भरतपुर, २७ साउन ।
शनिबार बिहानैदेखि पानी परिरहेको थियो । घाम उदाएर उज्यालो देखिनुपर्ने बेलामा पनि कालो बादल मडारिएर भरतपुरको आकाश धमिलो बनेको देखिन्थ्यो । महेन्द्र राजमार्गको छेवैमा चितवन मेडिकल कलेज अगाडि रहेको होटल अशोकाको तल्लो हलमा आएर बसिसकेका थिए मोरङकी दीपा अधिकारी र झापाकी उमिषा उप्रेती । उनीहरू परिविक्रमलाई सुन्न त्यहाँ आएर बसेका थिए । उनीहरू कृषि तथा वनविज्ञान विश्वविद्यालयमा स्नातक तह चौथो सेमेस्टरका विद्यार्थी हुन् ।
हल बाहिर पानी सिमसिम परिरहेको थियो । गजल सुन्न भनेर थुप्रै गजलपारखी वरिपरिबाट भरतपुर आएका थिए । पानीमा रुझ्दै भिज्दै आएका उनीहरूलाई पानीको कुनै पर्वाह थिएन । एकैछिनमा गजलकार परिविक्रम पनि हलमा प्रवेश गरे । हातमा हेलमेट बोकेका उनी रामपुरदेखि भरतपुर आउँदा सिमसिमे पानीले भिजेका थिए । परिविक्रम आउनु अगावै उनलाई सुन्न आएकाहरूले हल खचाखच थियो ।
कार्यक्रममा परिविक्रमलाई स्वागत गरे लेट्स टकका संयोजक आकाश पौडेलले । सदस्य दिनेश नाइसा मगरले परिविक्रमलाई खादा लगाइदिए भने अर्का सदस्य वासुदेव सापकोटाले मन्तव्यसहित गजल सुन्न आएकाहरूलाई स्वागत गरे ।
मञ्चमा बसेका परिविक्रमले गजल सुन्न आएकालाई अभिवादन गर्दै वाचन सुरु गरे :
के को हतार गर्छौ ? म को हुँ भन्नलाई
पानी अगाडि आफू आगो हुँ भन्नलाई ।
आउ जलाई हेर आफै उज्यालो हुन्छु
कस्तो दिउँ परीक्षा दियो हुँ भन्नलाई ।।
परिविक्रमले दुई चरणमा गजल सुनाए । पहिलो चरणमा ६ र दोस्रो चरणमा ६ गरी १२ वटा गजल सुनाए । स्रोता दर्शकको आग्रहमा उनले केही शेर दोहोर्याए भने केही थप शेर पनि सुनाए । स्रोताकै आग्रहमा उनी तरन्नुममा पनि प्रस्तुत भए :
जमानामा नटेकेर गएको कुन जमाना छ
जमानाकै कुरा काट्न चुकेको कुन जमाना छ ।।
जमाना छैन पहिले झैँ के को आधारमा भन्छन्
नदी ओरालो छोडेर बगेको कुन जमाना छ ।।
`परिविक्रमका गजलमा जीवन र जगतका भोगाइ समेटिएका छन्´, गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाले भने – `परिविक्रमले आफ्ना सिर्जनामा आफू हुर्किएको परिवेशलाई चित्रण गरेका छन् । समाज र राजनीतिका विसंगति, व्यवस्था माथिका आक्रोश र प्रेमका अभिव्यक्ति पनि उनले गजलमा अटाएका छन् ।´ सोही कार्यक्रममा उमिषा उप्रेती, भगिरथ ठाकुर, दूरवस्तीको शिशिर र परिवेश चापागाईंले परिविक्रमका एकएक वटा गजल वाचन गरेका थिए । गजल सुन्न पूर्वी चितवनबाट युवा गजलकार कमल अर्याल र अविरत सुमन पनि सहभागी थिए । त्यसैगरी अक्षर समूह चितवनका अध्यक्ष एवम् गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभात, प्रगतिशील लेखक संघ चितवनका पूर्व अध्यक्ष विपिन पाठक, कविडाँडा साहित्य समाजका उपाध्यक्ष उदय अधिकारी, साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईं, ओम कार्की साहित्य प्रतिष्ठानका अध्यक्ष अम्बिका कार्की, बागेश्वरी असल शासन क्लब चितवनका अध्यक्ष अविरल यात्रीलगायतको उपस्थिति थियो ।





