धनी बन्ने धुनमा बिदेशतिर भौँतारिँदा

“धन कमाउने धुनमा ठूलो जहाज चढ्ने जुन इच्छा गरें, त्यसले मलाई पछाडि पार्‍यो,” जीवनराम पछुताउँछन् । तीन बीस उमेर पार गरेका चितवनका आदिवासी थारु समुदायका उनलाई सात वर्ष उमेर पुगेपछि बुबाले ठूलो मान्छे बनाउने अभिलाषा बोकेर नजिकैको सरकारी विद्यालयमा भर्ना गरिदिए । कक्षाकोठामा पहाडी समुदायका अधिक संख्यामा रहेका नेपाली मातृभाषी साथीहरुको बीचमा उनलाई सधैं हिनताबोध हुन्थ्यो । खुल्न सक्दैनथे, पीपलको सिँयालमा उम्रेको समीको वृक्ष जस्तै । बेलाबखतमा साथीहरुले हेपेर “लेरूवा” भनेर गाली गर्दा “पहाडिया” भनेर कहिल्यै मुख फर्काएनन् । नेपाली विषय उनलाई पटक्कै मन पर्दैनथ्यो । गणित पनि उस्तै गाह्रो लाग्थ्यो । उनलाई सबैभन्दा बढी मन पर्ने विषय पूर्वव्यावसायिक शिक्षा थियो, किनभने यो विषयका सैद्धान्तिक र व्यावहारिक दुबै कक्षाहरु हुन्थे ।
“आज हामीले काष्ठकार्य अन्तर्गत टेबलको मोडेल बनाउनु छ,” शिक्षकले औजारका बाकस र सालका दुईचार टुक्रा फल्याक देखाउँदै कक्षा सातमा अध्ययनरत विद्यार्थीहरुको ध्यानाकर्षण गरे । यो काम जीवनरामबाहेक अरु विद्यार्थीका लागि टाउको दुखाइको विषय थियो । त्यसैले शिक्षकको निर्देशन सुन्ने बितिक्कै सबै विद्यार्थीहरु बिरामी बुबालाई अस्पतालमा पु¥याएका छोराले डाक्टरसँग जीवनको भीख मागे झैं जीवनरामको मुखमा हेर्न थाले । “हुन्छ त के भो ,बनाउँछौं नि, सर”, निकै उत्साहका साथ उनी बोले । पचहत्तर जना विद्यार्थी भएको कक्षामा आज उनी सबैका भरोसाका केन्द्र बने ।
बिरामीको शल्यक्रिया गर्न लागेका सर्जन झैं उनी आरो, बसिला, ह्याम्मर, काँटी लिएर तम्सिए । बाँकी विद्यार्थीहरु उनको वरिपरि सहयोगी नर्सहरु झैं उभिए । विषयवस्तुमा सैद्धान्तिक ज्ञानमात्र भएका पूर्व व्यावसायिक शिक्षाका शिक्षकको भूमिका पनि सहयोगी नर्सहरूको जस्तो मात्र रह्यो । चित्रकारले रङमा चोपेको कुची खेलाउँदा खेलाउँदै वास्तविक वस्तुको आकृति निकाले जस्तै जीवनरामले पनि आरोको घ्यारघ्यार, बसिलाको छ्याक्कछ्याक्क, ह्याम्मरको ट्वाकट्वाक र रन्दाको ख्वारख्वारबाट एकाध घण्टामै एउटा टेबलको मोडेल बनाएर सबैको अगाडि राखिदिए । सबैले ताली बजाएर उनको प्रशंसा गरे, र उक्त टेबलको किनारामा “कक्षा–७ का विद्यार्थीद्वारा निर्मित” लेबल टाँस गरी शिक्षकलाई हस्तान्तरण गरियो । त्यो दिनदेखि कसैले पनि उनलाई “लेरूवा” भनेर गिज्याउन सकेनन् । अब उनी सबैका प्रिय मित्र जीवनराम भए । पूर्व व्यावसायिक शिक्षा विषयको कक्षा पनि सबैका