भरतपुर, ३१ साउन
रत्ननगर–१४ पारिजातचोकका कृष्णबहादुर तामाङको बुधबार बिहान असामयिक निधनपछि दाहसंस्कारका लागि देवघाट ल्याउँदै गर्दा शव बोकेको बोलेरोलाई कलेज बसले ठक्कर दिएपछि सागर हिँडेकाहरु घाइते भई अस्पताल जानु परेको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको टिकौली जंगलमा भएको गाडी दुर्घटनामा २० जना घाइते भएका छन् । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको कलेज बसले विपरीत दिशामा रहेको ना २ च ८४४६ नम्बरको शव बोकेको बोलेरोलाई ठक्कर दिएपछि सँगै गुडिरहेका अन्य सवारीसाधन पनि दुर्घटनामा परेका थिए ।
अक्सफोर्ड कलेज गैंडाकोटको बसले ४ वटा मोटरसाइकल र २ वटा स्कुटरलाई पनि ठक्कर दिएको थियो । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मृतक तामाङका चार जना छोरामध्ये तीन जना दुर्घटनामा घाइते भई अस्पतालमा उपचाररत छन् । आफन्त र छरछिमेकीको सहयोगमा देवघाटस्थित गुम्बामा मृतक तामाङको दाहसंस्कार गरिएको आफन्त सन्तोष लामाले बताए ।





