जननायक बीपी कोइरालाको जन्म वि.सं. १९७१ साल भाद्र २४ गते अर्थात् सन् १९१४ सेप्टेम्बर ८ का दिन बनारसमा भएको हो । बीपीको जन्म हुँदा प्रथम विश्वयुद्ध सुरू भएको भर्खरै ४० दिन भएको थियो । विश्वभरका करिब चार करोड जनता मारिएको उक्त महायुद्ध चार वर्ष र साँढे तीन महिना अर्थात् सन् १९१८ को नोभेम्बर ११ सम्म चल्यो । आफ्नो जीवनलाई आफूले सधैँ महत्वपूर्ण घटनाहरूको केन्द्रमा पाएको कुरा बीपी उत्साहका साथ सुनाउनुहुन्थ्यो । तोप, गोला र बारूदका गगनभेदी आवाजले संसारभर धरती थर्किरहेको बेला अनि धायँधायँ आवाजसॅंगै निस्किएको कालो मुश्लोले विश्वको आकाश ढाकिरहेको बेला आफ्नो जन्म भएको कुरा बीपी सचेततापूर्वक व्यक्त गर्नुहुन्थ्यो । आफ्नो जन्म कुनै महान् उद्देश्यका लागि भएको कुराले उहाँको अवचेतन मनमा किलो गाडेको थियो भन्ने कुरा आफ्नो जन्मको चर्चा गर्दा उहाँले सदैव स्मरण गर्ने महायुद्धको प्रसंगबाट पनि स्पष्ट हुन्छ । महात्मा गान्धीको मृत्यु भएको असाधारण समयको चर्चा गर्दा पनि राणा-परिवारलाई बमले उडाउन वसन्तशमशेरका हात भारतबाट आफूले ह्याण्ड ग्रेनेड नेपाल पठाउन लाग्दा गान्धीको मृत्युको खबर सुन्नुपरेको प्रसंग बीपी सम्झनुहुन्छ । आफ्नो आत्मवृत्तान्तमा बीपीले उक्त समयको नाटकीय स्थितिको स्मरण गर्नुभएको छ- बीपी ठीक समयमा तोकिएको स्थानमा पुग्नुभएको थियो । बीपीलाई एउटा मान्छेले सेतो रूमालमा ६ ओटा ह्याण्ड ग्रिनेड दिएर गयो । ती ग्रिनेडहरू वसन्तशमशेरलाई दिन भनेर बीपीले ६ बजेका लागि उनलाई निर्धारित स्थानमा बोलाउनुभएको थियो । उनी पनि ठीक त्यही बेला आइपुगे । बीपी त्यो ह्याण्ड ग्रिनेड लिएर पर्खिरहनुभएको थियो । त्यही समयमा पान पसलबाट रेडियोले प्रसारण गरेको बीपीले सुन्नुभयो- गान्धीको हत्या भयो । ग्रिनेड दिने मान्छेले दिएर गइसकेको थियो र लिने मान्छे लिन लागिरहेको थियो । यस्तो विशेष स्थितिमा बीपीले गान्धीहत्याको खबर सुन्नुपरेको थियो । त्यो अपत्यारिलो खबर सुन्नासाथ आफूलाई चारैतिर भयंकर अँध्यारो महसुस भएको कुरा बीपी बताउनुहुन्छ । उहाँका अनुसार गान्धीसँग आफ्नो कुन हदसम्मको लगाव रहेको थियो भन्ने पनि बीपीलाई त्यतिबेला मात्र महसुस भयो । गान्धीहत्याले बीपीलाई दुनियाँमा सबैथोक भताभुंग भएजस्तो लागेछ ।