लागि चाखलाग्दो हुन थाल्यो । उनले नै पाठ्यक्रम अनुसारको काठ, माटो, ऊनी धागो, गहुँको छ्वाली, मकैको खोस्टाबाट विभिन्न सामग्री तयार गर्थे र “कक्षा–७ का विद्यार्थीद्वारा निर्मित” लेबल टाँसिदिन्थे, अनि प्राक्टिकलमा सबै विद्यार्थीहरु उत्तीर्ण हुने नै भए । उनले लगाएको गुनको बदलामा अरू साथीहरुले उनलाई नेपाली, गणित, विज्ञान, अंग्रेजी जस्ता विषयको गृहकार्य गर्न सहयोग गर्थे । यसरी उनको कलात्मक सीपले त्यतिबेलाको समाजमा पहाडिया साथीहरुसँग उनलाई घुलमिल हुन निकै सहयोग गर्‍यो । शिक्षकहरूबाट पनि उनले स्याबासी पाइरहे ।विद्यालयबाट आयोजित हस्तकला, चित्रकला प्रतियोगिताहरुमा उनले संधै अग्रस्थान ओगट्थे ।
हरेक वसन्तपञ्चमीका दिन उनले माटोबाट बनाएका सरस्वतीमाताको मूर्तिमा पूजा गरिन्थ्यो । पूजाको भोलिपल्ट सरस्वतीमाताको जयजयकार गर्दै मूर्ति विसर्जन गर्न बरण्डाभार जंगल स्थित वीसहजारी तालमा शिक्षक र विद्यार्थीको लावालस्करमा उनी मूर्ति बोक्ने दाइ नजिकै माताको शवयात्रामा हिडेको पुत्र झैं मलिन मुद्रामा देखिन्थे । जीवनराम वि.सं २०२७ सालदेखि लगभग एक दशकसम्म अरुणोदय स्कुल, गीतानगरमा एक असल कलाप्रेमी विद्यार्थीको रुपमा परिचित रहे।
“मेरो छोरा जीवनले फेरि स्कुल पास गरेछ, क्याम्पस पढ्छु भनेछ, बाजे”, बुधनले विश्वनाथ बाजेसँग दाहिने हातको बुढी औंलाले देब्रेहातको हत्केलामा सूर्तीको पात मिच्दै खुसी व्यक्त गरे । सुरुमा डेढ बिघा खेत पैतृक सम्पत्तिको रुपमा पाए पनि खेती गर्ने पुरानो तरिका भएकोले खासै धेरै उत्पादन हुंदैनथ्यो, संयुक्त परिवारमा १०–१५ जनाको लागि दैनिक भात पाक्थ्यो । खानामा विविधता नहुंदा बिहान, दिउँसो, बेलुका तीनै प्रहर भात खाने प्रचलन रहेकोले तत्कालीन थारू समुदायमा आफ्नो खेतको उत्पादनले ७–८ महिनामात्र धान्न सक्थ्यो । त्यसैले पहाडिया बाजेहरूको अनौ नसमाती घर चल्न मुस्किल पथ्र्यो । “किताब, कापी किन्न, भरतपुरको क्याम्पस आउनजान एउटा साइकल पनि चाहियो, क्याम्पसमा फिस फेनि लाग्छ भनेछ छोराले”, बुधनले पैसा ऋण सापट माग्ने पृष्ठभूमि बनाउन थाले । बाजेलाई पनि नोकरको छोरालाई क्याम्पस पढ्न सघाएर बाठो बनाउनु थिएन । बाजेहरुको जालसाजीमा परेर थारु समुदायले हरेक वर्ष आफ्नो जग्गा घटाउँदै गैरहेका थिए ।
