भरतपुर, साउन २७
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसर पारेर शनिबार चितवनमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विदेश जाने र विदेशमा रहेको सम्पूर्ण युवाहरुलाई आफ्नो सीप र क्षमता राष्ट्रको विकासमा खर्चिन अनुरोध गरेका हुन् ।
‘बिस्तारै देशले नयाँ गति लिँदैछ । देशभित्र र देशबाहिर रहेका लाखौँ युवालाई आफ्नो सृजना र क्षमतालाई राष्ट्रको पक्षमा, राष्ट्रको विकासमा र देशभित्र नै विकासको नयाँ गति पैदा गर्नको लागि अपिल गर्न चाहन्छु,’–उनले भने । उनले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन सरकार लागिपरेको बताए ।
‘हिजोमात्रै सिंहदरबारमा ठुलो भेला गराएर छलफल गराएको थिएँ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रम बजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको छ’, उनले भने, ‘यसले युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । उनले सम्पूर्ण युवा लागे नेपालले आउने दिनहरुमा कोल्टे फेर्ने विश्वास समेत राखे । कृषि, पर्यटन, उद्योग र पूर्वाधारको विकासमा केन्द्रित रहेर सरकारले काम गरिरहेको बताए ।
उनले देशभित्र युवालाई रोक्न चुनौती रहेको भन्दै उपयुक्त रोजगारीका लागि सरकार लागिपरेको बताए । कृषिको विकासका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत छलफल भएको उनले जानकारी दिए । ‘नेपालको कृषि क्षेत्रलाई कसरी अगाडि बढ्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग भारत भ्रमणका क्रममा कुरा भएको छ । त्यसको अध्ययनका लागि एउटा विज्ञ टोलीलाई भारत पठाउँदै छौँ’– उनले भने । कृषिको विकासका लागि मल कारखाना खोल्ने तयारीमा रहेको दाहालले बताए ।
नेपालले बंगलादेशसँग विद्युत व्यापारको सम्झौता गरेको उनले बताए । भारतको भूमिहुँदै नेपालको विद्युत बंगलादेश पठाउने सहमति भएको उनले खुलासा गरे । यसको घोषणा छिट्टै काठमाडौँमा गर्ने तयारी रहेको उनले बताए ।
कर्णालीको चिसापानी र बुढीगण्डकी विद्युत अयोजना छिट्टै अगाडि बढाउने उनले बताए । छिट्टै चीन सरकारसँग पनि विद्युत व्यापारको विषयमा छलफल गरिने उनले बताए । ‘म छिट्टै चीन भ्रमणमा जाँदैछु । रसुवा नाकाबाट क्रस विद्युत मिटर लाईनको प्रस्ताव अगाडि बढाउँछु,’ उनले भने, ‘यसले यता उत्पादन बढी हुँदा निर्यात गर्ने र कमी हुँदा आयात गर्न सहज हुनेछ ।’ चीन भ्रमण पशुपालनसँगै भौतिक पूर्वाधारको विकासमा बढी केन्द्रित हुने उनले बताए ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महागनरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटनको क्षेत्रमा युवाहरुलाई जोड्दै अगाडि बढेको उल्लेख गरिन् । प्रमुख दाहालले युवाले नै देशको हरेक क्षेत्रमा हुने क्रान्ति सफल पार्न सक्ने बताइन् । महानगरपालिकाले युवासँग उद्यम कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको उनले जानकारी दिइन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर वडा नम्बर २२ का वडा अध्यक्ष विष्णुराज महतोले मन्तव्य व्यक्त गरेका थिए ।
दिवसको अवसरमा ५ किमी दौड प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रमका ६ जना कृषकहरुलाई सम्मान गरिएको थियो । भरतपुर महानगरपालिका युवा दिवसको अवसरमा सप्तहव्यापी रुपमा कार्यक्रमहरु गरेको थियो ।





