देवचुली, ३ भदौ ।
देवचुली नगरपालिका वडा नम्बर ९ मा किशोरीहरुलाई भलिबल प्रशिक्षण सुरु गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोग तथा वडा खेलकुद समितिको आयोजनामा शनिबारबाट भलिबल प्रशिक्षण सुरु गरिएको हो ।
किशोरीहरुलाई भलिबल खेलको निरन्तर अभ्यास गराउन र विभिन्न प्रतियोगितामा सहभागी गराउनका लागि प्रशिक्षण राखिएको जिल्ला भलिबल संघका उपाध्यक्ष चन्द्र थापाले जानकारी दिए । किशोरीहरु जिल्लास्तर तथा प्रदेशस्तरको खेल साथै अन्डर-१८ राष्ट्रिय भलिबल खेलमा सहभागी भइसकेको र आगामी खेलका लागि जिल्ला भलिबल संघका प्रमुख प्रशिक्षक रामनारायण महतोले प्रशिक्षण गर्ने थापाले बताए ।
वडा खेलकुद समितिका सदस्य प्रियंका रानाको अध्यक्षतामा भएको प्रशिक्षणको उद्घाटन कार्यक्रममा देवचुली वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुन, देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, गण्डकी प्रदेश भलिबल एम्पायर तथा जिल्ला भलिबल संघ नवलपुरका उपाध्यक्ष चन्द्र थापा, देवचुली नगर युवा तथा खेलकुद विकास समितिका उपाध्यक्ष अमर घर्ती मगर, देवचुली नगर भलिबल संघका उपाध्यक्ष हिक्मत ओली, देवचुली ९ का भलिबल टिम व्यवस्थापक सोमानसिं रानालगायतको उपस्थितिमा प्रशिक्षणको उदघाटन गरिएको हो ।
उदघाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष सापकोटाले किशोरीहरुको खेलकुदलाई प्राथमिकता दिएर वडाले यस आर्थिक वर्षमा विनियोजित बजेटबाट प्रशिक्षण सुरु गरिएको बताए । २५ जना किशोरीहरुलाई २० दिनसम्म संचालन गरिने प्रशिक्षणबाट किशोरीहरुको क्षमता वृद्धि गर्न सहयोग पुग्ने उनले बताए । वडा अध्यक्ष सापकोटाले वडा कार्यालयले वडामा खेलकुदका क्रियाकलाप संचालन गर्न सहयोग गरिरहेको र आगामी दिनमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुन, देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले प्रशिक्षणको शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रमको संचालन समाजसेवी दीपक भट्टराईले गरेका थिए ।