बुधन पनि यो समस्याबाट अछुत रहन सक्ने कुरै भएन । “छोड्दे बुधन, पढेर कस्ले पो के नापेको छ र ? जागिर खान सजिलो छैन, धेरै पढेर पनि । खर्च खरेर के गर्नु ? १६–१७ वर्षको भैहाल्यो, अक्षर पनि चिन्यो । अब आफैंसंग काममा लिएर हिंड्, आम्दानीमा केही थपथाप पनि हुन्छ ।” बुधनले सुर्तीमा चुना थपे, तीन पटक थप्थपाएर सुर्तीको धुलो उडाए । एउटा लुँडो तल्लो ओठभित्र घुसारेर एक पटक रछानको छेउमा पिच्च थुके । “ठिकै हो बाजे, थारुको छोराले पढेर के गर्न सक्छ र ? मुईं बेटवाके यीहे काम सिखोबही ।´´
सूर्योदयसंगै थारु समुदायका नौजवानहरु आँखा मिच्दै नजिकै रहेको नहरको पुलको डिलमा टुसुक्क बसेर आफ्नो दैनिक कामका अनुभवहरु साटासाट गर्छन् । खेतीको मौसम अनुसार खेतको आली लगाउने, जोत्ने, रोपो गोड्ने, धान काट्ने, मसुरो उखेल्ने, तोरी उखेल्ने, मकै गोड्ने, घरको ईंटा जोड्ने, झ्यालढोका बनाउने जस्ता काममा जान्छन् यी युवाहरु । स्कुलमा २–४ कक्षा पढेपछि उनीहरुको पढाइ पूरा हुन्छ । जीवनरामले एस.एल.सी. पास गरेर उनी आफ्नो समुदायको तारा झैं भए । उनी पनि साथीहरुसंगै काममा जान्थे,उनको विशेष रुचि काठको काममा थियो । स्कुल जीवन उनको लागि अब विगत भैसकेको थियो भने उच्चशिक्षा कहिल्यै बिपना नहुने सपनामात्र ।
बुधनले छोराको विवाह गरिदिएर आफ्नो अभिभावकीय जिम्मेवारी पूरा गरे । जीवनराम पनि अब परिवारका परिपक्व घरमुली भए । स्कुल छोडेको निकै वर्ष बितिसक्दा पनि उनका हातले पूर्व व्यावसायिक शिक्षा पढ्दाको कालिमाटी, आरो, बसिला, पेन्सिल अनि कुची खोजिरहन्थे । फुर्सदको समयमा आफ्नै घरको भित्तामा गैंडा, बाघ, मयूरका चित्र कोरेर रङ भर्थे । थारू समुदायका परम्परागत घरका भित्तामा चितवनका जंगलमा डुल्ने जनावर र चराचुरूङ्गीका चित्रहरु देखिने गर्छन् । उनले भगवान शिवको मूर्ति बनाएर बार्दलीमा प्रदर्शन गरेका छन् । स्पन्जलाई विभिन्न कलात्मक आकृतिहरूमा कटिङ् गरेर आफ्नो कोठामा सजाएका छन् । यी सबै कलात्मक कार्य उनको सोखको लागि मात्र थियो । उनीभित्रको प्रतिभालाई आर्जनसँग जोड्नेबारे न उनले सोचे, न त अरू कसैबाट हौसला र प्रेरणा नै पाए । चट्टाने तारेभिरमा एउटा लालीगुँरासको विरूवा त उम्रियो, तर न मर्न सक्यो न बढ्न सक्यो, फगत शिशिर ऋतुको फर्सीको बोट झैं कक्रिइरह्यो।
असोज महिनाको पहिलो हप्ता पुग्दा चितवनको गर्मीको रापताप घट्दो थियो । हरिया फाँटमा सूर्यको कलिलो किरण पोखिँदा रोपोका टुप्पाटुप्पामा मोती झैं टल्कने सितका थोपाले वातावरणलाई रम्य तुल्याएका थिए । धान खेत गोडेर सकिएको, भदौरे खोलानालाहरु अझै आफ्नो पूर्ववत स्थानमा फर्किनसकेकाले ढुंगागिटीको अभावमा डकर्मी–सिकर्मीहरु पनि फूर्सदमै थिए । थारू समुदायमा यतिबेला खानपान र गफगाफमै समय बित्थ्यो । पहाडिया समुदायमा दशैंको