मेरो परिकल्पनाको देश

हामी नेपाली जनताले सङ्‍घर्षको माध्यमबाट शताब्दीऔं निरङ्‍कुश जहानिया राणा शासनलाई हटाएर प्रजातन्त्र स्थापना गर्‍यौँ। त्यसपछि विभिन्न कालखण्डमा भएका राजनैतिक परिर्वतन पछि नेपालमा सुशासन कायम होला, देश समृद्धिको यात्रामा अगाडि बढ्ला भन्ने हामी सबै नेपालीहरुको अपेक्षा थियो । तर त्यसको विपरीत भ्रष्टाचार र बेथितिले झन-झन गरिबीको खाडलमा हाम्रो देश धसिँदै गयो, नेपाली नागरिकहरुको समृद्धिको चाहनामा तुसारापात भइरह्‍यो ।

ठूला-ठूला भ्रष्टाचारका काण्डहरु नियन्त्रणमा आउनुको सट्टा एकपछि अर्को दोहोरिँदै गए । लामो समयदेखि देशको राजनैतिक तह गैरजिम्मेवार बन्दा शासन संचालनका विभिन्न तहमा नीतिगत, कानुनी, प्रशासनिक, प्रक्रियागत र प्रणालीगत अनियमितता मौलाउँदै गयो । यसले नेपालको विकासको गति र अवस्था नाजुक बन्दै गयो । सदियौंदेखिको गरिबी, पछौटेपन, बेरोजगारी, व्यापारघाटा, परनिर्भरता नेपालका विशेषता र नियति बन्दै गए ।

आफ्नो र आफ्नो परिवारको रोजीरोटी र न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि अत्यन्तै न्यून पारिश्रमिकमा दैनिक हजारौं युवाहरु विदेशी भूमिमा रगत पसिना बगाउन बाध्य छन् । रोजगारीका निम्ति विदेसिने युवाको सङ्ख्या प्रतिवर्ष पाँच लाख भन्दा बढी छ ।हाल सम्म करिब ४५ लाख युवा जनशक्ति बैदेशिक रोजगारमा गएको देखिन्छ । एक वर्षको अन्तरालमा विदेश अध्ययनका लागि अनुमतिपत्र लिने विद्यार्थीको संख्या १७५ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा बैदेशिक अध्ययन शीर्षकमा ६७.७ अर्ब नेपाली रुपैयाँ बराबारको बिदेशी मुद्रा बाहिरिएको थियो । वर्षेनि हजारौँ विद्यार्थी बिदेसिँदा अर्थतन्त्रमा भार, समाजमा दीर्घकालीन मार परिरहेको छ ।

देशको यस्तो अवस्थामा पनि नेतृत्व वर्ग उदासिन रहनु, देशकोको भविष्यप्रति उपेक्षित रहनु समृद्ध नेपालको परिकल्पना होईन । हामी आम नेपालीले परिकल्पना गरेको यो अवस्था होइन ।

हामीले कल्पना गरेको र हामीले चाहेको देश यस्तो होस् :
१) हाम्रो देशमा बाँच्न पाउने अधिकार सर्वोपरि अधिकारको रुपमा रहोस् । यो अधिकार स्वन्तत्र रुपमा उपयोग गर्न पाईयोस् । हत्या, हिंसा र आतङ्‍कको बर्बर यातनामा बाँच्ने अधिकार कुण्ठित हुन नपाओस् । कसैले पनि पीडाले रन्थनिएर तप्तप आँसु चुहाउनु नपरोस् ।

२) माध्यमिक तहको शिक्षा अनिवार्य, निःशुल्क र प्रभावकारी होस् । दुई खाले शिक्षा नीति खारेज होस् । वास्तवमा सम्भ्रान्त र विपन्न दुबै ब्यक्तिले एउटै शिक्षण संस्थाबाट अध्ययन गर्ने स्थिति बनोस् । राष्ट्रपतिको सन्तान र मेरो सन्तान एउटै शिक्षण संस्थामा पढेर हाँस्दै हाँस्दै गेटबाट बाहिर निस्कने वातावरण बनोस् । शैक्षिक संस्थाहरु उपयुक्त प्रविधिमैत्री बन्न सकून् ।

३) स्वास्थ्य सेवालाई मौलिक अधिकारका रुपमा स्वीकार गरी यसको लाभ लिन सकियोस् । स्वास्थ्य क्षेत्रमा राज्यको लगानी, सुरक्षामा लगानी गरे जत्तिकै महत्वपूर्ण हो भन्ने मान्यता स्थापित होस् । राज्यले स्वास्थ्यको पूर्णरुपमा जिम्मेवारी लियोस् । च्याउझैं उम्रिएका हस्पिटलहरु बन्द गराई अन्य छेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने स्थिति आओस् ।

४) देश बिकासका लागि आवश्यक आधार पर्यटन र उद्योग धन्दा नै महत्वपूर्ण भएकाले उद्योगमा लगानी गरी नागरिकलाई रोजगारी दिने वातावरण बनोस् । नागरिकका दैनिक आवश्यकताको परिपूर्ति मूलतः आय र रोजगारसँग जोडियोस् । रोजगार छ, आय छ भने स्वभाविक दैनिक आवश्यकताका वस्तुहरु जोहो गर्न सम्भव हुन्छ । अन्यथा गास, वास, कपासको नारा अर्थहीन हुन्छ । गाँस बास कपासको उचित ब्यवस्थापन गर्ने वातावरण बनोस् । बेरोजगारीलाई रोजगारी दिई बहुराष्ट्रिय र अन्तराष्ट्रिय कम्पनीलाई सहज बनाई युवालाई आकर्षक गर्ने वातावरण बनोस् ।

