गैँडाकोट, ३१ साउन
गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले अत्याधुनिक कम्प्युटर ल्याब तयार गरेको छ । कक्षा १२ उत्तीर्ण गरी ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङमा अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि कलेजले अत्याधुनिक कम्प्युटर ल्याब तयार गरेको हो ।
कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले स्नातक तहमा अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि नयाँ कम्प्युटर ल्याब प्रयोग गरिने बताए । कलेजसँग यसअघिनै ११६ जना विद्यार्थीहरुले एकैपटकमा प्रयोग गर्न सक्ने कम्प्युटर ल्याब भए पनि सो ल्याब अपुग भएपछि कम्प्युटर इन्जिनियरिङमा भर्ना हुने नयाँ विद्यार्थीहरुका लागि आधुनिक ल्याब निर्माण गरिएको हो ।
ञविद्यार्थीहरुलाई आधुनिक प्रविधिमार्फत गुणस्तरीय शिक्षा दिने हाम्रो उदेश्य होझ कलेजका प्राचार्य भण्डारीले भने– ‘आधुनिक युग सुहाँउदो शिक्षा प्रदान गर्न पछि पर्नुहुँदैन भन्ने हाम्रो मान्यता छ ।’ ७८ जना विद्यार्थीहरुले एकैपटक प्रयोग गर्नसक्ने ल्याबका लागि कलेजले ३५ लाख खर्चेको छ ।
ल्याबमा दुईवटा आधुनिक प्रोजेक्टर जडान गरिएको कम्प्युटर ल्याबका इन्जार्ज दिनेश रानाले बताए । डेलको ब्राण्डेड कोर आइफाइभ कम्प्युटरहरु जडान गरिएको भन्दै रानाले नयाँ कम्प्युटर ल्याबका लागि तीव्र गतिको अल्लगै इन्टरनेट जडान गरिएको बताए । कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै कलेजले स्नातक तहका विभिन्न संकायमा भर्ना आह्वान गरेको छ ।
बीसीए, बीबीए, बीइ कम्प्युटर, बीइ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, र बिइ सिभिलमा भर्ना खुल्ला गरिएको कलेजले जनाएको छ । विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयले हालसम्म प्रदान गरेका १० वटा गोल्डमेडल मध्ये अक्सफोर्ड कलेजले मात्रै ८ वटा गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ ।





