देवचुली, ३ भदौ ।
नारायणी नदीमा माछा मार्ने क्रममा शनिबारदेखि बेपत्ता भएका देवचुलीका मंगल पुलामीको शव फेला परेको छ। कावासोती- ११ लौगाईस्थित लोकाहा खोला र नारायणी नदीको दोभानमा माछा मार्न गएका देवचुली ११ पृथ्वीनगरका २० वर्षीय मंगल पुलामी बेपत्ता भएका थिए ।
पुलामी बेपत्ता भएदेखि नै आफन्तलगायत स्थानीय र माझीहरुले खोजी गरिरहेका थिए । देवचुली नगरपालिकाका नगरउपप्रमुख पार्वता तिवारी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली- १० का वडाध्यक्ष रेप्तीकुमार घर्तीमगरलगायत आफन्त र स्थानीयहरु पुलामीको खोजीको लागि नदी किनारमा रहेका थिए ।
स्थानीय माझीहरुले बेपत्ता भएको स्थान नजिकैबाट पुलामीको शव फेला पारेका थिए। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बेपत्ता पुलामीको शव आइतबार दिउँसो १ बजे लोकाहा खोला र नारायणी नदीको दोभानमा फेला परेको हो ।
पुलामीको शव पोष्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल लगिएको छ।





