कावासोती, २ भदौ ।
कावासोती नगरपालिका वडा नम्बर ११ मा दुर्व्यवहार सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । क्यान्नलान स्विजरल्याण्डको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नम्बर ११ को कार्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नवलपुर किशोरी संजालको समन्वयमा शुक्रबार कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कावासोती नगरपालिकामा जागृति बाल तथा युवा सरोकार नेपालद्वारा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत भईरहेका कार्यक्रमहरुसहित कार्यक्रमको उद्देश्य र विषयवस्तुको बारेमा संस्थाका सहजकर्ता राधादेवी बोटेले जानकारी दिइन् । किशोरकिशोरी तथा बालबालिकामा हुने हिंसा न्यूनीकरणका लागि सरोकारवाला सचेत गराउनका लागि कार्यक्रम गरिएको उनले बताइन् । 
नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेको बाल क्लबका अध्यक्ष विजय बिकको अध्यक्षता भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पंगेनीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा शिक्षकशिक्षिकाहरु, बालक्लबका प्रतिनिधिहरु, विद्यालयमा अध्ययनरत बालबालिकाहरु, किशोरी अभियन्ताहरुलगायतको सहभागिता रहेको थियोे ।
कार्यक्रममा हिंसा, दुर्व्यवहार भनेको के हो ?, राम्रो छुवाई र नराम्रो छुवाई भनेको के हो ?, हिंसा, दुर्व्यवहार कहाँ कहाँ, कोबाट र कसरी हुन्छ ?, हिंसा, दुर्व्यवहार भयो भने कहाँ सम्पर्क र समन्वय गर्न सकिन्छ र हटलाईन नम्बरहरु केके हुन् ? भन्ने विषयमा छलफल भएको थियो । सो कार्यक्रमको किशोरी अभियन्ता रेजिना घर्तीमगर र साथी शिक्षक कृष्णादेवी माझीले सहजीकरण गरेका थिए ।





