गैँडाकोट, १० भदौ ।
गैँडाकोट वडा नम्बर ६ मा छरपष्ट रहेका तार व्यवस्थित गर्न आइतबार सर्वपक्षीय छलफल भएको छ । वडा कार्यालय, राजनीतिक दल, टोल विकास संस्था, नेपाल टेलिकम, विद्युत प्राधिकरण, केबुल, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिबिच सर्वपक्षीय छलफल भएको हो ।
भेलाले सेवा प्रदायक कम्पनीलाई तार व्यवस्थापनका लागि अनुरोध गर्दै सूचना जारी गर्ने र भदौ २१ गते कालिकाचोकदेखि तार व्यवस्थापन एवं अनावश्यक तार काट्ने निर्णय गरेको छ ।
वडाको सौन्दर्य नै बिग्रने गरी तार छरपष्ट भएको, घर नजिकका पोलहरुमा रहेका तारका कारण कुरुप देखिएको, पटकपटक आगलागीको सामना गर्नुपर्नेको, लत्रिएका तारमा अड्किने जस्ता जोखिम रहेकोले व्यवस्थित गर्न लागिएको वडा अध्यक्ष सुभाष चापागाईंले बताए । यसअघि अव्यवस्थित तार काटिने ३५ दिने सूचना जारी गरिसकिएको जनाउँदै उनले सेवा प्रदायक कम्पनीलाई व्यवस्थित गर्न आग्रह गरे ।
नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखा प्रमुख सुजन रिजालले बिजुलीका तारभन्दा १ मिटर तलबाट तार राख्नुपर्ने प्रावधान भए पनि टेलिकम, केबुल र इन्टरनेट प्रदायक कम्पनीले सो नियम पालना नगरेको बताए । अधिकांश स्थानमा बिजुलीका पोलमा आगलागी हुने कारण भनेको बिजुलीको तार नभइ इन्टरनेटका तार देखिएको उनको भनाई थियो ।
नेपाल टेलिकम गैँडाकोट शाखा प्रमुख अर्जुन लामिछानेले यस्ता तार पुनः प्रयोग पनि नहुने र नष्ट पनि नहुने भएकाले पहिले नै सचेत बन्नुपर्ने बताए । नेपाली काँग्रेस गैँडाकोट ६ का सभापति प्रकाश भुसालले प्रयोगमा नरहेको तार काटेर फाल्ने र प्रयोगमा आएकालाई संकेत चिन्ह लगाउनुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति कुशल अधिकारीले पोलमा रहेका तार सेवाग्राहीको सम्पत्ति भएका कारण वडाबासीले चाहे हटाउन सकिने बताए । उपस्थित स्थानीयले इन्टरनेट अपरिहार्य आवश्यकता भएको तर यसलाई भूमिगत वा व्यवस्थित गर्न सुझाव दिएका थिए ।
सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरुले इन्टरनेट सोसाइटी स्पाममा आवद्ध सेवा प्रदायक नियमसंगत नै रहेको र अन्यले गर्दा दोष पाएको बताएका थिए । उनीहरुले संकेत चिह्न राखिनु राम्रो रहेको बताएका छन् । स्थानीयले घर अगाडि लगाएका बोटबिरुवाका कारण, विद्युतका पोल होचो भएका कारण र फिल्डमा काम गर्ने कामदारका कारण समस्या रहेको बताएका थिए । वडाले गर्ने काममा सहयोग रहने उनीहरुको भनाइ थियो । टेकमाइन्ड, वर्ड लिंक, सुविसु, सिजी, चित्रवन नेट लगायतका कम्पनिबाट प्रतिनिधिको उपस्थिति रहेको थियो ।
वडा कार्यालयले भदौ १५ गतेदेखि तारहरु सफाइ गरिने जनाउँदै इन्टरनेट सेवा प्रदायकहरुलाई आ–आफ्ना केबुल पहिचान संकेत हरेक पोलहरुमा रहेको जक्सन बोर्ड तथा तारमा प्रयोग गर्न सूचना जारी गरेको थियो । निर्धारित समयभित्र उक्त कार्य नगरेमा संकेत तारबाहेकका अन्य सबै हटाइने बताइएको छ ।




