गैँडाकोट, २७ साउन ।
सुशासनको वकालत गर्दै आएको बागेश्वरी असल शासन क्लब (बास) नवलपुर शाखाले वातावरण संरक्षणमा जोड दिँदै वृक्षरोपण गरेको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवालाई संरक्षणमा जागरुक गराउन वृक्षरोपणमा जोड दिइएको बागेश्वरी असल शासन क्लब (बास) नवलपुरका अध्यक्ष तेजेन्द्र राना मगरले जानकारी दिए ।
वृक्षरोपण कार्यक्रममा बोल्दै अध्यक्ष मगरले नेपालमा सामुदायिक वनको योगदान विश्वका लागि अनुकरणीय रहेको बताउँदै यसको महत्त्व, दिगो विकास, जीविकोपार्जन, महिला सशक्तीकरणलगायतका विषयमा सजग गराउन पनि वृक्षरोपणमा जोड दिइएको बताए ।
गैँडाकोट नगरपालिका वडा नम्बर- ९ थुम्सीस्थित नारायणी सामुदायिक वन उपभोक्ता समूहको वनभोज स्थलमा “रुख रोपौँ र वनजङ्गल जोगाऔँ” भन्ने नाराका साथ जडिबुटी तथा फलफूलका गरी ६० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एम्स एब्रोड एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक कृष्ण कंडेलले संरक्षणमा युवाको सहभागिताले सकरात्मक सन्देश दिने बताउँदै सामाजिक कामका लागि बाससँग सधैँ सहकार्य गर्न तयार रहेको बताए ।
बागेश्वरी असल शासन क्लब (बास) चितवनका अध्यक्ष अविरल यात्रीले जिल्लामा सुशासनका लागि सार्वजनिक सुनुवाईलगायतका कार्यक्रम गर्न सुझाव दिए । गैँडाकोट नगरपालिका वडा नम्बर- ५ का पूर्वअध्यक्ष नवराज कँडेलले वातावरण र पर्यावरण बचाउन युवाहरुको भूमिका अहम् हुने बताए । नन्दन सामुदायिक वन उपभोक्ता समूहका सदस्य माधव चालिसेले रोपिएका विरुवाको गोडमेल र संरक्षणमा ध्यान दिन आग्रह गरे ।
बास नवलपुरका उपाध्यक्ष राजेन्द्र पौडेलले स्वागत मन्तव्य राखेको औपचारिक कार्यक्रममा सदस्य चुन्नप्रसाद पौडेलले वृक्षरोपणको औचित्य माथि प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण कोषाध्यक्ष शिव पौडेलले गरेका थिए ।