बीपी कोइरालाको जीवनकालमा र उहाँको मृत्युपश्चात पनि उहाँको बहुआयामिक व्यक्तित्वको धेरै चर्चा भएको छ । उहाँ एक कुसाग्र बुद्धि भएको विलक्षण प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो भन्ने कुरा त स्थापित भइ नै सकेको छ । तथापि मलाई भने उहाँको आदर्शवादिताले सबैभन्दा बढी आकर्षित गर्ने गर्दछ । गौतम बुद्धबाहेक आदर्शवादिताको त्यस्तै अर्को उदाहरण नेपालको अर्को कुनै व्यक्तिमा खोजेर भेटिंदैन । महात्मा गान्धीले जस्तै आफ्नो जीवनलाई सत्यको प्रयोग भन्न रूचाउने बीपीको समग्र व्यक्तित्वमा आदर्शवादको चरम हदसम्मको विकास हुनुमा बीपीको बाल्यकालका केही रोमान्चकारी घटनाहरूको महत्वपूर्ण भूमिका छ । आफ्ना पिताजी कृष्णप्रसाद कोइरालाले आफूहरूलाई पढाउन कलकत्ताबाट विराटनगर लिएर आउनुभएको एकजना बंगाली शिक्षकको जीवनको अद्भुत घटनाबाट आफू अत्यधिक प्रभावित भएको र आफ्नो जीवनमा आदर्शवादको बीउ रोप्न त्यस घटनाको महत्वपूर्ण भूमिका रहेको कुरा बीपीले “आफ्नो कथा” र “आत्मवृत्तान्त” मा उल्लेख गर्नुभएको छ । बाल्यकालमा जरा गाडेको आदर्शवादबाट बीपी आजीवन वशिभूत भइरहनुभयो । आफूहरू भागेर बनारस गएको बेला बीपीका पिताजीले बीपीलाई भेटाउन लैजानुभएको वृद्ध बंगालीको परिवारमा अरू कोही थिएनन् । ऊ नितान्त एक्लै कोठामा बसिरहेको थियो । हाबुली र बाबुली नाम गरेका उसका दुई छोराहरू मध्ये सरकारले एकलाई प्राणदण्ड र अर्कोलाई कालापानीको सजाय दिएको थियो । जब बीपीका पिताजीले त्यस व्यक्तिसॅंग “दुःखको कुरा सुनेर आएको” भन्नुभयो उसले भनेका कुराहरू यति मर्मस्पर्शी थिए कि बीपीले जीवनपर्यन्त सम्झिरहनुभयो । उसले भनेको थियो- “मलाई छोराको फाँसीले किञ्चित पनि दुःख छैन । अर्को छोरो पनि अब मरेसरह नै भयो । बाँचेर आउने छैन, आए पनि मसॅंग त भेट हुने छैन । दुःख केवल यस कुराको छ कि मेरा त्यति मात्र छोरा भए, देशको खातिर बलिदान हुन अरू छोरा दिन सकिनॅं ।” ऊसॅंग बिदा लिएर सिॅंढीबाट तल झर्दैगर्दा उसले बीपीको काँधमा मायाले आफ्नो चाउरी परेको हात राखेर भनेको थियो- “विश्वेश्वर ! तिम्रा पिताजी त बडा ठूला मानिस हुन् । तिमीले कहिल्यै पनि आफ्नो पिताजीको गौरवलाई नबिर्सनू ।” बीपीलाई त्यो केवल आधा घण्टाको कुराले जीवनपर्यन्त अत्यन्त ठूलो प्रभाव पऱ्यो । उसले बीपीसॅंग बीपीका पिताजीका बारेमा आदर व्यक्त गरेर भनेका कुरा र बीपीलाई सचेत पारेको कुरालाई बीपीले जीवनभर कहिल्यै बिर्सन सक्नुभएन ।
बाल्यकालमा बीपीलाई एकपटक ठूलो घाउ भएको रहेछ बस्ने ठाउॅंमा । उहाँलाई चर्को ज्वरो पनि आएको थियो । घाउ र ज्वरो बढ्दै गएपछि बनारसको एउटा सिभिल सर्जनलाई देखाइयो । त्यस समय बीपीको परिवार ठूलो आर्थिक संकटबाट गुज्रिरहेको थियो । अभावको त्यो घडीमा चर्को परामर्श शुल्क लिएर उसले चौबीस घण्टाभित्रै घाउको अपरेशन हुनुपर्छ भन्ने मात्र सल्लाह दिएछ । मेजर अपरेशन गर्नुपर्ने भएकोले अपरेशनको बेला क्लोरोफार्म दिनुपर्छ भन्ने उसको सुझाव थियो । परिवारका सबैले जतिचोटि आ-आफ्नो ढुकुटी टकटकाउॅंदा पनि अपरेशनसम्मका लागि पनि पैसा जुटेन-क्लोरोफार्म त परको कुरा । बीपीको परिवार बसेको घरको अर्को खण्डमा एउटी काशीवास गर्न आएकी टिबीग्रस्त पहाडी नारी रहिछन् । उनैले आफ्नो रोगग्रस्त बिछ्यौनाबाट बीपीको घरको त्यस्तो दयनीय हालत देखेर घाउको अपरेशनको व्यवस्था गरिदिइछन् । क्लोरोफार्मको लागि भने पैसा भएन । बीपीको सिराननिर आएर उहाँको कपाललाई सुमसुम्याउॅंदै बीपीकी बडा आमाले भन्नुभयो- “मेरो नाति बहादुर छ । घाउ चिर्दा रूँदैन ।” बीपीकी आमाले पनि उहाँलाई सोध्नुभयो- “विसु ! क्लोरोफार्म सुघाउॅंन सकिने भएन; अपरेशन हुँदा दुखेको खप्न सक्छस् ?” बीपीले भन्नुभयो-“सक्छु आमा !” पीडाले जतिसुकै शरीरसॅंग सम्बन्ध राखे तापनि त्यसलाई थपघट गर्ने सामर्थ्य मनमा हुन्छ भन्ने बीपीको धारणा थियो । बीपी भन्नुहुन्थ्यो उहाँलाई यो कहिल्यै पनि लागेन कि त्यस्तो कुनै स्थिति पनि हुन सक्छ, जसलाई उहाँ खप्न सक्नुहुन्न । उहाँ आफ्नो नजरमा नायक हुनुहुन्थ्यो र सबैको नजरमा नायक बन्न चाहनुहुन्थ्यो । त्यस्तो ठूलो अपरेशन बिना क्लोरोफार्म घरमै गरियो । बीपीको मुखबाट ऐय्या, आत्थु निस्केन । उहाँको बहादुरीको खुब चर्चा भयो चारैतिर । एक कोपरा जति पिप बगेर गएछ । कति रगत बग्यो अरे । कति कुहिएको मासु काटेर फालिएछ ।
त्यस्तै अर्को एउटा हृदयविदारक घटना छ । बीपीको परिवार बेतियामा छँदा त्यहाँ महामारीको रूपमा हैजा फैलियो । बीपीका भाइ हरिहरलाई पनि हैजा लाग्यो । औषधी गर्न नपाएर हैजाबाटै उनको मृत्यु भयो । मृत्यु भएपछि उनलाई घाट लैजाने उपाय थिएन । कात्रो किन्ने पैसा थिएन न त दाउरा किन्ने पैसा नै थियो । घरका सबै स्तब्ध थिए । बीपीकी आमा दिव्या कोइरालाले छिमेकमा एउटा भारतीयसॅंग विवाह गरेर बसेकी एउटी नेपाली महिलालाई छोराको लास उठाउन नपाएकोले पैसाको सहयोग गरिदिन आग्रह गर्दै चिठी लेख्नुभयो । ती महिला र उनका श्रीमान् बीपीको घरमा आएपछि कात्रो किनियो, दाउरा किनियो र दाहसंस्कार भयो ।
बीपी भन्नुहुन्छ- उहाँको परिवारको जीवनमा र स्वयं उहाँको आफ्नै जीवनमा पनि गरिबी, आर्थिक अभाव दुःख हो कि होइन भन्ने प्रश्न उपस्थित भइ नै रह्यो । आर्थिक अभावसॅंग साक्षात्कार नभएका व्यक्तिहरूका लागि दार्शनिक प्रश्न झैं लाग्ने प्रश्न हो यो । त्यस्तो आर्थिक अभाव जसमा आज खायो भोलिलाई छैन भन्ने होइन कि आज पनि नखायो र भोलिलाई पनि छैन भन्ने समस्या रहन्छ । बीपीको अनुभवमा यदि कुनै आदर्शपट्टि लम्किॅंदा भोग्नुपरेको दुःख भए आर्थिक अभाव त्यस्तो दुःख होइन जसलाई दैन्यको श्रेणीमा राख्न सकियोस् । आदर्शले प्रेरित मानिस आफ्नो सानो व्यक्तित्वको बोक्रोबाट मुक्त हुन्छ र त्यस बोक्रोभित्र खुम्चिएर बस्नुपर्दा हुने दुःखकष्टबाट पनि मुक्त हुन्छ भन्ने बीपीको धारणा थियो । त्यस्तो स्थितिमा दुःख चुनौतीको रूपमा मान्छेको साहसिकतालाई हाँक दिन आउॅंछ भन्ने विचार थियो उहाँको ।
जीवनमा बीपीले एउटा मान्छेले भोग्न सक्ने हदसम्मको यातना भोग्नुभएको छ । राणाशासनकालमा बीपीलाई गिरफ्तार गरेर सिंहदरबार लिएर गएपछि उहाँलाई नेल, हतकडी लगाइयो, कम्मरमा जन्जीर लगाएर कैयौं दिनसम्म राखिएको थियो । न ओढ्ने दिइएको थियो, न बिछ्याउने, पुसको उग्र जाडोमा उहाँसॅंग अरू कपडा थिएनन् लगाएको भोटो, कोट र सुरवाल बाहेक । कोठाका सबै झ्याल ढोकाहरू खुल्ला थिए र ढोकाको बगलैमा उहाँलाई उभ्याएर राखिएको थियो । बीपीको वीरताको संबन्धमा चर्चा गर्दा सर्वसाधारणका लागि असामान्य र अविश्वसनीय झैं लाग्ने एउटा कुरा मेरो मनमस्तिष्कमा सदैव घुमिरहन्छ । मानिसले भोग्ने यातनाको बारेमा उहाँ भन्नुहुन्थ्यो- “मान्छेले असहनीय वेदना त सहनै पर्दैन । ऊ बेहोस भइहाल्छ ।”
बीपीको बाल्यकालको अर्को एउटा रोचक प्रसंग छ । त्यो उहाँहरूको टेढी बसाइको आखिरी वर्षको कुरा हो । त्यस साल ठूलो बाढी आयो । पूर्वपट्टिका धेरै गाउॅंहरू कोशीले काटेर जलमग्न पाऱ्यो । जन्माष्टमीको दिन थियो । बीपीका पिताजी, काका, भान्दाइ र बीपी सहित अरू केटाकेटीहरूको समूह एउटा ठूलो नाउमा कतैबाट घरतिर फर्किरहेको थियो । उक्त नाउमा बीपीका काका आफ्नो छोराको साथ चढ्नुभएको थियो । लामो समयदेखि बीपीका पिताजी र काकाका बीच केटाकेटीहरूको अनुशासनका संबन्धमा ठूलो बहस भइरहेको थियो । बीपीका काका बीपीका पिताजीमाथि केटाकेटीहरूलाई छाडा छोडेकोले उनीहरू बिग्रिएको लाञ्छना लगाउनुहुन्थ्यो र आफ्नो छोराको अनुशासनमा गर्व गर्नुहुन्थ्यो । बीपीका पिताजी