चहलपहल सुरू भैसकेको थियो । थारूहरु पनि दशैंको अवसरमा गुरौको हातबाट केसरीमा मुछेको पहेंलो टीका लगाएर आशीर्वाद लिने दिनको प्रतीक्षामा थिए । पुलको दुईवटै डिलमा आम्नेसाम्ने बसेर युवाहरु सदा झैं गफगाफमै मस्त थिए । उनीहरुको समुहमा झण्डै दुई वर्षपछि आज बेचन महतो पनि देखिए । जिनको निलो प्यान्ट्, नाइक कम्पनीको कालो जुत्ता, खैरो टपक्क मिलेको टी–सर्ट, अगाडि पाली भएको निलो टोप, देब्रे नाडीमा घडी, अनि कालो चस्मामा सजिएर खुस्बुले मग्मगाएका बेचन उनका दौँतरीभन्दा फरक देखिन्थे ।
“हैट, कसनक जाबड हवाइजहाज; पहिले पहिले त डर लगइ रहलयी,” बेचनले हवाईजहाज यात्राको रोमान्चक अनुभव सुनाए । अग्लाअग्ला भवन, लामालामा रेलगाडी, सफा फराकिला सडक, निला समुद्रका सेता छालहरु, भीमकाय पानीजहाज, खानाका परिकार र मूल्यको कथा सुनाए । पञ्चरात बस्न आएकी चेलीलाई माइती परिवारले हेरे झैं एकटकले हेर्दै उनका दौँतरीहरु उनका कथाहरु रुचिपूर्वक सुनिरहे । “अरे, वियर र मासु यसनक सस्ता बढई ?”
जीवनरामले घुटुक्क थुक निल्दै आश्चर्य जनाए । बेचन वैदेशिक रोजगारको सिलसिलामा साउदी अरेविया गएका थिए । उनी एउटा सुपरमार्केटमा विक्रेताको रुपमा काम गरेर दुई वर्षपछि दशैं मनाउन र परिवारसँग भेटघाटको लागि बिदामा आएका थिए । यो अवधिमा उनले बाबुको पालाको खरको छानो फालेर जस्तापाताको छानो लगाए, ढड्डीको बारको ठाउँमा ईंटाको भित्ता बनाएर नयाँ घरमा परिवारलाई थन्क्याए । अब उनको परिवार फल्याकले बेरेको सामुहिक इनारमा पानी लिन जान छोडे । आफ्नो घरको पछाडि चापाकल गाडिदिए । पक्की शौचालय बनाए । अब उनीहरु बिहान उठेर घोलतिर जान छोडे । छोराछोरीलाई सरकारी विद्यालयबाट झिकेर अंग्रेजी स्कुलमा भर्ना गरिदिए । छोराछोरीहरु टाइसूट लगाएर बस चढेर स्कुल जानथाले । घरमा थारू भाषाको सट्टा नेपाली र अंग्रेजी भाषामा बोलचाल हुन थाल्यो । सबैले बेचनलाई मयूर ठान्न थाले, र आफूलाई काग ।
बेलुकीको खाना खाएर आफैंले बनाएको पलङमा आफ्नी पत्नी पैगीसँग सुतेका जीवनरामलाई आज निद्रा परेन । पुस महिनाको ठण्डीमा पनि उनलाई कतै पोले झैं भयो । ओल्टोकोल्टो फर्किए, छिनछिनमा शौचालय गए, तर पनि निदाउन सकेनन् । “यखन लहि हैन सुतल ?” पैगीले झर्केर सोधिन् । “मुईं बेचन मामा क साँङे जेबसु, एतुरा कमाइ से नाहिं घर चल्तउ।” बेचन मामासँग साउदी जाने जीवनरामको इच्छाप्रति पैगीले सहजै सहमति जनाइन् । किनभने बेचनको परिवारमा आएको बहार उनको आँखा अगाडि नाचिरहेको थियो । समृद्धिको पोखरीमा डुबुल्की मार्दै उनीहरुले त्यो रात बिताए । निदाउन सकेनन् ।
