भरतपुर, २६ साउन ।
२३ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बागेश्वरी असल शासन क्लब( बास) चितवन शाखाको आयोजना तथा द इको मिनियन्स र एएफयु साहित्य सञ्जालको सहकार्यमा खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
एएफयु रामपुरको पिजि हल(पोस्ट ग्र्याजुयट बिल्डिङ)मा आयोजित कार्यक्रममा रामपुरस्थित कृषि वन विज्ञान अध्ययनरत छात्रछात्रहरुको उल्लेखनीय सहभागिता थियो ।
कार्यक्रममा सहभागीले `नेपालको शिक्षामा युवाको विकर्षण´ शीर्षकमा आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा एएफयुका नौ जना छात्रछात्राको सहभागिता रहेको थियो । कार्यक्रममा रविन्द्रसिं बोहरा प्रथम, सदीक्षा कार्की द्वितीय र दिनेश कार्कीले तृतीय स्थान हासिल गरेका थिए । विजेता प्रतियोगीलाई आयोजक बास नेपाल चितवन शाखाले नगद सहित पुस्तक उपहार दिएको थियो । पुस्तकको प्रायोजन सम्पूर्ण किताब नारायणगढले गरेको थियो भने नगद पुरस्कार आयोजक संस्था बास नेपाल चितवन शाखाले गरेको हो ।
उक्त कार्यक्रमको निर्णायकमा रमेश प्रभात, विपिन पाठक र लक्ष्मी घिमिरे रहेका थिए भने कार्यक्रमलाई द इको मिनिअन्सका अध्यक्ष प्रशान्तराज सिग्देलले अध्यक्षता गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा एएफयु साहित्य सञ्जाल रामपुरकी अध्यक्ष मुना पुरी थिइन् । कार्यक्रमलाई बास नेपाल चितवन शाखाका अध्यक्ष अविरल यात्रीले सहजीकरण गरेका थिए ।