भने अनुशासनमा कठोरता र बलजफ्तीको विरूद्धमा हुनुहुन्थ्यो । नाउ चलिरहेको बेला आफूले कडा अनुशासनमा राखेको आफ्नो छोराको आज्ञापालन र अनुशासनमा विश्वस्त बीपीका काकाले छोरालाई अचानक आज्ञा दिनुभयो- “ढुण्डीराज ! पानीमा हामफाल् ।” उनले भयग्रस्त भएर भने- “पानी अथाह छ । म डुब्छु ।” बीपी बडो आश्चर्यका साथ दाइको त्यस्तो अनुशासनहीन अवज्ञालाई हेरिरहनुभएको थियो । यत्तिकैमा बीपीका पिताजीले बीपीलाई आज्ञा दिनुभयो- “विश्वेश्वर ! नदीमा हामफाल् ।” बीपीले कुनै आनाकानी नगरी तत्क्षण कोशीमा हामफाल्नुभयो । उहाँलाई राम्ररी पौडन आउॅंदैनथ्यो । तत्कालै माझीहरूले नदीमा हामफालेर बीपीको उद्धार गरे । बीपीले अनुशासन र पितृआदेश पालनको ख्याति आर्जन गर्नुभयो ।
कहिले खोले पिएर, कहिले एक छाक भिजाएको चना खाएर बिताउनुपरेका प्रवासका दिनहरूमा परिवारका अन्य सदस्यहरू सहित बीपीले कैयौं दिन त भोकभोकै पनि सुत्नुपरेको थियो । तर त्यो चरम अभावले बीपीको व्यक्तित्वमा किञ्चित पनि नकारात्मक असर गरेको पाइॅंदैन । अभाव र गरिबीलाई उहाँले कहिल्यै दुःख भन्नुभएन, मान्नुभएन ।
एकपटक राणाशासनकालमा बीपीलाई थुनामा राख्दा उहाँले २९ दिनसम्म अनशन गर्नुभयो । उहाँलाई थुनेर राखेको ठाउॅंमा कोठाको आधा भित्तासम्म नीलो काई जमेको थियो, निस्पट्ट अन्धकार थियो, माथिपट्टिको छत छोइएला जस्तो थियो र भर्खर बनाएकोले सिमेन्ट चिसै थियो । बीपीलाई दिन बितेको कसरी थाहा पाउने भन्ने चिन्ताले सतायो र उहाँ चिसो भित्तामा नंगले एक, दुई गरेर चिन्हो लगाउन थाल्नुभयो । उहाँको स्वास्थ्यमा ठूलो समस्या आएपछि अब यसै मरिने भइयो भन्ने लागेर उहाँले अनशन प्रारम्भ गर्नुभएको थियो । बीपीको अनशनको २७ औं दिनमा उहाँको अनशन तोडाउन उहाँकी आमालाई बोलाइयो । आमाले आफूले अनशन तोडाउन नसक्ने जवाफ दिएपछि राणा प्रधानमन्त्री मोहनशमशेरले “त्यसो भए त तिम्रो छोरो मर्छ” भनेछन्, जसको जवाफमा बीपीकी आमाले भन्नुभयो- “मैले यही ठाउॅंमा आफ्ना दुलहालाई सेलाएँ, म आफ्नो छोरो यहीं सेलाउन आएकी छु । यो धम्की मलाई दिनुपर्ने जरुरत छैन ।” हतप्रभ भएर सरकार बीपीलाई रिहा गर्न बाध्य भयो ।
आदर्श र आफ्नो मनले ठहऱ्याएको सत्यका लागि जेलमै प्राण उत्सर्ग गरेका आदर्शवादी पिता र जस्तोसुकै कष्टमा पनि रत्तिभर नआत्तिई दुःखको पहाड उठाउन तयार विरंगना माताका पुत्र बीपीले पनि आफ्नो सारा जीवन आदर्शका लागि समर्पित गर्नुभयो ।