माघ महिनाको जाडो चम्केको छ । पृथ्वीले सेतो च्यादर ओढे झैं हुस्सुले ढपक्क ढाकेको छ । जीवनराम पायल चप्पल, कालो कट्टु र एउटा गञ्जीको भरमा थरथर काम्दै विश्वनाथ बाजेको आँगनमा छिर्छन् । उनको कपाल, आँखाका परेला र लुगा सितले निथ्रुक्क भएका छन् । बिष्णुमायाँ बज्यै दैलो पोत्दै थिइन् । “यति बिहानै आइस् त आज, जीवन ?” बज्यैले आश्चर्यात्मक भावमा सोधिन् । “बाजेसँग एउटा सानो सल्लाह छ, बाहिर बोलाइदिनु न है, बज्यै ? जीवनले अनुरोध ग¥यो । बज्यै भित्र पसिन्, ऊ आँगनमा यताउता टहलिन थाल्यो ।
“यता सुन्, जीवन”, बाजेले देब्रे हातले पावरवाला चस्मा नाकको डाँडीमा टेकाउँदै कड्कन थाले, “नब्बेहजार रूपैया भनेको सानो रकम होइन । तँलाई म कसरी विश्वास गरेर दिन सक्छु ? अर्को कुरा तँ साउदी गएर पैसा कमाउन सक्छस् भनेर कसरी पत्याउने ? घाँटी हेरेर हाड निल्न सिक्, मेरो सल्लाह मान्छस् भने ।”
प्रहरी हिरासतमा केरकारमा परेको बन्दी झैं जीवनराम भूईंतिर हेर्दै दाहिने गोडाको बुढी औंलाले माटो कोर्न थाले । नाजवाफ, स्तब्ध । जीवनभर बाजेको सेवामा आफूलाई समर्पित गरेर पनि घरमा एउटा लोटासम्म जोड्न नसकेका, बरु आफ्नै कठ्ठा गुमाएका, दम बढेर निसासिँदा अस्पतालको मुखसम्म नदेखी स्वर्गे भएका पिताजीको अनुहार झलझली सम्झे जीवनरामले । अर्कोतर्फ, विदेशिएपछि बेचन मामाको परिवारमा छाएको खुसी उनको आँखा अगाडि घुम्न थाल्यो । साहस बटुलेर बिस्तारै शिर उठाए, तर पनि बाजेलाई सिधा हेर्न सकेनन् । आँगनको डिलमा झपक्क फूलेको गुर्दौली फूलतिर नजर लगाउँदै भने, ”मेरो अंशको खेत दृष्टिबन्धकी पास गरेर दिन्छु, ऋण फिर्ता गर्न नसके जग्गा हजुरकै हुन्छ ।” बाजेले ध्यानमग्न मुद्रामा एकछिन आकासतिर हेरेर बोले,”ठीकै छ नि त त्यसो भन्छस् भने ।”
जीवनरामको घरमा आज बिहानै निकै चहलपहल छ । पैगीले हिजो बेलुकी नै सयपत्री फूलको कम्मरसम्म पुग्ने माला उनेकी छन् । कचौरामा अबीर तयारी अवस्थामा छ । छिमेकी आमाहरु पनि पिठ्यूँमा भुराभुरी बेकेर जीवनरामको आँगनमा जम्मा भएका छन् । बेहुली अन्माउन लागेको घर जस्तै भएको छ जीवनरामको घर आज ।
बेचन मामाको परिवार पनि भित्रबाहिर गरिरहेका छन् । “ल याबे जीवना भागी चम्कइ बढै”, सोभनले खुसी व्यक्त गरे । उनी थारू समुदायका पुराना मान्छे हुन् । “घरक दुःख सुख देखके आपन कमाइ जोगसी,” नरेन्द्रले सल्लाह दिए । उनी यस समुदायका पढेलेखेका स्थापित व्यक्तित्व हुन् । अन्त्यमा, दुई हातले विदाइ माला पहि¥याइदिंदै पैगीले जीवनलाई अंगालिन् । “मोरके झिन बिसरोइ हे, बुढवा,” गला अवरुद्ध पार्दै बोलिन् । जीवनरामले गोजीबाट हाते रुमाल झिके, आफ्नो आँखा पुछे, अनि पैगीको पनि पुछिदिए ।
