भरतपुर, ११ भदौ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता एवं माननीय अर्थमन्त्री बहादुरसिं लामाले पार्टीका सभा सम्मेलनहरु पार्टीभित्र एकता कायम गर्न फलदायी हुने विचार राखेका छन् । सदस्य लामाले कांग्रेस पुरानो पार्टी भएको र यसको जरा गहिराईसम्म पुगेकाले सभा सम्मेलनले पार्टीभित्रका मनमुटाव मेटाएर एकता कायम गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. ३ क चितवनले सोमबार रामपुरमा आयोजना गरेको प्रदेश सभा सम्मेलनलाई सम्बोधन गर्दै सदस्य लामाले कांग्रेसीहरुले एकता कायम गरी इमान्दारीका साथ अगाडि बढे कुनै पनि दलले कांग्रेससँग मुकाबिला गर्न नसक्ने बताए ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली कांग्रेसले राजनीतिक उद्देश्य प्राप्ति गरेको तर त्यसलाई संस्थागत गर्न नसकिएको बताए । गाउँटोलमा बस्ने हरेक क्रियाशील सदस्यले आर्थिक समृद्धितिर ध्यान खिच्नु आजको आवश्यक रहेको प्रष्ट पार्दै खनालले सबैले हातेमालो गरेर साथ दिए त्यो गन्तव्य टाढा नरहेको उल्लेख गरे ।
कार्यक्रममा २००७ सालबाट आजसम्म पार्टीको विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने वीर सहिदहरुमध्ये १२ जना सहिद परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो । भरतपुर–१७ रामपुरमा आयोजित सम्मेलनमा धर्मध्वज गुरुङ, लालध्वज गुरुङ, इमानसिंह गुरुङ, शमशेरबहादुर गुरुङ, हस्तवीर गुरुङ, खेमबहादुर गुरुङ, हरिप्रसाद गुरुङ, सर्वसिंह गुरुङ, भरत गुरुङ, बुद्धसिंह रानामगर, गणेश पौडेल र किसन कुमालको परिवारलाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशका माननीय गीता गुरुङ, माया श्रेष्ठ, क्षेत्रीय सभापति लालबहादुर दवाडी, निवर्तमान प्रदेशमन्त्री मिलनबाबु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता प्रदेश सभापति खेमनारायण सापकोटाले गरेका थिए ।