५) हाम्रो देशमा भ्रष्टाचार, लुटपाट, गुण्डागर्दी, बलात्कार जस्ता सामाजिक अपराधको अन्त्य होस् । भ्रष्टाचार र सो कार्यलाई निरुत्साहित गर्ने र कानुनी उपचार गर्ने संस्था अख्तियार दुरुपयोग निवारण आयोगलाई स्वच्छ, पारदर्शी एवं सक्षम बनाईयोस् र तीव्र कार्यान्वयनमा प्रयोग गरी सबैलाई कानुनी उपचार गर्ने स्थिति बनोस् । भ्रष्टाचारीप्रति शुन्य सहनशीलता अपनाईयोस् । भ्रष्टाचार र अनियमिततामा संलग्न राजनीतिज्ञ, कर्मचारी सवैलाई जेल हालियोस् । अब उप्रान्त कोही राजनीतिज्ञ वा राष्ट्रसेवकबाट भ्रष्टाचारको दुष्प्रयास गरेमा यस्तै नियति भोग्नु पर्नेछ भन्ने सन्देश दिइयोस् ।

६) हिमाली, पहाडी, तराई भन्ने भेदभाव पूर्ण शब्द नभइ मात्र हामी नेपाली हौं भन्ने भावना होस् । जात, रङ्‍ग, लिङ्‍ग, वर्ण, सामाजिक वा आर्थिक स्थिति बीचको विभेद हटी समतामूलक समाजको निर्माण होस् ।

७) देशमा सामाजिक कुसंस्कार र अन्धविश्वासको अन्त्य भई बन्द हड्ताल, चक्काजाम, ढुङ्‍गा मुढा, तोडफोडको स्थिति सदाका लागि बन्द रहोस् ।

८) खेतका बाँझा फाँटहरुमा कृषि उत्पादन, पशुपालन एवम् रासायनिक मलको उत्पादन गरी दैनिक उपभोग्य सामग्री स्वदेशमै उत्पादन गर्ने र सहुलियत मुल्यमा किन्ने वातावरण बनोस् । हरेक स्थानीय निकायमा उत्पादित खाद्यान्न र दुध, मासु, तरकारीको बजार ग्यारेन्टी गरियोस् । सबै वस्तु राज्यले किसानबाट उचित मूल्यमा किनोस् ।

९) ठुला र फराकिला राजमार्ग निर्माण गरी प्रत्येक चोकमा ट्राफिक लाईटको व्यवस्था, निःशुल्क पार्किङको ब्यवस्था होस्। प्रत्येक कार्यलयमा पहिला पार्किङ त्यसपछि कार्यालयको व्यवस्था अनिवार्य गरियोस् । पूर्वपश्चिम बुलेट ट्रेनको ब्यवस्था मिलाइयोस् । मेचीको मान्छे बिहान उठ्छ, महाकालीको अफिस जान्छ, कार्यालय समय सकिएपछि ट्रेन चढ्छ र बेलुका घर फर्किन्छ । यो अवसरको निर्माण होस् ।

१०) जल, जमिन, जङ्‍गल, जडिबुटी र जनशक्तिको पूर्ण उपयोग गरी ग्यास र पेट्रोल बिस्थापन गरी बिद्युतिय उपकरण प्रयोग गर्ने वातावरण बनोस् ।

११) नेपालको आफ्नो शिरलाई उच्च राख्ने वैदेशिक नीति अपनाई राष्ट्र र राष्ट्रियतालाई विशेष महत्व दिइ कार्यान्वयनको दिशामा अघि बढ्ने वातावरण बनोस् । विदेशमा बस्ने नेपालीहरुलाई भोट हाल्न बञ्चित गराउन मिल्दैन । उनीहरुलाई पनि अनलाइन भोटिङ सिस्टमद्वारा नेपालमा मतदान गर्न पाउने गर्ने व्यवस्थाको सिर्जना हुन सकोस् ।

१२) नेताको सम्भाषण, वार्तालाप आदिमा सभ्य भाषा, सुसंस्कारित जीवनशैली, विकासका नयाँ मोडेल र सम्भावना ल्याउन सक्ने सौहाद्रपूर्ण अवस्थाको परिपाटी पालना गर्ने वातावरण निर्माण हुन सकोस् ।नेताहरु एक आपसमा भेट्दा, आमसभामा भाषण गर्दा जहिले पनि सभ्य भाषाको प्रयोग गरुन् । समृद्धिको कुरा गरुन् । सुशासनको कुरा गरुन । विकाश योजनाको कुरा गरुन् । एउटाले अर्कोको कुरा काटने काम नगरुन् ,नाटकै हो, नौटंकी नै हो भन्ने जस्ता लाञ्‍छना सुन्न नपरोस् ।

यसरी हाम्रो देशमा उल्लिखित सन्दर्भ कार्यान्वयन गर्ने अवस्था सिर्जना भई अन्तराष्ट्रिय स्तरमा नेपालको छवि, मर्यादा, सहिष्णुता, अखण्डताको उपयुक्त चिनारी रहन सकोस् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट