नारायणगढ–मुग्लिङ सडकको पहिरो पन्छाउन ५ घण्टा जति लाग्ने

भरतपुर, ५ भदौ ।
नारायणगढ–मुग्लिङ सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टा लाग्ने भएको छ । सोमबार साँझ करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्छ सक्छ”, उनले भने ।

रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् । रातभर काम निरन्तर भएको तामाङले बताए ।

गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिङका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेलले अनुरोध गरे ।

उनले काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिङ, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र गैँडाकोटमा रोकिएको छ । नारायणगढ–मुग्लिङ सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट