भरतपुर, ५ भदौ ।
गैँडाकोटस्थित अक्सफोर्ड कलेजले आफ्नो कमजोरी ढाकछोप गर्न सञ्चारमाध्यमलाई धम्की दिन थालेको छ । अराजक समूह परिचालन गरी कलेजले सञ्चारमाध्यमलाई धम्क्याउन थालेको हो ।
सोमबार दिउँसो कलेजको अराजक समूहले चितवन पोष्ट दैनिक र नारायणी अनलाइनमा पालैपाले पुगेर धम्की दिएको हो । कलेजका सञ्चालक हरि भण्डारीका छोरा रोहन सहितको टोलीले पत्रिका र अनलाइनको कार्यालयमा पुगेर गुण्डागर्दी शैलीमा पत्रकारहरुलाई आतंकित पार्ने काम गरेको भन्दै यहाँका पेशागत विभिन्न संगठन र सञ्चार गृहहरूले विरोध जनाएका छन् ।
उक्त कलेजको बसले गत साउन ३१ गते बुधबार टिकौली जंगलमा शव बोकेको बोलेरो गाडी, ४ वटा मोटरसाइकल र २ वटा स्कुटर गरि ७ वटा सवारी साधनलाई ठक्कर दिएको थियो । बसका चालकको स्वास्थ्य परीक्षण गर्दा उनले लागूपदार्थ सेवन गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
प्रहरीको भनाइलाई उधृत गर्दै चितवन पोस्ट दैनिक र नारायणी अनलाइन डटकममा सोमबार ‘चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना’ शीर्षकमा समाचार छापिएको थियो । अक्सफोर्ड कलेजका सञ्चालक हरि भण्डारीले उक्त समाचारको खण्डन गर्दै जारी गरेको बिज्ञप्तिमा आफ्नो बस चालकले लागुपदार्थ सेवन नगरेको दाबी गरेका छन् ।
समाचार छापिएको विषयमा सञ्चारमाध्यमको कार्यालयमै पुगेर हुलहुज्जत गरेर सञ्चारकर्मीलाई आतंकित पारिएको भन्दै चितवन पोस्ट दैनिक र नारायणी अनलाइनले छुट्टाछुट्टै बिज्ञप्ति निकालेर भर्त्सना सहित प्रशासनको ध्यानाकर्षण गराएका छन् । समाचार सत्यतथ्य हुँदाहुँदै पनि सञ्चार गृहमै आई धाकधम्की दिँदा आफूहरू असुरक्षित महसुस भएको चितवन पोष्ट दैनिकका प्रबन्ध निर्देशक गोविन्द अर्यालले बताए ।
‘समाचार माथि चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने अवस्थामा पनि सञ्चार गृहमै आई धाकधम्की एवम् चेतावनीपूर्ण भाषा बोल्नुलाई स्वतन्त्र पत्रकारितामाथि धावा बोलेको हाम्रो ठम्याइँ छ’, विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी नारायणी अनलाइनले पनि विज्ञप्ति जारी गर्दै यो घटनाले सञ्चारमाध्यमलाई आतंकित र पत्रकारलाई हतोत्साही बनाउने काम गरेकोले सुरक्षाको प्रत्याभूति दिलाइदिन जिल्ला प्रशासन कार्यालय चितवन समक्ष आग्रह गरेको छ ।




