देवचुली, २६ साउन ।
देवचुली नगरपालिका वडा नम्बर ८ मा रहेको नमुना उद्यमी महिला समूहको भवन उद्घाटन गरिएको छ । फरेष्ट एक्सन नेपाल र नमुना महिला सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा निर्माण गरिएको भवनको बिहीबार देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले उद्घाटन गरेकी हुन् ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख तिवारीले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि देवचुली नगरपालिकामा गैरसरकारी संस्थाहरुको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै वन संरक्षण गर्दै आय आर्जनको कार्यक्रम संचालन गर्नुपर्ने बताइन् । देवचुलीका २ वटा सामुदायिक वन अन्तर्गत वन उद्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरण परियोजना संचालन भएको र उक्त परियोजनामा रहेका उद्यमी महिलाहरूले उत्पादन गरेका सामग्रीहरुलाई नगरपालिकाले बजारीकरण गर्ने उनले बताइन् । उनका अनुसार उत्पादन भएका सामग्रीलाई कोसेली घर निर्माण गरि बिक्रीका लागि बजारमा पुर्याउने नगरपालिकाले योजना बनाएको छ । महिलाहरुलाई उद्यमी बनाउनका लागि नगरपालिकाको आवश्यक सहयोग रहने उनले बताइन् ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले आफ्नै वरपर तथा वनजंगलमा पाईने कच्चापदार्थको प्रयोग गरी हस्तकलाको सामग्री निर्माण गर्दा लागत कम पर्ने र समय सदुपयोग गर्दै आर्थिक संकलन गर्न सकिने बताए । हस्तकलाको बजार राम्रो भएको तर त्यसको लागि बजारीकरण आवश्यक भएको उनले बताए । देवचुली नगरमा भएका सामुदायिक वनमध्ये जम्मा २ वटा वनमा मात्र उद्यमशीलताको कार्यक्रम संचालन भएकोमा अन्य वनले पनि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको उनको भनाई छ ।
नमुना उद्यम महिला समूहको भवन निर्माण समितिका अध्यक्ष कोपिला रायमाझीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, सव डिभिजन वन कार्यालय देवचुली बुलिङटारका वसन्त दाहाल, फेकोफन नवलपुरका उपाध्यक्ष कमल बाचे, फरेष्ट एक्सन नेपालका प्रमुख अनुसन्धानकर्ता कन्चन लामा, विभिन्न संघसंस्था र सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिलगायत उद्यमी महिलाहरुको उपस्थिति रहेको थियो ।
वन उद्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरण परियोजनाको ८ लाख रुपैयाँ सहयोग र बाँकी नमुना महिला सामुदायिक वनको सहयोगमा १० लाखको लागतमा भवन निर्माण सम्पन्न गरिएको भवन निर्माण समितिका कोषाध्यक्ष बिनु गुरुङले बताइन् । सामुदायिक वनको कार्यालय नजिक बनेको भवनमा झ्याल, ढोका र ढलानका लागि वनको सहयोग रहेको छ ।
सो कार्यक्रमको संचालन भवन निर्माण समितिका सचिव रिलकुमारी तामाङले गरेकी थिइन् ।