साउदी अरेबियाको दमाम भन्ने सहरमा निर्माण कार्यमा जागिरे भए उनी । हिमाली देशको छाप्रोमा जीविका गर्दै आएको एउटा पैंतिस वर्षे युवक ४५ डिग्रीसम्मको गर्मीमा पाँच तलासम्म उक्लेर ढलाइको लागि सेन्ट्रिङ गर्दा न गर्मीले छटपटियो न त कहालियो नै । उसको बाहिरी आँखाले आफ्नो काम देखे पनि मनको आँखाले विश्वनाथ बाजेको ऋण रकम र पैगीको आँसु मात्र झलझली देखिरह्यो । छ सय रियाल तलब थाप्न एक महिना पर्खनु पथ्र्यो । त्यही पनि समयमा नपाइने । उक्त रकमबाट गाँसबासको जोहो गरेर दुईपैसा जोगाउन मुस्लिम पथ्र्यो । विदेशी भूमिमा लामो समय टिक्न सकेनन् । मुस्किलले बन्धकी फिर्ता गर्ने रकम जुटाएर दुई वर्षपछि घर फर्के ।
जुवाडेले खेल हारे भने दाउ फेर्छन्, खाल छोड्दैनन् । जीवनलाई पनि ठूलो जहाज चढ्ने बानी प¥यो । एक दिन एउटा साथीले कतारमा राम्रो कमाइ छ भनेर सुनायो । यस पटक उनी विश्वनाथ बाजेको घरमा जान परेन । सामाजिक विश्वास आर्जन गरिसकेका थिए उनले । सय कडा तीन व्याज तिर्ने सर्तमा एक लाख ऋण लिएर कतारको सनैया भन्ने स्थानतर्फ उडे । उनीबाट परिवारले त्यति धेरै आशा गर्न छोडिसकेका थिए । तर पनि उनले हिम्मत हारेनन् । आफ्नो प्रयत्न जारी राखे । नरेन्द्र दाइको सल्लाह र बेचन मामाको सफल जीवनले उनलाई ऊर्जा दिइरह्यो । यस पटक उनले काठको झ्यालढोका बनाउने जागिर पाए । यो कामले उनको सीप र रूचिसँग मेल खायो, तर तलब प्रतिमहिना सात सय रियल मात्र थियो । एक छाक रूखासुखा खाएर केही रकम बचाएर साहुको ऋणको सावाँव्याज चुक्ता गरे, अनि रित्तो हात घर फर्के । त्यसपछि बर्मा गए पनि कर्म संगै भन्ने उक्ति सम्झेर केही समय घरमै बसे । मेलापात गए, घरमै बसेर काठको काम गरे, तर खै किन हो काम गर्न हातै लागेन ।
विदेश सवारको प्रेतले उनलाई कहिल्यै छोडेन । गन्तव्य देश भने बदलिरहे । यस पटक बहराइन जाने निधो गरे । एकलाख पच्चीस हजार रुपैयाँ ऋण लिए । सबै कागजपत्र तयार गरेर निकै मिठो सपना बोकेर त्यसतर्फ उडे । कार्यस्थलमा पुग्दा सम्झौता विपरीत उनलाई कुल्ली काममा लगाइयो । काम गर्न नसकेर उनी तुरुन्तै घर फर्के । समुदायको आँखामा उनी फुच्चो हुँदै गए । छोराछोरीले पनि उनका कुरा खान छोडे । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भन्ने उखान चरितार्थ भयो । तैपनि फलामले फलामलाई काट्छ भन्छन् । विदेश जाने चक्करबाट सिर्जित आर्थिक र मानसिक समस्यालाई विदेश गएरै समाधान गर्ने अठोट बोकिरहे जीवनरामले ।
अब दुबई जाने पालो । पैगीले चौथो विदाइको माला पहि¥याइदिइन् । उनको विदाईमा छिमेकीहरु, काकामामाहरु उपस्थित हुन छोडिसकेका छन् । दूध नदिने थारो भैंसीलाई हरियो घाँस, कुँडो खुवाउनुको के अर्थ रह्यो र ? विदेशबाट फर्कंदा न कसैलाई गुलियो खजुर ल्याइदिन सके न कुनै उपहार । आफ्नो पतिको मनोकांक्षा पूरा होस् भन्ने शुभकामनासहित जीवनरामलाई हरेक पटक विदाइ गर्थिन्, र रित्तो हात फर्केर आउँदा सहानुभूतिको बर्को ओढाइदिन्थिन् पैगीले।
दुबईको नेशनल होटलमा झ्यालढोका मर्मत गर्ने, नयाँ चाबी बनाउने काममा जागिर पाए जीवनरामले । यस पटक एक हजार दिराम तलब हरेक महिना मरेपछि बुझ्न थाले । यहाँ उनले केही राहत भएको महसुस गरे । होटलले हरेक नयाँ वर्षमा कला प्रदर्शनीको आयोजना गथ्र्यो । जीवनरामले उक्त कार्यक्रमहरुमा सधैँ भाग लिन्थे । हात्ती, गैंडा, त्यहाँको राष्ट्रिय चरा बाज, अनि नेपाली पोशाकमा केटाकेटीको मोडेल तयार पार्न उनी रुचि राख्थे । स्पन्ज कटिङ् गरेर तयार पारिएका उनका हस्तकलाहरु प्रदर्शनीमा सधैँ प्रथम हुन्थे ।
“विदेशमा रहेर पनि आफू पुरस्कृत हुन पाउँदा दंग पर्थें । आफ्नो रूचि, कला र सीप प्रदर्शन गर्न पाउँदा गर्वानुभूति हुन्थ्यो । त्यहाँ मैंले सात वर्ष काम गरेँ, अलिअलि बचत गरेर एउटा सानो घर बनाएँ, परिवारलाई नयॉ लुगा किनिदिएँ, ओठमा केही मुस्कान ल्याइदिएँ, बस् यत्ति हो,” सुर्ती चपाएर मकाएका पहेंला दाँत देखाउँदै जीवनराम हाँसे ।
अतीततर्फ फर्कंदै, धन आर्जनको मोहमा पटकपटक विदेशतिर भौँतारिएर आफूले बुद्धि पु¥याउन नसकेको निष्कर्ष सुनाउँछन् जीवनराम । “नेपालमा बसेर आफ्नो कला र सीपलाई तिखार्न सकेको भए आज मेरो हैसियत अर्कै हुन्थ्यो,” आफ्नो घरको भित्तामा अंकित हस्तचित्रहरू नियाल्दै उनी भावुक हुन्छन् । “मैले आफ्नो क्षमतालाई चिनेर सोही अनुसारको पेसा बेलैमा अँगाल्न नसक्नु नै मेरो जीवनको भूल रह्यो,” उनको ह्दयबाट यी शब्द छुटे। “तर पनि म अहिले खुसी छु ।
बाबुछोरा मिलेर आफ्नै लगानीमा एउटा सानो फर्निचर उद्योग संचालन गरेका छौं । बाहिर ज्यालामा सिकर्मी काममा जाँदा पनि दिनमा ४–५ हजार रुपैयाँ कमाइ हुन्छ । बिहानबेलुका नातिनातिना खेलाउँछु । समय मिलाएर आफ्नो टोलको सामाजिक काममा पनि सरिक हुन्छु । अब वरत्र मात्र होइन, परत्र पनि सुधार्नु पर्‍यो नि,” जीवनरामको मुहार उज्यालो हुँदै जान्छ ।
bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट