कलाई हरेक संभावनाका लागि खुला राख्ने एग्नोस्टिक भन्न रूचाउनुहुन्छ ।

बीपी कोइराला चलनचल्तीको भाषामा बुझिने ईश्वरको उपस्थितिको संभावनालाई भने सोझै खारेज गर्नुहुन्छ र प्रश्न गर्नुहुन्छ- आफ्नो मर्न लागेको बच्चालाई जीवनदान दिन कति आमाहरू ईश्वरसॅंग कति विश्वासका साथ दिनहुँ पुकार गरिरहेका हुन्छन् तर ती बाँच्दैनन् । कतिका पति मरिरहेका हुन्छन् । कतिको घर बरबाद भइरहेको हुन्छ । किन हुँदैन त ईश्वरको विशेष अनुकम्पा उनीहरूमाथि ? उहाँ फेरि पुरक प्रश्न गर्नुहुन्छ, ईश्वरले चाहे पनि त त्यो कहाँ संभव छ ? उनले कसकसलाई बचाउने ? त्यसको मापदण्ड के ? बीपी भन्नुहुन्छ- चाहे त्यो मानसिक संकट होस् वा आध्यात्मिक, त्यसको निवारण मान्छेको आत्मबलमा हुन्छ र दैवी शक्ति भन्ने कुरा पनि त्यसैबाट निःसृत हुन्छ ।

मान्छेले आफ्नो बुद्धिको क्षमता छान्न पाउॅंदैन, बाबुआमा र समाज छान्न पाउॅंदैन, आफ्नो छालाको रंग पनि छान्न पाउॅंदैन, मान्छेले सानो क्षेत्रमा मात्र अलिकति स्वतन्त्रता पाएको हुन्छ । बीपी भन्नुहुन्छ नियति भनेको, प्रारब्ध भनेको त्यही हो ।

सुन्दरीजल जेलमा छॅंदा बीपीले लेख्नुभएको जेल जर्नलमा उहाँले ताराशंकर बन्दोपाध्यायको सप्तपदी किताब पढिसकेपछि “मानव जीवन ईश्वरको तपस्या हो जुन अग्निकुण्डमा मनुष्य समिधाको रूपमा होमिन्छन्” भन्ने उनको तर्कप्रति गम्भीर असहमति जनाउॅंदै मान्छे केवल समिधा हो भन्ने कुरा अस्वीकार गर्नुभएको छ र लेख्नुभएको छ- ईश्वरको तपस्याको लक्ष्य के ? कुन महान् लक्ष्यका लागि जीवनको अग्निकुण्डमा लाखौंलाख प्राणीलाई स्वाहा गरिन्छ ?

सोही जेल जर्नलमा बीपीले आफू भौतिकवादी भएको तर आफ्नो प्रवृत्ति आध्यात्मिक भएको कुरा लेख्नुभएको छ । बीपीले आफूलाई सधैं भौतिकवाद र अध्यात्मवादको दोसाँधमा पाउनुभएको छ । जीवनका कष्टमय घडीमा आफूलाई नियतिमाथि भर हुने गरेको र मृत्युको सामीप्यताको बोध हुँदाहुँदै पनि म मर्दिन भन्ने जबरदस्त विश्वास हुने गरेको स्मरण गर्नुहुन्छ जसलाई उहाँ आध्यात्मिकताको लक्षण भन्नुहुन्छ । तर अध्यात्मवादीहरूको विचारलाई उहाँ खण्डन गर्नुहुन्छ र उनीहरूको विचारलाई “कपाल दुखेको औषधि शिरच्छेदन हो भनेजस्तो” भनेर उपमा दिनुहुन्छ । समस्याको जीवनमुलक समाधान खोजिनुपर्छ भन्ने उहाँ जीवनलाई एउटा थोपा मान्ने हो भने थोपाका समस्याहरूको समाधान त्यस थोपाको अस्तित्वमै खोज्नुपर्छ र त्यस थोपालाई लोप गराएर पाइएको समाधान थोपालाई के प्रयोजन भनेर प्रश्न गर्नुहुन्छ ।

गीतामा उल्लेखित निष्काम कर्मयोगको सम्बन्धमा बीपीको धारणा छ कि असल र खराब कामको विभेद निर्धारण नगरीकन कामका सम्बन्धमा अरू कुरा भन्नु घोडाको अगाडि बग्गी राखेजस्तै हो । उहाँले यदि मान्छे आफ्नो शक्तिको प्रयोगको लक्ष्य निर्धारण नगरी कार्यमा प्रविष्ट हुन्छ भने उसको शक्ति सम्पन्नताको खतरा पनि उत्तिकै मात्रामा भयंकर तथा अनन्त हुन्छ भन्नुभएको छ ।

सन्यासलाई मोक्षको सर्वोपरि लक्ष्यको सिद्धान्तसॅंग युक्तिसंगत भन्दै बीपी सन्यासीको निष्कर्मताप्रति भने गम्भीर असहमति प्रकट गर्नुहुन्छ र भन्नुहुन्छ- बाँच्नको लागि दर्शन चाहिएको छ मर्नको लागि होइन ।

सन्दर्भ सामग्रीहरूः
१)प्रदीप गिरीले सम्पादन गर्नुभएको पुस्तक- विश्वेश्वरप्रसाद कोइरालाः आधारभूत संकलन
२)कृष्ण खनालको पुस्तक- विश्वेश्वरप्रसाद कोइरालाः चेतना, चिन्तन र राजनीति
३)बीपी कोइरालाको आत्मवृत्तान्त
४)बीपी कोइरालाको जेल जर्नल

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट